• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    भारतविरुद्धको फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

    349
    SHARES


    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

    नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

    यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु ।’

    अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो ।

    ‘बंगलादेशविरुद्धको खेलपछि रेफ्रीमाथि आक्रमण भएको थियो, उनीहरुलाई के सजायँ भयो ?’ अलमुताइरीले प्रश्न गरेका छन्, ‘भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई सजायँ दिने ? आफैंले बनाएको नियम नमान्ने हो भने नियम किन बनाउने ?’

    उनले अगाडि भनेका छन्, ‘साफले अब्दुल्लाहलाई मात्रै निलम्बन गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई निलम्बन गरेको हो, अब्दुल्लाह अलमुताइरी नभए पनि नेपाली टोलीले नतिजाको लागि प्रतिस्पर्धा गर्छ ।’ साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ