• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    ईपीएल- काठमाडौं किंग्सको ललितपुरमाथि शानदार विजय

    469
    SHARES


    काठमाडौँ । विदेशी खेलाडीद्वय रहमनुल्लाह गुर्बाज र रायन बर्लको अर्धशतकमा काठमाडौं किंग्स ११ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो दिनको खेलमा शनिबार लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ ।

    अफगानिस्तानका गुर्बाजले ३६ बलमा ५९ र बर्लले ३४ बलमा ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १५ ओभर भित्र १ सय ६० रन बनाउदै पुरा गर्‍यो ।

    बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । अर्का अविजित ब्याटर राजु रिजालले १३ बलमा २ चौकासहित १९ रन बनाए ।

    सुवास खकुरेल आफूले सामना गरेको पहिलो बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुर्बाज र बर्ल ललितपुरका बलरमाथि जाइलागेका थिए । गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गरे । उनलाई पवन सर्राफले स्टम्प आउट गराए ।

    यसअघि पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई रन १ सय ५७ बनाएको थियो । ४० बलमा अर्धशतक बनाएका पवनले कूल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए ।

    साविक विजेता ललितपुरको सुरुआत निकै दयनीय भएको थियो । जितेन्द्र मुखियाले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेललाई आउट गरेका थिए भने ओभरको अन्तिम बलमा सेन्डोन विराकोडीलाई २ रनमा आउट गरी काठमाडौंलाई निकै उत्कृष्ट सुरुआत दिलाएका थिए ।

    शंकर रानाले २७ बलमा १४ रनमात्र बनाए पनि उनले पवनलाई राम्रो साथ दिए । पवनले त्यसपछि योगेन्द्रसिंह कार्कीसँग अर्को राम्रो साझेदारी गरे । योगेन्द्रले २० बलमा ३३ रन बनाए । पवन र योगेन्द्रलाई जिम्बावेका बलर रायन बर्लले लगातार बलमा आउट गरे ।

    रासिद खान १ रनमै आउट भए । ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । नारायण जोशी ४ बलमा १२ रन बनाई अन्तिम ओभरमा आउट भए ।

    काठमाडौं किंग्सका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रनमात्र खर्चेर ४ विकेट लिए । बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ र शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया