काठमाडौँ । सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने-नगराउने आदेश जारी गरेको हो ।
बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने यदी भौतिकरुपमै गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन आग्रह गरेका हुन् ।
प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न पनि आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।
होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।
निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
यस्तै कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।
प्रयोगशालाका निर्देशक डा रुना झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन्। प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।
राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् ।
प्रतिक्रिया