• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    नयाँ पार्टी स्थापना भएको २ महिना नबित्दै माधव नेपाललाई झट्का

    415
    SHARES


    काठमाडौँ  । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी स्थापना भएको दुई महिनामै ठूलो झट्का लागेको हो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल नेतत्वको पार्टीलाई खोलेको २ महिना नबित्दै सोलुखुम्बुका नेता तेन्जी शेर्पाले पार्टी परित्याग गरेको घोषणा गरेपछि झट्का लागेको हो ।

    नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवालय सदस्यसमेत रहेका शेर्पा र जिल्ला कमिटी सदस्य सोना शेर्पा एमालेमै फर्किएका छन् ।

    विद्यार्थी राजनीतिमा सक्रिय र प्रभावशाली मानिएका शेर्पा विभाजनबाट बृहत् कम्युनिष्ट एकताको राष्ट्रिय आवश्यकता पूर्ति हुन नसक्ने भन्दै एमालेमै फर्किएका हुन् ।

    ‘बृहत कम्युनिष्ट एकताका लागि एमालेको विकल्प छैन,’ उनले भने, ‘फुट र विभाजनमा अल्मलिँदा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासको बाटो अवरुद्ध हुन्छ ।’ उनले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय कार्यभार पूरा गर्न एमालेलाई बलियो बनाउनुपर्ने बताए ।

    नेता शेर्पाले केही दिनभित्रै नेकपा एकीकृत समाजवादी निकटको सोलुखुम्बु जिल्ला कमिटी नै एमालेमा समाहित हुने दाबीसमेत गरेका छन् । उनको यस्तो दाबीले एसमा तरङ्ग गएको छ ।

    त्यस्तै, नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतम पनि नेकपा एसमा नर्फने भएका छन् । शहरी विकास मन्त्री रामकुमारी झाँक्री दशैंको टिका लगाउने बहानामा बामदेवको घरमा पुगेकी थिए ।

    उक्त भेटमा गौतमले आफू अहिले कुनै पनि पार्टीमा नजाने जवाफ फर्काएर पठाएका थिए । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी नेतृ झाँक्री दशैंको टिका लगाउन गौतम निवास पुगेकी थिइन् ।

    नेकपा (एकीकृत समाजवादी) तीन महिने संगठन विस्तार अभियान थालेको छ । सो पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

    साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ ।

    ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन (अपानी–२) जारी गर्दै निर्देशन दिएका छन् ।

    साथै सो पार्टीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    त्यसैगरी महासचिव डा. बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै उनीहरूको कार्यविभाजन समेत गरेको हो । यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ