• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    लुम्बिनी समाचार

    मोतिपुर घटनाले देउवा सरकारलाई लाग्यो यति ठुलो झट्का

    364
    SHARES


    काठमाडाैं । सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको विरोध गरेको छ। विद्यार्थी संगठनहरुले आफ्नै सरकारको चर्को बिरोध गरेपछि बालुवाटार हल्लिएको छ ।

    अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले यस घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष निकालेको छ।

    मंगलबार तीन अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र त्यसको अर्थमन्त्रीका कारण यो घटना भएको निष्कर्ष निकालेको हो।

    तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरूपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँ बसोबास गरिरहेका जनतालाई लखेटेको कारण घटना भएको संगठनको आरोप छ।

    ‘तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरूपयोग गरी मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतीपुर क्षेत्र रणमैदान भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अनाहकमा जनताको ज्यान गएको छ। यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’

    आइतबार रूपन्देही मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए। झडपमा सुरक्षाकर्मीसहित कयौं घाइतेसमेत भएका थिए।

    त्यस घटनाको मुख्य दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न तीन संगठनले माग गरेको छ। साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको नि:शुल्क उपचार गर्न समेत माग राखेको छ। मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीको समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न सरकारसँग माग राखेको छ।

    यता मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।

    गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो ।

    बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको छ । मन्त्रालयका उपसचिव तथा सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    गृहले जग्गा अतिक्रमण गर्न नदिन रूपन्देही जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । ‘पूर्वको झापादेखि सुदूरपश्चिमको कैलालीसम्मका व्यक्तिलाई सरकारले जग्गा दिन्छ भन्ने भ्रम फैलाएर ल्याएको देखियो । वास्तविक जग्गा नभएकाभन्दा पनि सर्वसाधारणलाई प्रलोभनमा पारेर जग्गा कब्जा गर्न समूह सक्रिय रहेको देखियो,’ सुरक्षा बैठकपछि मन्त्रालयका एक अधिकारीले भने ।

    उनका अनुसार सुकुमबासीको नाममा बाहिरका मानिससमेत आएकाले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । ‘सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने अवस्था आएको छ । मोतीपुर औद्योगिक क्षेत्रलाई सुरक्षित राख्नुपर्नेछ’, मन्त्रालय स्रोतले भन्यो ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया