• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News समाचार सुदुरपश्चिम

    बैतडीबाट बाढीमा फसेकी युवतीको बिलौना- ‘जुनसुकै बेला बगाउन सक्छ,……’

    594
    SHARES


    बैतडी । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना जति स्थानीयहरु उद्वारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

    नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जुन टापु जुन सुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । घटनास्थलमा उद्धार टोलीसमेत जान नसक्दा टापुमा एक युवतीले एउटा अडियो रेकर्ड गरी उद्धारको अपिल गरेकी छन् ।

    अर्चना चन्द नाम गरेकी ती युवतीले बनाएको अडियो रेकर्डमार्फत उद्धारका लागि अपिल गरिएको छ । अडियोमा उनले भनेकी छन्, ‘बाढीले जुनसुकै बेला यहाँका मान्छेलाई जेसुकै हुनसक्छ ।’

    अर्चनाले पठाएको अडियो जस्ताको त्यस्तै: ‘नमस्कार म अर्चना चन्द । बैतडीको सिगास गाउँपालिका वडा नं ५ ढुंगाडबाट बोल्दैछु । हिजो राति १० बजेतिर सेती नदीको बाढी आएर ढुंगाडलाई बगाएको छ । हामी यहाँका स्कुल र होस्टेलतिर भोकै बसेका छौँ ।

    यहाँ हामी ५०/६० जना गाउँतिरै बसिराखेका छौँ । बाढीले गर्दा जतिबेला पनि जेसुकै हुनसक्छ । यहाँका मान्छेलाई कसैले अहिलेसम्म उद्वार गर्न पनि सकेको छैन । हामीलाई खान बस्नको व्यवस्था पनि छैन । अहिले मौसम पनि राम्रो छैन ।’

    यता लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोका कारण डोटीका बिभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता छन् ।

    प्रहरीले सायल गाउँपालिका वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको जानकारी दिएको छ ।

    त्यस्तै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको खबर छ । जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराको भनाइ उदृत गर्दै स्थानीय तारा कपड्यालले जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको खबर दिएका छन् ।

    त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

    त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ । घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो ।

    प्रहरीका अनुसार सायल गाउँपालिकाको वडा नं १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय बिरे रोकाया बेपता भएका छन् । उनीहरूको अस्थायी प्रहरी पोष्ट छपालीको प्रहरी टोलीले खोजबिन गरिरहेको जनाएको छ । डोटीमा बिभिन्न ठाउँका ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ