काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।
‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए, जसले ७४ पछि मेरो नेतृत्वको असफल बनाउन उसैगरी घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे’, सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।
‘आफैले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेश गरियो । यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो’, ओलीको भनाई छ ।
ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताएका छन् । गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताएका हुन् ।
‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भने ।
उनले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताए । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ’, ओलीले भने ।
प्रतिक्रिया