• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान, प्रचण्ड तनावमा

    579
    SHARES


    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि नाराबाजी र कुर्सी हानाहान भएको छ ।

    सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन् ।

    विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् । निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरिएको उनीहरुको भनाइ छ ।

    फ्याक्सन इन्चार्ज हितमान शाक्यले अध्यक्षको घोषणा गरेपछि अन्य पदाधिकारीमा सहमति जुटाएर घोषणा गर्ने बताएका थिए । त्यसपछि सबै पदाधिकारी एकैपटक घोषणा गर्नुपर्ने भन्दै प्रतिनिधिहरू आक्रोशित बनेर सामान्य नाराबाजी र कुर्सी फालाफाल गरेको अखिल क्रान्तिकारीका विघटित केन्द्रीय कमिटीका केन्द्रीय सचिव क्षितिज सापकोटाले जानकारी दिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय भएको थियो । महासचिवमा दीपेश पुनको नाम घोषणा गर्न लाग्दा प्रतिनिधिहरुले त्यसमा पनि विरोध जनाएका थिए । पुन यसअघि उपाध्यक्ष रहेका थिए ।

    महासचिवका अरु दाबेदारमा सहमति नभएपछि म भएँ : पुन

    यद्यपि पुनले भने फ्याक्सन इञ्चार्ज शाक्यले महासचिवसहितका सबै पदाधिकारी टुंगो लगाइसकेको बताउँछन् । आफू वरिष्ठ उपाध्यक्ष पदमै रहन खोजेको तर महासचिवका दावेदारहरुबीच सहमति हुन नसकेपछि फ्याक्सन इञ्चार्ज शाक्यले आफूलाई महासचिव बनाएको पुनको भनाइ छ ।

    बन्दसत्रको हलमा विधानमा उल्लेख भएको भन्दा धेरै सदस्य राखेर समिति बनाउन खोजेपछि विरोध भएको उनले बताए । पुनले भने, ‘हलमा विधानभन्दा नबढाउने भन्ने आवाज उठेको हो । त्यो विषय मेरो पनि हो ।’

    २०७४ सालमा भएको २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति २४३ र पदाधिकारी ३३ सदस्यीय थियो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि विद्यार्थी संगठनहरु पनि एकता प्रक्रियामा जाँदा अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय र पदाधिकारी २५ सदस्यीय बनाइएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया