• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    चिनियाँ राष्ट्रपति सीले भने- ताइवान चीनमा गाभ्छौं

    1.6K
    SHARES


    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले पुनः एकपटक ताइवान चीनमै समाहित गर्ने आफ्नो प्रतिवद्धता दोहोर्याएका छन्। सीले गतवर्ष आक्रमण गरेरै ताइवान चीनमा गाभ्ने बताएका थिए। यतिबेला भने उनले ताइवानलाई शान्तिपूर्ण तवरबाट चीनमा समाहित गर्ने अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। उनले बल प्रयोग गर्ने विषयमा केही बताएनन्।

    ताइवानमा केहीदिनकै अन्तरालमा १५० भन्दा बढी चिनियाँ लडाकु विमान घुसेपछि सीको यस्तो प्रतिक्रिया आएको हो। सीले ताइवान चीनमै समाहित हुने भनाइ राखेपछि ताइवानले चीनलाई ‘नाजायज जिद्दी’ त्याग्न भनेको छ।

    ताइवानले आफ्नो देशका नागरिकको फैसलाले मात्र देशको भविष्य तय हुने र बाह्य शक्तिले केही बिगार्न नसक्ने बताएको छ। चीनले भने ताइवानलाई आफ्नो प्रान्त मान्दै आएको छ र जहिल्यै भएता पनि ताइवान चीनकै शासनमा आउनुपर्ने चिनियाँ सरकार बताउने गर्दछ।

    पछिल्लो समय ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ। ताइवानले चीनलाई मुख्य भूराजनीतिक खतरा मान्दछ। यसरी ताइवानले आफ्नो भनाइ अटेर गरेपछि चीनले गतवर्ष उक्त टापु क्षेत्रलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिएको थियो।

    पछिल्ला दिनहरुमा चिनियाँ लडाकु विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्न थालेका छन्। चिनियाँ जनमुक्ति सेनाले ताइवान लक्षित युद्ध अभ्यास गरिरहेका छन्। यसबीचमा अमेरिकी सेनाले ताइवानका हवाई सेनालाई चीनविरुद्ध तयार हुन प्रशिक्षण दिइरहेको पनि समाचारहरु सार्वजनिक भएका छन्।

    चीन–ताइवान विवाद
    चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

    पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

    चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

    गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

    ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

    बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ