• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    इतिहास-दस्तावेज

    काठमाडौ‌काे यो मन्दिरमा मान्छेको मासु काटेर चढाइन्छ, के हो रहस्य ?

    1.9K
    SHARES


    काठमाडौँ ।  कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्यो भने सुई देखेरै सिरिंग भएर आउँछ। यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!

    मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने थाहा पाएँ। धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला! यस्तो पनि पूजा हुन्छ कहीँ! हुँदो रहेछ, भइरहेकै छ।

    यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको कथा हो, जहाँ हरेक दसैंमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्। आज म तपाईंहरूलाई यही पूजाविधि र यसको कथा सुनाउँदैछु।

    धेरैलाई त सुबहाल कहाँ पर्छ भन्ने नै थाहा नहोला। काठमाडौं उपत्यकामा मूलसडकबाट भित्र गल्ली-चोकहरू चहार्दा यस्ता अनेकौं बहाल भेटिन्छन्, जहाँ प्रायः मान्छे बिरलै पुगेका हुन्छन्। सुबहाल त्यसैमध्ये एक हो। म तपाईंहरूलाई त्यही ठाउँ लैजान्छु है त।

    मंगलबजार दरबार स्क्वायरबाट ग्वार्कोतर्फ बढ्दा लगभग पाँच सय मिटर दुरीमा सुन्धारा (लूँ हिति) आउँछ। त्यहाँ पुगेर कुनै दोकानदारलाई सोध्नुभयो भने सुबहाल जाने बाटो देखाइदिन्छन्। अहिलेलाई त तपाईं चिन्ता नगर्नू, म छु नि सँगसँगै।

    हामी सुन्धाराको मूलसडकबाट देब्रे मोडिऊँ र सरासर अघि बढौं। अलि पर बाटो छुट्टिन्छ। दुइटा मोटरसाइकल सजिलै हाँक्न मिल्ने दाहिने बाटो अलिकति बढ्दा गणेश मन्दिर छ। अहिले यहाँ मर्मतसम्भार हुँदैछ, तपाईंहरू जाँदा पूरा भइसक्न सक्छ। मन्दिरको ठ्याक्कै पछाडि फराकिलो ढोका छ। ढोका पार गरेपछि फराकिलो बहाल आउँछ। सुबहाल भनेको यही हो।

    बहालमा स–साना चैत्यहरू देखिन्छन्। तिनै चैत्यबाट दाहिनेतिर एउटा पुरानो घर छ, जहाँ काठको ढोकामाथि काठकै कलात्मक तोरण टाँगिएको छ। माथिल्लो तल्लामा साइनबोर्ड झुन्डिएको देखिन्छ, जसमा लेखिएको छ– श्री जय मनोहर महाविहार, सौबहाः (सुबहाः), ललितपुर महानगरपालिका, वडा नम्बर ८, यलः। यहाँ टाउको निहराउनुपर्ला है, ढोका होचो छ।

    भित्र आँखैअगाडि देखिन्छ महाविहार, जसको छत भुइँचालोमा भत्किएर बनेकै छैन। जस्ताले छोपछाप पारिएको छ। विहारकै छेउमा दक्षिण फर्केको छ, महांकाल मन्दिर।
    ठाउँ त आइपुगियो, अब हामी काठमाडौं उपत्यकामा सायदै अन्त देखिने अनौठो पूजाको चर्चा गरौं। हामीसँग यो पूजाविधि र यससँग जोडिएको कथा विस्तार लगाउन ५० वर्षीय स्थानीय किरण शाक्य छन्।

    हामी पुग्दा मन्दिरको ढोका बन्द रहेछ। मैले आँखीझ्यालबाट चिहाएँ। भित्र फराकिलो पूजाकक्ष थियो। त्यहीँ अर्को बन्द ढोका। ढोकाबाहिर नीलो पर्दा। पर्दामा तीनवटा आँखा र विभिन्न आकृति कुँदिएका। यसलाई महांकालको प्रतिरूप मानिने किरणले बताए।

    नवमीको रात भक्तजनहरूले शरीरको मासु काटेर चढाउने ठाउँ यही हो। स्थानीयहरू यो संस्कारलाई ‘ला खायेगू’ भन्छन्। नेवार भाषामा ‘ला’ भनेको मासु, ‘खायेगू’ भनेको ताछ्नु।

    यो पूजा राति ७ बजेतिर सुरू हुन्छ। दुई गुभाजू र छ जना आजु (सुबहालकै सबभन्दा जेठा व्यक्ति) ले पूजाविधि सम्पन्न गर्छन्। पूजा व्यवस्थापन उमेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले चर्या गीत गाउँछन्। उनीहरू डमडम डमरू बजाउँछन्। छनछन ताः छन्काउँछन्।

    यही डमडम र छनछन तालबीच गुभाजूहरूले टङटङ घन्टी बजाउँदै पूजा सुरू गर्छन्। पूजाकक्षमै मकलमा आगो बालेर होम गरिन्छ। जसै गुभाजूले ‘ला खायेगू’ सुरू गर्न इसारा गर्छन्, भक्तजनहरू पालैपालो पूजाकक्ष छिर्छन्।

    यो संस्कार गर्दा नाइटोभन्दा तल्लो भागको मासु चढाउन पाइँदैन। नाइटोमाथि जुन भागको चढाउने हो, त्यहाँ सियोले घोचेर छालाको मसिनो पत्र उप्काइन्छ। त्यही पत्र धारिलो ब्लेडले चट्ट काटेर यज्ञवेदीमा चढाइन्छ।

    ‘ओहो निकै दुख्छ होला हगि?’ मैले तर्सिंदै सोधेँ। उनले हाँस्दै जवाफ दिए, ‘चौटा–चौटा मासु चट्टचट्ट काट्ने कहाँ हो र! अलिकति छाला काटेर चढाउने हो।’ ‘रगत त आउला नि!’ मेरो डर थामिएकै थिएन, ‘छिसिक्क काँडा बिझ्दा त कस्तो दुख्छ! झन् सियोले घोचेर ब्लेडले काट्दा दुख्दैन होला र!’

    ‘अलिअलि त दुख्छ नि। रगत पनि आउँछ। तर, तपाईंले सोचेजस्तो सहनै नसक्ने हुँदैन,’ उनले हलुका पारामा भने, ‘ब्लेडले काट्दा रगत आए पनि त्यो रगत आगोमा चढाउनु हुँदैन।’ उनले मलाई ढुक्क पार्न थपे, ‘अहिलेसम्म कसैलाई इन्फेक्सन भएको वा घाउ दुखेर औषधि नै खानुपरेको सुनेको छैन।’

    बरू यसरी छाला काटेर चढाउँदा शरीरको दुखाइ निको हुन्छ भन्ने जनविश्वास रहेछ। त्यही भएर जुन भाग दुखेको हो, त्यहीँको छाला काटेर चढाउने चलन रहेको उनले बताए, ‘टाउको दुख्नेले निधारको छाला चढाउँछन्। ढाड दुख्नेले ढाडको, पेट दुख्नेले पेटकै चढाउँछन्।’

    ‘अनि एक ठाउँको मात्र चढाउने कि धेरै ठाउँको?’ मैले सोधेँ। ‘कसैले एक ठाउँको चढाउँछन्, कोही–कोही नडराउनेहरूले एकैचोटि १०–१२ ठाउँकै चढाउँछन्।’ बाफरे! कस्तो डर नलाग्ने हो क्या, आफ्नै जीउमा सियो रोप्न, आफ्नै जीउ ब्लेडले काट्न!

    तपाईंहरूलाई डर लागेन! किरणले भनेजस्तो छाला मात्र काटोस् या चौटा मासु नै झिकोस्, शरीरको अंग ताछ्न त मुटु दह्रै चाहिन्छ होला बाबै! महांकाल मन्दिरमा शरीरको छाला काटेर चढाइँदै। यति मात्र कहाँ हो र! सियोले घोच्दा र ब्लेडले ताछ्दा ‘ऐया’ भन्न नपाइने रहेछ। कसैले ‘ऐया’ भन्यो भने यसबाट पाइने पुण्य त्यही यज्ञवेदीमा स्वाहा हुन्छ रे!

    त्यसैले डराउनेहरू भागै लिँदैनन्, किरणले भने, ‘हरेकले हरेक वर्ष भाग लिनुपर्छ भन्ने छैन। इच्छा हुनेहरू बर्सेनि आउँछन्, नभए कसैलाई करकाप छैन।’ उनी आफैंले जम्मा चारचोटि भाग लिएका रहेछन्। अन्तिमचोटि गरेकै बाह्र–पन्ध्र वर्ष बितिसकेछ। यसमा सरिक हुन सुबहालकै स्थानीय वा शाक्य कुलको हुनुपर्ने बन्देज छैन। टोलबाहिरका मान्छे आउने क्रम बढेको उनले बताए।

    ‘पहिले–पहिले केटाहरूले मात्र भाग लिने चलन थियो,’ उनले भने, ‘अचेल केटीहरूलाई पनि खुला छ। पोहोर मेरै छोरीले भाग लिइन्।’ अनि आफ्नो मासु आफैं काट्नुपर्छ कि अरूले काटे पनि हुन्छ? मेरो यो प्रश्नमा किरणले भने, ‘मैले त आफैं काटेको थिएँ। कसैलाई अर्काले काट्दिन्छन्। काट्ने मान्छेको आँखा तेजिलो र हात नकाम्ने हुनुपर्छ। नभए ठूलो घाउ हुनसक्छ।’

    उनका अनुसार, यो पूजाविधिमा सरिक हुनेको संख्या यकिन हुँदैन। कहिले जम्मा तीन–चार जना हुन्छन्, कहिले धेरै भएर पालो पर्खिनुपर्छ। मान्छे आइरहेसम्म पूजा चलिरहन्छ। सामान्यतया राति ९–१० बजेसम्म जारी रहने उनले बताए। पूजाविधिपछि अब हामी कुरा गरौं यो संस्कारसँग जोडिएको कथाको।

    आखिर कसरी सुरू भयो यस्तो अनौठो संस्कार?
    स्थानीय किम्बदन्ती मान्ने हो भने यो करिब नौ सय वर्ष पुरानो चलन हो। यसलाई तत्कालीन समयमा दिइने ‘नरबलि’ को अवशेषका रूपमा लिइन्छ। यसका लागि सुबहाल बस्ती र जय मनोहर महाविहार स्थापनाको कथा थाहा पाउनुपर्छ। यो महाविहार विक्रम सम्बत् ११८३ देखि ११९३ बीच तत्कालीन राजा इन्द्रदेवले स्थापना गराएको भनाइ छ।

    कथा सुरू हुन्छ लिच्छविकालीन काठमाडौंको राजधानी हाँडीगाउँबाट। विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। धनसम्पत्ति नोक्सान भयो। लिच्छवि राजाहरूका दरबार ध्वस्त भए। मानगृह र कैलाशकूटजस्ता भव्य दरबार आगोको लप्कामा लपेटिए।

    पुरातत्वविद् साफल्य अमात्यले आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा लेखेअनुसार, आगलागीले विशालनगर क्षेत्रको बसाइ छिन्नभिन्न भयो। त्यहाँका बासिन्दा उपत्यकाभरि छरिएर बसोबास गर्न थाले। धेरै मानिस तत्कालीन दक्षिण कोलिग्राम (अहिले काठमाडौं कोर-सिटीको दक्षिणी भाग) सरे भने कोही ललितपुर गएर बसे। तिनैमध्ये सुबहालका बासिन्दा पनि हुन् भन्ने भनाइ छ।
    सुबहालका चैत्यमा केही लिच्छविकालीन अभिलेख फेला परेका छन्, जसले यहाँको बसोबास प्राचीन भएको पुष्टि गर्छ।

    किम्बदन्तीअनुसार, जब हाँडीगाउँमा आगो लाग्यो, त्यहाँको एउटा समूह सुरक्षित स्थान खोज्दै इमाडोल सर्यो। उनीहरूले आफ्नो आराध्य चैत्य सँगै लगेका थिए। बसाइँ सर्दा एउटा चिलले बाटो देखाएको विश्वास गरिन्छ।

    ‘समूहका एक वयोवृद्धले सपनामा आकाशवाणी सुनेछन्– तिमीहरूले पूजा गर्ने चैत्यबाट भोलि एउटा चिल उड्नेछ। त्यो चिल जुन ठाउँ पुगेर अडिन्छ, तिमीहरू त्यही ठाउँ आफ्नो गाउँ बसाउनू,’ किरणले सुबहालको कथा सुनाए।

    नभन्दै भोलिपल्ट बिहानै चैत्यमाथि चिल देखापर्यो। त्यो ‘दैवी’ चिल उड्दै उड्दै इमाडोलमा गएर बस्यो। चिललाई पछ्याउँदै गएकाहरूले इमाडोलमै आफ्नो गाउँ बसाए। आराध्य चैत्य पनि त्यहीँ प्रतिस्थापन गरे।

    चिलले बाटो देखाएर बस्ती बसेकाले नै इमाडोल नाउँ रहेको भनाइ छ। नेवार भाषामा ‘इमा’ भनेको चिल हो। समयक्रममा उनीहरूलाई विभिन्न कारणले इमाडोल बस्न गाह्रो हुन थाल्यो। त्यो पानीको अभाव हुनसक्छ वा सहरबाट निकै टाढा भएकाले पायक नपरेको पनि हुनसक्छ!

    रोगव्याधीको प्रकोप, जंगली जनावरको डर वा जीविकोपार्जनमा आएको संकट पो हो कि! कारण जेसुकै भए पनि गाउँका सबैले छलफल गरेर फेरि अन्यत्र बसाइँ सर्ने छिनोफानो गरे। यसपालि पनि उही ‘दैवी’ चिल उनीहरूको बाटो देखाउन आइपुग्यो। त्यो चिल इमाडोलबाट उड्दै उड्दै अहिले सुबहाल भएको ठाउँको मसानघाटमा आएर थपक्क बस्यो।

    गाउँलेहरू दोधारमा परे। उनीहरू सहर नजिकै बस्न पाएकोमा खुसी त थिए, तर आँखैअगाडि मसानघाट! कसरी बसोबास गर्नू! मार्गदर्शक बनेर आएको ‘दैवी’ चिलले नै मसानको ठेगाना देखाइदिएपछि उनीहरूले नाइँनास्ती पनि गर्न सकेनन्। यो असमञ्जसमा राजा इन्द्रदेव सहयोग गर्न अघि सरे। उनले सुबहालको मसान बालकुमारी सारेर त्यसको ठाउँमा महाविहार स्थापना गराए। र, त्यसैको वरिपरि नयाँ बस्ती बसाले।

    यसरी हाँडीगाउँबाट सरेकाहरू इमाडोल हुँदै अहिलेको सुबहालमा बसोबास गर्न आइपुगे। बालकुमारीको मसान आज पनि छँदैछ। महाविहारभित्र भुइँमा एउटा मसानको आकृति पनि देखिन्छ, जसलाई स्थानीयहरू राजा इन्द्रदेवले हटाएको मसानकै प्रतीक मान्छन्।

    यो त भयो बस्ती र विहार स्थापनाको कथा। अब कुरा गरौं, मान्छेको मासु चढाउने संस्कारको। जब राजा इन्द्रदेवले सुबहालको मसान हटाएर बस्ती बसाउने निर्णय गरे, यसले मान्छे त खुसी भए, तर मसानमा बस्ने महांकाल रिसले चूर भएछन्। आफूलाई उठिबास लगाउन खोजेको झोँकमा उनले हरेक दिन बस्तीका कोही न कोही मान्छे मारेर खान थाले।

    महांकालको रौद्ररूपले मान्छेहरूमा त्राहीत्राही मच्चियो। उनीहरूले सामूहिक प्रार्थना गरे, ‘हे महांकाल, तपाईंले दिनहुँ मान्छे मारेर खाइदिँदा ज्यानको रक्षा भएन। बस्तीका हरेकलाई मृत्युको भयले सतायो। त्यसैले हे प्रभु, हामीलाई यो त्रासबाट त्राण दिनुस्। बदलामा हामी हरेक वर्ष कुलको एक जना पुत्रलाई तपाईंको नाममा बलि चढाउने छौं।’ स्थानीयको पुकार र प्रतिज्ञा सुनेर महांकाल राजी भए।

    सुबहालमा दिनैपिच्छे हुने हत्या रोकियो। स्थानीयले चैनको सास फेरे। तर, त्यो चैन वर्षको एकदिन घनघोर चिन्ता बनेर मडारिन थाल्यो। प्रतिज्ञाअनुसार कुलको एक जना छोरालाई महांकालको बलि चढाउन सजिलो थिएन। आमा शोकले मुर्छा पर्थिन्। पिता रन्थनिन्थे। बलि चढ्नुअघि पुत्रको चित्कारले सुबहालमा प्रत्येकको छाती चिरिन्थ्यो।

    तै उनीहरूसँग विकल्प थिएन। हरेकको ज्यानमाथि खतरा मोल्नुभन्दा कागतीझैं मुटु निचोरेर छोरा त्याग्न तयार भए। यसरी थुप्रै काल बिते। बर्सेनि एउटा छोरा बलि दिँदादिँदै कुलमा बलि दिने छोरा नै सकिने अवस्था आयो।

    उनीहरूले फेरि महांकालको प्रार्थना गरे, ‘हे प्रभु, हजुरलाई बलि दिँदादिँदा अब हामीसँग धेरै पुत्र बाँकी छैनन्। यही क्रम चल्ने हो भने कुनै वर्ष पुत्रविहीन हुनेछौं। त्यसैले, हामी नयाँ प्रस्ताव लिएर आएका छौं।’

    ‘कस्तो प्रस्ताव?’ महांकालले सोधे। ‘प्रभु, या त हामी अन्तिम पुत्र बाँकी छउञ्जेल बलि चढाएर यो प्रथा सदाको निम्ति अन्त्य गर्छौं, या हरेक वर्ष एक जना पुत्रको सट्टा धेरै मान्छेको शरीरबाट थोरै थोरै मासु चढाउँछौं?’ उनीहरूले हात जोडेर बिन्ती गरे, ‘दोस्रो विकल्प मान्नुभयो भने हाम्रो कुल रहेसम्म यो प्रथा जारी रहनेछ। हजुरले कुनै वर्ष भोकै बस्नुपर्ने छैन।’

    सुबहालका बासिन्दाको प्रस्ताव महांकाललाई चित्त बुझ्यो। उनी दोस्रो विकल्पमा राजी भए। यसको बदलामा यो प्रथा रहेसम्म सुबहालको रक्षा गरिरहने बाचा पनि गरे। ‘त्यही भएर आज पनि हामी आफ्नो शरीरको थोरै मासु काटेर महांकाललाई चढाउँछौं,’ मेरा गाइड किरण शाक्यले भने, ‘यसको सट्टा महांकालले हाम्रो टोल र हामी सबैको रक्षा गरिरहेका छन् भन्ने विश्वास छ।’

    पाटनको सुबहालस्थित जय मनोहर महाविहार। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी
    किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। यहाँ चिलले बाटो देखाएको र महांकालले मान्छे मारेर खाएको भनाइलाई कथ्य मान्न सकिन्छ। त्यसो त समुदायको सुरक्षानिम्ति व्यक्ति विशेषको ज्यान अर्पण गर्ने चलन प्राचीन इतिहासहरूमा नभएको होइन। यसलाई नै ‘नरबलि’ का रूपमा लिने गरिन्छ। यहाँ त्यस्तै नरबलिको प्रथा थियो होला भनेर मान्न पनि सकिन्छ।

    यी कथ्यले प्राचीन काठमाडौंको एउटा तथ्य भने उजागर गर्छ। लिच्छविकालीन राजधानी हाँडीगाउँमा कुनै समय ठूलो विपत आएर मान्छेहरू लाखापाखा लागेको र त्यसैमध्येको एउटा समूह इमाडोल हुँदै सुबहाल बसाइँ सरेको तथ्य हुनसक्छ। अर्थात्, लिच्छविकालको उत्तरार्द्धमा हाँडीगाउँबाट सर्नेहरूमध्ये सुबहालवासीका पुर्खा पनि थिए भनेर हामी मान्न सक्छौं। यसले काठमाडौं इतिहासको एउटा कालखण्ड झल्काउँछ।

    यसलाई पुष्टि गर्ने एउटा चिनो अझै पनि इमाडोलमा छँदैछ। इमाडोल, खरिबोटनिर पहेँलो र रातो रंगको जुन चैत्य हामी देख्छौं, त्यो तत्कालीन हाँडीगाउँवासीले आफूसँगै ल्याएका हुन्, जसलाई उनीहरूले त्यति बेलै इमाडोलमा प्रतिस्थापन गरेका थिए।

    अहिले पनि सुबहालका बासिन्दा कात्तिक पूर्णिमाको भोलिपल्ट त्यहाँ पूजा गर्न जाने चलन छँदैछ। ‘खासमा कात्तिक पूर्णिमाकै दिन जानुपर्ने हो, तर त्यो दिन सुबहालको विहारमा पनि पूजा हुँदा जान भ्याइँदैन,’ किरणले भने।

    उनी सानो छँदासम्म इमाडोल चैत्य वरिपरिको सम्पूर्ण जग्गा यसकै गुठीको थियो। सहर विस्तारसँगै जग्गा अतिक्रमण बढ्दै गयो। चैत्यको चारकिल्ला खुम्चिँदै गयो। ‘अहिले सबै जग्गा मासिएर चैत्य मात्र बाँकी छ,’ उनले भने, ‘त्यो हाम्रा पुर्खाको धरोहर हो।’ उनले किम्बदन्तीसँग मेल खाने अर्को तथ्य पनि सुनाए।

    सुबहालका बासिन्दाले पुत्रहरूको बलि चढाउँदा–चढाउँदा परिवारमा पुरूषहरू घट्दै गएको हामीले किम्बदन्तीबाट थाहा पायौं। आज पनि जय मनोहर महाविहारसँग जोडिएको समुदायमा पुरूष संख्या थोरै छ।

    ‘अहिले हामी जम्मा ६३ पुरूष छौं। परिवार संख्या त करिब २० मात्र छ। यो अन्य विहारको दाँजोमा निकै सानो हो,’ किरणले भने, ‘पच्चीस वर्षअघिसम्म त हामी ३० जना भन्दा धेरै थिएनौं।’

    उनले त्यति बेला आफ्नो कौतूहल मेट्न बूढापाकालाई सोधेका रहेछन्, ‘हाम्रो समुदाय किन यति सानो ?’ बूढापाकाले जवाफ दिएछन्, ‘हाम्रा पुर्खाले आफ्ना पुत्रहरू पालैपालो देउतालाई चढाए, त्यही भएर हामी थोरै भयौं।’ समुदाय ‘सानो’ भए पनि प्राचीन संस्कृति जीवित राख्ने ‘ठूलो’ काम उनीहरूले गरेका छन्।

    ‘झन्डै नौ सय वर्षदेखि यो संस्कृति चलिरहेको छ,’ किरणले भने, ‘यसपालि कोरोना महामारीबीच गर्ने कि नगर्ने दोधार थियो। हामीले साधारण रूपमा भए पनि संस्कृतिलाई निरन्तरता दिने निर्णय गरेका छौं।’ उनले समुदायको निर्णय जानकारी गराए, ‘पहिलेजस्तो भीडभाड गर्दैनौं। समुदायभन्दा बाहिरका मान्छेलाई डाक्दैनौं। मासु चढाउने विधि पनि दुई–तीन जनाले मात्र गर्ने कुरा छ।’

    सबभन्दा ठूलो त, पूजाको समय परिवर्तन गरिएको छ। नवमीमा राति हुने यो पूजा यसपालि दिउँसै गरिँदैछ। छुट्टिने बेला मैले आफ्नो डर भनुँ कि जिज्ञासा किरणसमक्ष राखेँ, ‘के मासु काटेर चढाउँदा साँच्चै दुख्दै दुख्दैन?’

    ‘तपाईं पनि गरेर हेर्नुस् न!’ ‘बाफरे! मजस्तो डरछेरुवाले कहाँ पाएर सक्नु! बरू तपाईंकी छोरीले के भनिन्? उनलाई कति दुख्यो रे?’ मैले गत वर्ष पूजामा सरिक किरणकी २० वर्षे छोरीका बारेमा सोधेँ।

    ‘निकै कम?’ ‘कति कम?’ मैले अझै खिपेँ। ‘उसले अस्ति पिसिआर टेस्ट गरेकी थिई। नाकमा सुइरो घुसाउँदा दिनभरि दुखिरह्यो भन्दै थिई, त्यो दुखाईभन्दा कम।’ उनले अझै प्रस्ट पार्दै भने, ‘इन्जेक्सन लगाउँदा जति दुख्छ, त्योभन्दा पनि कम।’ (सुदीप श्रेष्ठले ०७७ कात्तिक ४ गते सेतोपाटीमा लेखेको स्टोरी)

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ