• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    श्रीपेच नै चोर्न खोजेपछि नारायणहिटी दरबारमा लफडा, एक जना पक्राउ

    3.3K
    SHARES


    काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।

    तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

    ‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ’ उनले भने ।

    उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

    टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताए ।

    पक्राउ परेका घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए । नौ महिनापछि खुलेको नारायणहिटी दरबार संग्रहालय दस दिनमा २ हजार ६ सय २२ जनाले अवलोकन गरेका छन् । तीमध्ये सार्क मुलुकका दुई र अन्य मुलुकको एक जना मात्र छन् ।

    त्यसबापत संग्रहालयले प्रवेश शुल्कबाट ४ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए कोभिड–१९ फैलिएयता बन्द रहेको संग्रहालय राजा वीरेन्द्रको निवास श्रीसदनसहित गत साताबाट सार्वजनिक गरिएको हो ।

    अहिले दैनिकजसो २ सय ६२ जनाभन्दा बढीले अवलोकन गर्ने गरेका छन्। स्वास्थ्य मापदण्ड अपनाएर आगन्तुकलाई प्रवेश गराइएको छ ।प्रवेश शुल्कबापत प्रतिविद्यार्थी ५० रुपैयाँ, सर्वसाधारणलाई जनही दुई सय, सार्क मुलुक तथा चीनका पर्यटकलाई जनही पाँच सय तथा अन्य मुलुककालाई एक हजार रुपैयाँ लिने गरिएको छ ।

    नौ वर्षमुनिका र ज्येष्ठ नागरिकलाई प्रवेश नि:शुल्क रहेको छ। दरबार संग्रहालयको ५२ मध्ये ३२ कक्ष खुला गरिएका छन् । बाँकी कक्ष केही महिनाभित्र खुला गर्ने तयारी भइरहेको तर सरकारबाट कुनै बजेट प्राप्त नहुँदा समस्या परेको कार्यकारी निर्देशक दाहालले बताए ।

    केही महिनापछि स्वर्गीय राजा वीरेन्द्रको अध्ययन कक्ष, सैलुन कक्षक, अध्ययन कक्ष र सिनेमा हललगायत सर्वसाधारणका लागि खुला गर्ने तयारीमा छौं,’ धेरै काम बजेटकै कारण रोकिने स्थितिमा रहेको उल्लेख गर्दै दाहालले भने, ‘तर चालु आर्थिक वर्षभित्र नारायणहिटी संग्रहालयको बजेट शून्य छ । सात करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति माग्यौं । अहिलेसम्म प्रक्रिया अघि बढेको छैन ।’

    संग्रहालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण चरणबद्ध अघि बढाएको उनले जनाए । तर, बजेटकै कारण खुला गरिएका नारायणहिटीको छानो जीर्णोद्धार कार्य अधुरो छ । त्यसैगरी भरखरै सार्वजनिक गरिएको श्रीसदनको समेत छानो कमजोर छ । तीन तलाको भवनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति बस्दथे ।

    लामो कम्पाउन्ड छिचोलेर १२ कोठे यस भवन प्रवेश गर्न सकिन्छ । दक्षिण मोहडाको श्रीनिवासको भुइँतला ढोकाको दायाँबायाँ राजपरिवारका विभिन्न फोटाहरू सजाइएका छन् । पूर्वतर्फ बैठक कक्ष र खानपान गर्ने डायनिङ हल रहेको छ । बायाँतर्फका दुई कक्षमा राजा र रानीको कार्यालय छन् ।

    प्रवेश ढोकाबाट सिधै उत्तरभित्तातर्फ भर्‍याङ रहेको छ । बीच तला उक्लिँदै गर्दा राजा महेन्द्र रानीद्वय रत्न र इन्द्रको फोटो देखिन्छ । यो तला राजा र रानीको कक्ष हो । पूर्वतर्फ रानी ऐश्वर्यको ड्रेसिङ तथा शृंगार कोठा, शृंगार पूजा कक्ष छन् भने पश्चिमतर्फ राजा वीरेन्द्रको पोसाक कक्ष, दम्पतीको खोपी छन् ।

    माथिल्लो तेस्रो तला पूर्वतर्फ श्रुतिको सुत्ने, पढ्ने, पेन्टिङ गर्ने र झुलिने खुला ठाउँ छ । पश्चिमतर्फ नीराजनको पढ्ने, सुत्ने र व्यायाम कक्ष छन् । राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकप्टर दरबार संग्रहालय परिसर पुर्‍याइएको छ । ‘यसलाई खुल्ला आकाशमुनि राखिएको मात्र छ,’ दाहालले भने, ‘यसलाई व्यवस्थित गर्न र बगैंचाहरूको सौन्दर्यकरण बाँकी नै छ ।’

    काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ।

    नारायणहिटी रेखदेखको बिषयमा प्रहरी सेनाबीच रडाको

    नारायणहिटी दरबार संग्रहालय छिर्नासाथै दाहिनेपट्टि नेपाल प्रहरीको एउटा कार्यालय देखिन्छ, महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म । जसको नामले नै संग्रहालयको समग्र सुरक्षाको जिम्मा प्रहरीले लिएको बुझाउँछ । प्रहरी गुल्म कार्यालय पार गरनिसक्दै दायाँबायाँ प्रहरीका दुईवटा सुरक्षा सेन्ट्री पोस्ट छन् ।

    यही क्षेत्र भएर संग्रहालय प्रवेश गरिन्छ। भित्र छिरेपछि भने नेपाली सेनाका सुरक्षा पोस्ट भेटिन्छन् । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नासाथै यस क्षेत्रको सुरक्षाको जिम्मा कसको हुने भन्नेमा राज्यका दुई प्रमुख सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीबीच मतभेद देखिएको थियो, जुन अहिलेसम्म सल्टिएको छैन । यद्यपि, खुला रूपमा दुवै निकाय यसबारेमा टिप्पणी गर्न चाहँदैनन् ।

    दरबार क्षेत्र सरकारी सम्पत्तिमा परिणत भइसकेकाले त्यसको सुरक्षा राज्यको ‘सिभिलियन’ निकायले लिनुपर्ने प्रहरीको तर्क छ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन्, “सार्वजनिक सम्पत्ति भएपछि त्यसको सुरक्षा गर्ने जिम्मा स्वतः प्रहरीको हुन्छ । संसारभरिको अभ्यास यही हो ।” तर, सेनाले भने राजा हटे पनि उक्त जग्गा नेपाली सेनाकै भएकाले आफूहरू नारायणहिटीबाट नहट्ने अडान लिएको छ, जसले गर्दा नारायणहिटीको सुरक्षा प्रहरी र सेनाले आ-आफ्नो क्षेत्र छुट्याएर गररिहेका छन् । नारायणहिटीको दक्षिण गेटदेखि पश्चिम गेटसम्मको बाहिरी घेरा प्रहरी सुरक्षामा छ भने राजदरबारको कोर क्षेत्र सेनाको सुरक्षामा चलेको छ ।

    संग्रहालय भवनका लागि सेनाका आठवटा सेन्ट्री पोस्ट छन् । त्यसबाहेक संग्रहालयदेखि उत्तरको पूरा भाग सेनाको उपत्यका पृतना र गण बसेको छ । एकै क्षेत्रमा दुई सुरक्षा निकायको उपस्थितिले कमान्डिङ कन्ट्रोलमा समस्या उत्पन्न हुन सक्ने जोखिम रहेको सुरक्षा विश्लेषकहरू बताउँछन् । पूर्वसचिव मोदराज डोटेल भन्छन्, “यस्तो अवस्थामा राम्रो संयोजनको अभाव भयो भने खतरा हुन सक्छ ।” तर, आ-आफ्नो क्षेत्र छुट्याएकाले त्यस्तो समस्या हालसम्म नआएको गुल्मका प्रहरी निरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन् । भन्छन्, “तर, भित्रका कुरा हामीलाई केही पत्तो हुँदैन ।”

    राजदरबारको बगैँचासमेत सर्वसाधारणले नियाल्न पाउँदैनन् । यो उद्यान सेनाको तालिम गर्ने क्षेत्र नजिकै रहेकाले मानिसको आवतजावत बढ्दा काममा बाधा हुने भन्दै सेनाले रोकेको हो । “कम्तीमा पनि टाढैबाट औँलाले देखाउन भए पनि दिनु भन्दा पनि सेना चलमलाएन,” संग्रहालय प्रमुख लेखबहादुर कार्कीको कथन छ । कार्कीको भनाइले सेना संग्रहालयप्रति टसमस नहुने अडानमा रहेको बुझिन्छ ।

    गणतन्त्र घोषणा भएर नारायणहिटी राजदरबार राज्यको सम्पत्तिमा परण्िात भएको आधा दशक पार गरे पनि यसको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको मातहतमा आउन सकेको छैन । पूर्वी मूल गेटको ताल्चासाँचो लिएर मात्रै प्रहरी बसिरहेको अवस्था छ । एसएसपी खनालका अनुसार सेनालाई सरकारले ठाउँ उपलब्ध गराएर नारायणहिटीको सम्पूर्ण सुरक्षा जिम्मा प्रहरीलाई सुम्पने भद्र सहमति बनेको थियो

    । “त्यो भद्र सम्झौता कार्यान्वयन हुने हो भने अहिले नारायणहिटीको सुरक्षा प्रहरीमा आउनुपथ्र्यो,” उनी भन्छन् । खनालले ३० जेठ ०६५ मा सेनाबाट नारायणहिटी दरबारको सुरक्षाको जिम्मेवारी बुझेका थिए ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी प्रहरी प्रधान कार्यालयले यसबारेमा कुनै धारणा बनाइनसकेको बताउँछन् । “सरकारले जे निर्णय गर्छ, त्यही कार्यान्वयन हुन्छ,” उनी भन्छन् ।

    साँचोको सेरोफेरो: नेपाल गणतन्त्र घोषणा भएपछि ०६५ जेठ अन्तिममा राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट बाहिरिँदा सिंगो मुलुक खुसीमा डुबे पनि देशका प्रमुख दुई सुरक्षा अंग नेपाल प्रहरी र नेपाली सेनाबीच भने दरबारको साँचो कसले राख्ने भन्ने विषयमा मतान्तर थियो । प्रहरी राजाको सम्पत्ति राज्यको भइसकेकाले त्यसको सुरक्षा सिभिल प्रहरीले गर्नुपर्ने लबिङमा थियो भने नेपाली सेना साँचो आफैँ राख्ने दाउमा थियो ।

    राजा निस्किएपछि त्यहाँको सम्पत्ति कसले रेखदेख गर्ने भन्नेमा गृह मन्त्रालयको सुरक्षा समितिमा सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधिबीच लामो समय छलफल चलेको थियो । त्यही बेला नेपाल प्रहरीले आफू सिभिल प्रहरी भएकाले सुरक्षाको जिम्मा आफैँले लिने प्रस्ताव गरेको थियो । सशस्त्र प्रहरीले समेत चासो देखाएको थियो ।

    तर, प्रहरीले चलाखी गरेर सुरक्षा समितिमा प्रस्ताव लग्नासाथै नारायणहिटीको दक्षिणी मूल गेटमा प्रहरी खटाएको थियो । “त्यतिबेलासम्म सेनालाई राजाको नजिकको विश्वसनीय शक्तिका रूपमा हेरिन्थ्यो । त्यसैले सेनालाई सुरक्षाको जिम्मा दिँदा त्यहाँ सम्पत्ति सुरक्षित नहुन सक्छ भनेर सबैलाई मनाइयो,” समितिको बैठकमा सहभागी एक जना उच्च प्रहरी अधिकारी भन्छन् ।

    प्रहरीले संग्रहालयसहित नारायणहिटीभित्र सुरक्षा पोस्ट खडा गर्ने प्रस्ताव गरेको थियो । तर, सेनाले मूल गेटभन्दा दुई सय मिटर भित्रसम्म मात्रै प्रहरीको पहुँच दियो । सुरक्षा समितिका अधिकारीहरूसँग सेनाका सेन्ट्री बसेका ठाउँमा समेत प्रहरी बस्ने मौखिक सहमति भएको थियो । प्रहरी निरीक्षकको कमान्डमा १ सय २६ प्रहरी नारायणहिटी दरबारको बाहिरी परसिरको सुरक्षामा खटिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ