• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News प्रदेश २ समाचार

    विमानस्थलमा बाढी पस्यो

    1.3K
    SHARES


    विराटनगर । निरन्तर वर्षासँगै आएको कारण विमानस्थलमा बाढी पसेको छ ।  भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थल दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ ।

    विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ । ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ ।

    पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो ।

    खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलायन्सको सीआरजे विमान मंगलबार राति काठमाडौं फर्किन नसकेर त्यहीँ ‘नाइट–स्टपमा’ मा परेका थिए । खरेलले पानीबाट जोगाउन बुधबार बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको बताए ।

    ‘बुद्धको जहाज भएको स्थानमा त्यति पानी छैन, श्रीको जहाज कम पानी भएको धावनमार्ग नजिकै सारेका छौं,’ खरेलले भने । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।

    देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।

    आज बुधबार प्रदेश १ र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिलसमेत गरेको छ ।

    बेमौसमी झरीका कारण देशको विभिन्न भागमा आएको बाढी-पहिरोले एकैदिन १५ जनाले ज्यान गुमाउनु परेको छ । चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् ।

    पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।

    यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।

    केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै बैतडीको शिवनाथ गाउँपालिका-६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्की छन् ।

    अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ

    कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

    यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो तर विष्णुको मृत्यु भएको छ । सरिताको भने डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया