• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्तब्ध

    505
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

    आज विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकारलाई सो आग्रह गरेका हुन् । विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन् ।

    साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ । दिवंगत नागरिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

    नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव, चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसार र सरोकारवाला निकायबाट निगरानी नहुँदा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको प्रचण्डले जनाएका छन् ।

    यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन उनले आग्रह गरेका छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।

    मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।

    दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’ उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ