• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News समाचार सुदुरपश्चिम

    डोटीमा बाढीका कारण ९ को मृत्यु, ६५ भन्दा बढी घरपरिवार विस्थापित

    535
    SHARES


    डोटी । लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोका कारण डोटीका बिभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता छन् । प्रहरीले सायल गाउँपालिका वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको जानकारी दिएको छ ।

    त्यस्तै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको खबर छ । जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराको भनाइ उदृत गर्दै स्थानीय तारा कपड्यालले जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको खबर छ। त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

    सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

    त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ । घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो ।

    प्रहरीका अनुसार सायल गाउँपालिकाको वडा नं १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय बिरे रोकाया बेपता भएका छन् । उनीहरूको अस्थायी प्रहरी पोष्ट छपालीको प्रहरी टोलीले खोजबिन गरिरहेको जनाएको छ । डोटीमा बिभिन्न ठाउँका ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

    यस्तै उता बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। थलारा गाउँपालिका- ४ डिख्लामा मंगलबार बिहान पहिराे जाँदा ७ घर पुरिएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदले बताए।

    पहिराेपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा बसिरहेका उनले बताए। टेलिफोन सेवा अवरूद्ध हुँदा प्रहरीलाई समेत खबर गर्न नसकेको उनले बताए।

    स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूकाे खाेजी गर्न सकेका छैनन्। यसबारे प्रहरी र प्रशासनलाई साेध्न खाेज्दा नेटवर्क नभएकोले सम्पर्क हुन सकेन।

    उता बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन् । बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

    सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

    वडाअध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धरको लागि आग्रह गरिएको छ । बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ ।

    यस्तै बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना जति स्थानीयहरु उद्वारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

    नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जुन टापु जुन सुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । घटनास्थलमा उद्धार टोलीसमेत जान नसक्दा टापुमा एक युवतीले एउटा अडियो रेकर्ड गरी उद्धारको अपिल गरेकी छन् ।

    अर्चना चन्द नाम गरेकी ती युवतीले बनाएको अडियो रेकर्डमार्फत उद्धारका लागि अपिल गरिएको छ । अडियोमा उनले भनेकी छन्, ‘बाढीले जुनसुकै बेला यहाँका मान्छेलाई जेसुकै हुनसक्छ ।’

    अर्चनाले पठाएको अडियो जस्ताको त्यस्तै: ‘नमस्कार म अर्चना चन्द । बैतडीको सिगास गाउँपालिका वडा नं ५ ढुंगाडबाट बोल्दैछु । हिजो राति १० बजेतिर सेती नदीको बाढी आएर ढुंगाडलाई बगाएको छ । हामी यहाँका स्कुल र होस्टेलतिर भोकै बसेका छौँ ।

    यहाँ हामी ५०/६० जना गाउँतिरै बसिराखेका छौँ । बाढीले गर्दा जतिबेला पनि जेसुकै हुनसक्छ । यहाँका मान्छेलाई कसैले अहिलेसम्म उद्वार गर्न पनि सकेको छैन । हामीलाई खान बस्नको व्यवस्था पनि छैन । अहिले मौसम पनि राम्रो छैन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ