• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विधान महाधिवेशनमा किन पेश भएन घनश्याम भुसालको भिन्न मत ? यस्तो छ कारण

    192
    SHARES


    काठमाडाैं । एमाले उपमहासचिव घनश्याम भुसालले असोज ३ गते बसेको स्थायी कमिटी बैठकमा ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा ८ पेज लामो टिप्पणी पेश गरे। एमालेको प्रथम विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदनसँगै भिन्न मत पेश गर्नलाई उनले फरक प्रस्ताव राखेका थिए।

    ओलीले ल्याएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनसम्म आइपुग्यो। संशोधनसहित आइताबार पारित भएको छ। तर भुसालको भिन्न प्रस्ताव भने विधान महाधिवेशनमा पेश नै हुन पाएन। आफूले राखेको भिन्न मतमाथि अध्ययन गर्दै जाने र महाधिवेशनमा समेत पेश गर्न सकिने भनेर थाति राखेको भुसालले बताए।

    ‘स्थायी कमिटीमा मैले पार्टीको कार्यक्रमको ढाँचा र पार्टीमा भएका मामलाहरुमा समेत विस्तृतमा छलफल गर्नुपर्छ भनेर भिन्न मत पेश गरेको थिएँ, स्थायी कमिटीको बैठकमा यो विषयमा फेरि छलफल चलाउँदै जाने भन्ने सहमति भयो’ उनले भने, ‘अध्ययनको कुरालाई खुला राखिएको छ। विभाजनमा हामी धेरै जिम्मेवार छौँ, सबैभन्दा बढी ओलीजी हुनुहुन्छ भनेर मैले प्रष्ट राखेको थिएँ।’

    भुसालले संसद विघटन गलत थियो, विघटन गरेपछि नै कम्युनिष्ट पार्टी विभाजन भएको र सरकारबाट खसाल्ने काम भएको समेत आफ्नो भिन्न मतमा उल्लेख गरेका थिए।

    भुसालको भिन्न मतमाथि छलफल गर्नुपर्नेमा उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली लगायतले समेत धारणा राखेका थिए। तर आफ्नो प्रस्तावको पक्षमा तत्काल बहुमत हुने नदेखेपछि भुसाल पछि हटेका हुन्।

    ‘यो विषयलाई अहिले सकेसम्म भिन्न मतका रुपमा वहसमा नलैजाउँ भन्ने कुरा गरियो। अध्ययन गर्दै जाने भन्ने भयो। अहिले नै अरु सहमत नभइकन पारित हुँदैन’ उनले भने, ‘अहिले पार्टीमा बहुमतले त्यो कुरालाई नबुझेको र समर्थन नगरेको हुनाले आउने महाधिवेशनमा छलफल गर्ने भनेर भिन्न मत पेश गरिएन। स्थायी कमिटीमा छलफल गरेर हामी सहमतिमा पुगेको हो।’

    यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। एमाले विधान महाधिवेशनको समापन सम्बोधन गर्दै ओलीले आलोचकहरु आफू बाँचेकैले चिन्तित भएको बताएका हुन्।

    ‘मान्छेहरू अहिले २ कुराले चिन्तित छन्। एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिरामी हुन्छ। अप्रेसन गर्छ। किड्नी फेर्छ। बिरामी भयो अब त मर्छ कि भन्यो, फेरी बाँच्छ,’ ओलीले भने, ‘अर्को कार्यकर्ता र जनताले मलाई असाध्यै माया गर्छन्। त्यसले एमालेलाई फाइदा पुग्छ। अब बाँचेकामै चिन्तित छन् त म के गरुँ? तपाईहरूको मायालाई एक इन्च तलामाथि हुन दिनेछैन। तपाईँहरू ढुक्क हुनुहोस्। म बहुमत ल्याएर देखाउनेछु।’

    उनले कार्यकर्ताले आफूलाई माया गर्ने विषय र एमालेलाई फाइदा पनि हुने विषयले पनि विरोधीहरु चिन्तित भएको पनि बताएका छन् । ‘एमालेमा बोल्न पाइँदैन भनेर समेत हल्ला फिँजाएका छन्, उनले भने, ‘उनीहरुले देवत्त्वकरणका कुरा पनि उठाएका छन् । तर, हामी लिडरसिपमा विश्वास गछौँ । हामी देवत्वकरणका पक्षमा छैनौं। हामी देवता मान्दैनौं। तर नेतृत्व भने चाहिन्छ। हामी सबै नेता हो। त्यो बीचमा पनि नेतृत्व गर्ने लिडरसिप चाहिन्छ। नेतृत्वको वरपर गोलबन्द हुने हो।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया