• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपति सीले पठाएको चार्टर्ड जहाजमा ३ बर्षपछि चीन फर्किइन् सरविना, को हुन् उनी ?

    13.1K
    SHARES


    एजेन्सी।  चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन्।

    चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो। उनी चढेको जहाज शनिबार राति स्थानीय समयअनुसार ९ बजेर ५० मिनेटमा सेन्जेन विमानस्थलमा अवतरण भएको थियो।

    चिनियाँ राष्ट्रिय झन्डा बोकेर थुप्रै मानिसहरूले विमानस्थलमा उनको स्वागत गरेका थिए। सेन्जेनमा हुवावेको मुख्यालय पनि रहेको छ। हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई सन् २०१८ डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो।

    अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेसन सामग्री पठाएको र बैंकिङ कसुर गरेको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही आरोपमा क्यानेडियन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए।

    उनलाई अमेरिका सुपुर्दगी गर्नेबारे लामो समयसम्म छलफल भएको थियो। सोही कारणले चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। सरविना पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। सरविनालाई पछि क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसका लागि उनले कडा सर्तहरू पालना गर्नुपर्ने थियो।

    समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकी अभियोजनकर्ताहरू सरविनाविरूद्धको बैंकिङ कसुरको मुद्दा फिर्ता लिन सहमत भएका थिए। उक्त सहमतिपछि सरविनाको स्वदेश फर्किने ढोका खुलेको हो। स्वदेश फर्किएकी सरविनाले सेन्जेन विमानस्थलमा छोटो सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सी चिनफिङप्रति कृतज्ञता व्यक्त गरिन्।

    अमेरिका र क्यानडाको जनसंख्याभन्दा धेरैले मन पराए मेङको स्वागत कार्यक्रम

    क्यानडाको तीन वर्षे नजरबन्दपछि शनिबार चीन फर्किएकी हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वेनझाओको प्रत्यक्ष प्रसारण कार्यक्रम अत्यधिक दर्शकले हेरेका छन् । चीनको सञ्चारमाध्यम चाइना मिडिया ग्रुपको मोबाइल र वेब प्लेटफर्ममा प्रसारण गरिएको मेङको स्वागत कार्यक्रमलाई ४० करोड दर्शकले मन पराएका छन् ।

    हुवावेकी आर्थिक मामिला प्रमुख मेङ क्यानडाबाट छुटेपछि शनिबार राति ग्वाङदोङ प्रान्तको सेङझेनस्थित अवतरण गरेकी थिइन् । उनलाई स्वागत गर्न सयौँ प्रशंसकहरु विमानस्थलमै पुगेका थिए । चीनले उनलाई स्वागत गरिरहेको कार्यक्रमलाई विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए । सोही क्रममा चाइना मिडिया ग्रुपले उक्त स्वागत कार्यक्रमबारे गरेको प्रत्यक्ष प्रसारण व्यापक रुपमा चर्चित बनेको हो ।

    चाइना मिडिया ग्रुपका अधिकारीहरुले समेत उक्त कार्यक्रम अत्याधिक मानिसले हेरेको र लाइक गरेको जानकारी दिएका छन् । मेङको उक्त कार्यक्रम झण्डै ४३ करोडले अवलोकन गरेका थिए । गत शुक्रबार अमेरिकाले सहमति दिएपछि मात्रै मेङलाई क्यानडाले रिहा गरेको बताइएको छ ।

    ‘अन्तत म घर आइपुगेँ । यो जनताहरुको शक्ति हो,’ समर्थकहरुको भीडलाई सम्बोधन गर्दै मेङले भनेकी थिइन् । यस्तै उनले अमेरिकाले आफूमाथि लगाएको आरोपको खण्डन समेत गरेकी छन् । मेङको स्वागतका लागि समर्थकहरु चीनको झन्डा र प्लेकार्ड बोकेर विमानस्थलमा पुगेका थिए ।

    मेङको स्वागत कार्यक्रमलाई चिनियाँ मिडियाले मध्यरातसम्म प्रत्यक्ष प्रसारण गरेका थिए । चाइना मिडिया ग्रुपले मेङको आगमन लगत्तै निरन्तर प्रत्यक्ष प्रसारण गरेको हो । मेङको कार्यक्रम हेर्ने र लाइक गर्ने ४० करोड दर्शकको संख्या अमेरिका र क्यानडाको कुल जनसंख्या भन्दा पनि धेरै हो । मेङको स्वागत मन पराएका ती इन्टरनेट युजर्सलाई चिनियाँ मिडियाले मातृभूमिको शक्तिको रुपमा समेत व्याख्या गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ