• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    गोकुल बास्कोटाले जंगिदै भने- माधव नेपाल काँग्रेसको मतियार हुन्

    564
    SHARES


    काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसको मतियार भएको आरोप लगाएका छन् । एमालेको मण्डनदेउपुर नगर वडा नम्बर १ को कार्यकर्ता भेलालाई नगरकोटमा सम्बोधन गर्दै नेता बास्कोटाले नेपाल र बामदेब गौतम पार्टीलाई समस्या पर्दा भाग्ने भगौडा भएको बताएका हुन् ।

    माधव नेपालको नाम नै लिएर उनले नेता नेपाल पार्टी घाती र देशद्रोही भएको आरोप लगाए । नेता नेपालको कारणले काभ्रेमा बन्ने भनेको एयरपोर्ट समेत नबनेको उनको भनाई छ ।

    वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पुससम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसक्ने भन्दै बास्कोटाले केपी ओली सरकारले जम्मा पारेको पैसा सक्ने मेलो मात्र सरकारले गरेको बताए ।

    आगामी सबै निर्वाचनमा फुटेर गएको एस पार्टीलाई जिरो बनाउने गरि लाग्न उनले एमालेका कार्यकर्ता तथा नेतालाई निर्देशन दिए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, एमाले नेता विदुर सापकोटा, रुद्र तामाङ्गलगायतले पार्टीको काममा सबै जना एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

    यतै उता नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौँ रकम पैसा खर्च गर्ने, र त्यहाँ मोजमज्जा गर्ने थलो बनाइएको छ ।

    त्यहाँको तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो । त्यहाँ न विचार छ, न कुने दृष्टिकोण छ । नयाँ कुरा मैले केही पनि देख्दिनँ । फरक विचार प्रस्तुत गर्नै पाइएन । घनश्याम भुसालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेस गरे, तर गोदावरीमा त्यो प्रस्तुत गर्न दिइएन ।’ उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिइएको टिप्पणी गरे ।

    उनले एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पना मात्रै भएको पनि टिप्पणी गरे । उनले भने,‘यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पना मात्रै हो ।’ त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरेका छन् । उनले भने,‘त्यो गतिविधिले एमाले नाङ्गिएको छ । सदन सुचारु गर्नेबारे हामी गठबन्धनको बैठक बसेर निर्णय लिन्छौँ । तर, अहिले पहिलो कुरा सरकार गठन हो ।’

    सरकार गठनमा ढिलाइ हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति हुनु प्रमुख कारण रहेको उनले सुनाए । उनले भने,‘मन्त्रालय बाँडफाँड हुन बाँकी छ । मन्त्रालय टुङ्गो लाग्ने बित्तिकै दलहरूले मन्त्रीहरूको नाम दिन्छन् ।’ भुसालले भने,‘सरकार विस्तार छिट्टै हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ । अहिले हाम्रो अध्यक्ष बिरामी भएर अस्पतालमा हुनुहुन्छ, भेटवार्तामा त्यो कुराले असर गरेको हो । प्रधानमन्त्रीको व्यस्तताको कारण सायद उहाँले भेटघाट गर्न भ्याउनुभएको छैन होला, तर अब छिट्टै सरकार विस्तार हुन्छ । सरकारले छिट्टै पूर्णता पाउनेछ । त्यसपछि सरकारले गर्नुपर्ने काम अघि बढ्नेछन् ।’

    भुसालले अहिले अर्ली ईलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले अर्ली–ईलेक्शन गर्ने सम्भव कुरा होइन । प्रधानमन्त्रीले अहिले नै प्रतिनिधिसभा विघटन गर्न पाउनुहुन्न । उहाँले गर्नुभयो भने त्यो पनि असंवैधानिक हुन्छ । सर्वदलीय बैठकमा उहाँले यो कुरा हुँदैन भन्नुभएको छ । यो बाहिर चलाइएको हल्ला हो । अर्ली–ईलेक्शन, अहिले त्यो बाटो जाने स्थिति छैन । जाने मनस्थिति भएको पनि मैले देख्दिनँ ।’

    यस्तै बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनलाई सवल र सुदृढ बनाउन विधान महाधिवेशनले सहयोग गर्ने बताएकी छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि शुरु भएको नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा उनले गणतन्त्र प्राप्त गर्न आफूहरुले धेरै रगत बगाएको स्मरण गर्दै सबै मिलेर अघि बढ्दा मुलुकको हित हुने भनाइ राखिन् ।

    पार्टीमा रहेका नेताले मन फराकिलो बनाएर कमिटी बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । यस्तै सिरहा जिल्ला अर्नामा गाउँपालिका–१ बाट महाधिवेशनमा उपस्थित इजराइल अन्सारीले स्थानीय तहका नेता तथा कार्यकर्ताको दुःख माथिल्लो तहका नेताले नबुझी अघि बढेमा दुर्घटना भोग्नुपर्ने बताए । कास्कीका कृष्णकुमारी गुरुङले पार्टी भित्र एकता कायम गरी अघि बढ्दा उपलब्धि हासिल हुने मत व्यक्त गरिन् ।

    भरतपुर महानगरपालिका–९ का केन्द्रीय प्रतिनिधि परिषद् सदस्य विष्णुहरि तिमिल्सिनाले यस महाधिवेशनले पार्टी सङ्गठनलाई बलियो बताए । गण्डकी प्रदेशसभा सदस्य सावित्री रानाले पार्टीभित्रका कमीकमजोरीलाई सच्याएमा पुनः एक नम्बरको पार्टी बन्ने भनाइ राखे । महाधिवेशन स्थलमा रक्तचाप, महुमेह, कोभिड एन्टिजेन र दन्त परीक्षणको सेवा उपलब्ध छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ