• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मन्त्रीपरिषद विस्तार गर्दै देउवा

    516
    SHARES


    काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवाले आज  मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मात्रै मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।

    बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

    सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ । देउवा प्रधानमन्त्री बनेको अढाई महिना हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको थियो ।

    मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने बालुवाटार स्रोतले पुष्टि गरेको छ । माओवादी केन्द्र र जसपाले मन्त्री बन्ने नेताहरुको सूची नबुझाएकाले मन्त्रिपरिषद् विस्तार नहुने स्रोतले बतायो । सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने बालुवाटार स्रोतको दाबी छ ।

    सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।

    तर मन्त्रालयबारे भने सहमति नभइसकेको दलहरुले बताएका छन् । मन्त्रीको संख्यामा टुङ्गो लागेपछि कांग्रेसले आफ्नो बाँकी रहेको कोटाका लागि मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरी तथा भिमसेनदास प्रधानमध्ये एकजनालाई मन्त्री बनाउने सहमति भएको छ ।

    उता नेकपा एसले पनि ५ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ । थप एकजनाबारे भने निर्णय भइनसकेको नेकपा एसका एक नेताले जानकारी दिए । नेकपा एसबाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।

    माओवादी केन्द्रले मंगलबार मन्त्रीको टुंगो लगाउने भने पनि सोमबार लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । उता जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी काठमाडौँ बाहिर छन् । जसपाले पनि मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।

    मन्त्री बन्ने रहर छैन, म सरकारमा जान्नँ : उपेन्द्र यादव

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएका बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् ।

    ‘मलाई मन्त्री हुने रहर छैन, पहिले पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु’ यादवले भने, ‘म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’

    अध्यादेश फिर्ता भएपछि सरकारमा सहभागी हुने बताएका जसपा अध्यक्ष यादवले गठबन्धनमा सहभागी सबैले बराबरी संख्याका आधारमा सरकारमा सहभागिता पाउनुपर्ने बताए । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवाबाहेक २४ मन्त्रालयमा ४ दललाई समानरुपमा सहभागी गराउनुपर्ने जसपाको अडान रहेको यादवको भनाइ छ ।

    यसरी २४ मन्त्रालय बराबरी भाग लगाउने हो भने अब नेपाली काँग्रेसबाट तीन जनामात्रै मन्त्री थप्न पाइन्छ भने माओवादीबाट ४ जना मन्त्री बन्न पाउनेछन् । बराबरीका आधारमा भागवण्डा गर्दा माधव नेपाल र उपेन्द्र यादवको पार्टीबाट भने ६/६ जना मन्त्री हुन पाउँछन् ।

    तथापि अहिलेसम्म गठबन्धन दलहरुले कतिवटा र कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागिसकेको छैन । गठबन्धन दलका पनि शीर्ष नेताहरु देउवा, प्रचण्ड र नेपालले आ–आफ्नो पार्टीका मन्त्रीहरु छान्ने तयारी गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया