• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    रञ्जित रेले खोलिदिए विमलेन्द्र निधिको मुकुण्डो, नारायणकाजीको पनि लाज भयो

    2.6K
    SHARES


    काठमाडौँ । नेपालका लागि तत्कालिन भारतीय राजदूत रञ्जित रेले नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको मुकुण्डो खोलिदिएका छन् । २०७२ सालमा शेरबहादुुर देउवाको नेतृत्वमा बनेको सरकारका गृहमन्त्री निधिको कितावमार्फत मुकुण्डो खोलिदिएका हुन् ।

    रेले नेपालको राजनीति, प्रशासन वा अन्य कुनै पनि संयन्त्रमा भारतीय ‘माइक्रो–म्यानेजमेन्ट’(सूक्ष्म व्यवस्थापन) रहने चर्चालाई निराधार भन्दै २०७३ फागुनमा नेपालको प्रहरी संगठनमा उब्जिएको विवादलाई उदाहरण बनाएर आफ्नो पुस्तकमा समेटेका छन् ।

    यसै साता बजारमा आएको रेको ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज) पुस्तकमा तत्कालीन सरकारका गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) आकांक्षीका बारेमा खुलेर टिप्पणी गरेका छन् ।

    आफ्नो लेखाइमा कसैको नाम नलिएपनि तत्कालीन शेरबहादुर देउवा सरकार, गृहमन्त्री विमलेन्द्र निधि र आईजीपी उपेन्द्रकान्त अर्यालको अवधी सकिएपछिको ‘अन्योल’ तथा राजनीतिक खेलकुद बुझिने गरी घटनाक्रम लेखेका छन् ।

    रेले नेपालको राजनीति, प्रशासनसंयन्त्र र संरचनामा भारतीय प्रभावको वर्चस्व रहेको र अतिशय ‘माइक्रो–म्यानेजमेन्ट’ हुने गरेको भन्दै चल्ने गरेको चर्चाको यो उदाहरणसहित प्रतिवाद गर्न चाहेका छन् । उनले दिएको उदाहरणमा, नेपालमा प्रहरी महानिरिक्षकको नियुक्तीका बेला तत्कालीन गृहमन्त्री (निधि) स्वयंमले राजदूत रेलाई फोन गरेर आईजी उम्मेद्वारबारे राय मागेका रहेछन् ।

    ‘मैले वरिष्ठता र मेरिट आधारमा जुन उम्मेद्‌वार अघि आउँछ, त्यही छानिनू उपयुक्त होला भनेर सुझाएको थिएँ’, पूर्व राजदूत रेले आफ्नो पुस्तकमा लेखेका छन् । संयोगले त्यसबेला आईजीपी उम्मेद्‌वार रहेका चारैजना वरिष्ठ प्रहरी अधिकृत (डीआईजी) नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी भारतीय सदासयताको आग्रहसहित ‘लोयल्टी’ दर्शाउँदै राजदूत रेलाई भेट्न इन्डिया हाउस पुगेका रहेछन् ।

    त्यसबेला गृहमन्त्री निधीले चाहेका आईजीपी उम्मेद्वार नवराज सिलवाल थिए र, जो पछि प्रहरी सेवाबाट राजीनामा दिँदै एमाले प्रवेश गरेर सांसद समेत बनेका छन् । तर, पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले भने जयबहादुर चन्दलाई चाहेको र चन्द नै आईजीपी सिफारिसमा परेका थिए । तर, यो विवादास्पद निर्णयमाथि रिट परेपछि कार्यसम्पादन मूल्यांकन आधारमा अदालतले अर्याललाई आईजीपी बनाउन सिफारिस गरेका थियो ।

    २०१३ अक्टोबरदेखि २०१७ फेब्रुअरीसम्म काठमाडौंमा राजदूत रहेका रेको पुस्तकमा नेपाली नेताहरूको ‘देखाउने र लुकाउने चरित्र’ बारेमा पनि टिप्पणी गरिएको छ । रेका भनाइमा ‘चीनसँग नजिक मानिएका’ माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा आफू २ पटक ‘लन्च मिटिङ’मा गएको तर नेता श्रेष्ठलाई ‘इन्डिया हाउस’ (लैनचौर)मा बोलाउँदा आउन नचाहेको सन्दर्भ उल्लेख गरेका छन् ।

    नेता श्रेष्ठले फेरि पछि २०७२ को भुकम्पपछि आफ्नो चुनावी क्षेत्र (गोरखा)मा राहत सामग्री पठाइदिन राजदूत रेलाई अनुरोध गरेका रहेछन् । तर, राहत सामग्री ‘हेन्डओभर’ भएको कुनै औपचारिक समारोह गर्न चाहेनन् । सहयोग मात्रै लिए ।

    त्यही क्रममा परराष्ट्रमन्त्री रहेका बेला श्रेष्ठले ल्याएको ‘कूटनीतिक आचार संहिता’ को खासै तुक नरहेको भन्दै पूर्व राजदूत रेले संहिताको यो पद्धति लोकतान्त्रिकभन्दा ‘एकाधिकारवादी’ रहेको धारणा राखेका छन् । उनले परराष्ट्र मन्त्री भइसकेका नेता श्रेष्ठ स्वयं समेतले आफूसँग ‘एक्लै’ भेट्न चाहने गरेको जनाएका छन् ।

    रेले पूर्व प्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिका ‘सबैभन्दा चतुर खेलाडी’ भनेका छन् । भारतसँग नेपालको महाकाली सन्धी (१९९६) भएताका भारतका सबैभन्दा ‘निकटतम मित्र’ ओली पछिल्ला समयमा ‘राष्ट्रवादी ओहोदा’ का कारण चिनिएको रेले उल्लेख गरेका छन् ।

    कतिसम्म भने भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छविकै कारण ओली आफ्नो उपचारका लागि पनि पछिल्ला वर्षमा दिल्ली नगएर बैंकक वा सिंगापुर गइरहेको धारणा उनले राखेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया