• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइदै, कुन जिल्लाका क-कसले पाउँछन्?

    22.7K
    SHARES


    काठमाडाैं । सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने निर्णय गरेको छ। हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ। पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।

    कुन जिल्लामा कुन उमेर समूहकालाई खोप?

    मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।

    यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ। सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।

    काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।

    विभिन्न ५८ जिल्लामा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाउन पाउनेछन्। विद्यार्थीहरूलाई पनि खोप लगाउन सरकारले प्राथमिकतामा राखेको छ। मनाङ, मुस्ताङलगायत जिल्लामा भने सरकारले कोरोनाविरूद्ध खोप लगाइसकेको छ।

    पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका काठमाडौंका मानिसलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्रामा खोप लगाइनेछ। पहिलो मात्रामा करिब दुई लाख ४० हजारले भेसोसेल खोप लगाए पनि दोस्रो मात्राको खोप लगाउन पाएका थिएनन्।

    उता विद्यालयहरूमा भौतिक उपस्थितिमा तत्कालै अध्यापन सुरु गर्ने या नगर्ने विषयमा बहस चलिरहँदा सरकारले १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने बताएको छ।

    स्वास्थ्य मन्त्रालयका सह प्रवक्ताले उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बीबीसीलाई बताए। हालसम्म नेपालले १८ वर्ष भन्दा बढीको उमेर समूहलाई मात्रै कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउँदै आएको छ।

    असोज १ गतेसम्म झन्डै ६१ लाख नेपालीले पहिलो मात्रा र ५५ लाख भन्दा बढीले दुवै मात्रा खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्।

    स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारी भन्छन्, “पुस मसान्तसम्म त्यस्ता खोपहरू आइपुग्ने भन्ने हो तर अहिले हामीले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेका छौँ। हाम्रो कार्य योजनामा १८ र १२ वर्षबीचको उमेर समूह पनि छ।”

    उनले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरिएको भन्दै सुरुमा मोडेर्नाको खोप आइपुग्ने जानकारी दिए। उनी थप्छन्, “यी खोपहरू बालबालिकालाई मात्रै नभई १८ वर्षभन्दा माथिको उमेर समूहका छुटेका जनसङ्ख्यालाई पनि दिने गरी हामी व्यवस्था मिलाउँछौँ।”

    मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहयता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्च (यसै वर्षको फागुन वा चैत)मा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो। उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको बताइन्छ।

    खोप अभियानको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले फाइजर बायोएनजेकको खोप १२ देखि १७ वर्षको उमेर समूहलाई लगाउने विषयमा सकारात्मक ढङ्गले छलफल अघि बढेको बताए।

    पूर्व तयारी सुरु

    उनका अनुसार उक्त समूहलाई खोप अभियानमा पूर्ण रूपमा समेट्नका लागि पूर्व तयारीका कामहरू सुरु भइसकेको बताइएको छ। डाक्टर लाल भन्छन्, “हाम्रो अहिलेसम्मको छलफलमा उक्त खोप आउने मिति नै त तय भइसकेको छैन। तर सन् २०२१ को अन्तिम चौमासिक र सन् २०२२ को पहिलो चौमासिक गरेर दुई चरणमा खोप उपलब्ध हुने भनिएकाले त्यही अनुसार पूर्व तयारीको काम भइरहेको छ।”

    हालसम्म नेपालले कोरोनाभाइरस विरुद्धको अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकास गरिएको खोप, अमेरिकी जोनसन एन्ड जोनसनको खोप र चिनियाँ भेरोसेल खोप प्रयोगमा ल्याएको छ। अधिकारीहरूले १८ वर्षभन्दा माथिको उमेर समूहका वयस्कहरूलाई दिन मिल्ने गरी १ लाख ६ हजार फाइजरको खोप कोभ्याक्स कार्यक्रम मार्फत भित्रने लागेको जनाइएको छ।

    बालबालिकालाई दिने भनिएका फाइजर र मोडेर्ना खोपहरूको भण्डारणका लागि ‘अल्ट्रा माइनस’ अर्थात् अति चिसो तापक्रमका फ्रिजरहरू चाहिने भएकाले तीनको खरिदको प्रक्रिया अघि बढाइएको यसअघि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका थिए। सरकारले असोज मसान्तसम्म कुल दुई करोड पाँच लाख खोप नेपाललाई प्राप्त हुने र त्यसबाट नेपालको जनसङ्ख्याको एकतिहाइलाई खोप दिइसक्ने बताएको थियो।

    मोडेर्ना र फाइजरसहित कुल पाँच करोड २२ लाख मात्रा खोप आगामी माघ महिनासम्म नेपाल ल्याइसकिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा केही महिना अघि जानकारी दिएका थिए।

    के कोरोना खोपले महिनावारीमा असर पार्छ ?

    विश्वका धेरै देशले आफ्ना नागरिकलाई खोप दिइरहेको छ । सामान्यतया कोभिड खोप लिएपछि मानिसहरुमा टाउको दुख्नु, ज्वरो आउनु, एक–दुई दिन सुई लगाएको ठाउँ पाखुरामा दुख्नु आदि असरहरु देखिनु सामान्य हो । तर, खोपकै कारण महिलाको महिनावारी चक्रमा परिरहेको छ भन्ने विषयले महिला तथा किशोरीमा चिन्ता र चासो बढेको छ ।

    अमेरिकामा धेरै महिला तथा किशोरीले कोभिड खोपपश्चात् महिनावारी नियमित नहुने, बढी दुखाइ महसुस हुने तथा अत्यधिक रक्तश्रावको समस्या हुन थालेको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । त्यसैगरी महिनावारी बन्द भएका महिलाहरुको पनि वर्षौंपछि महिनावारी भएको भनी प्रतिक्रिया दिइएका छन् ।

    प्रजनन् स्वास्थ्यमा खोपले अल्प तथा दीर्घकालीन प्रभाव पर्छ या पार्दैन भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको विज्ञहरु बताउँछन् । विज्ञहरुले कोरोना खोपको क्लि‍निकल ट्रायलमा खोपले महिलाहरुको महिनावारी चक्रमा प्रभाव पार्छ वा पार्दैन भन्ने विषयमा पनि परीक्षण गरिनुपर्ने बताएका छन् ।

    महिनावारी महिलाको सम्पूर्ण स्वास्थ्यको महत्वपूर्ण भाग हो । महिलामा महिनावारीको चक्र थुप्रै कारणले अनियमित बन्न पुग्ने चिकित्सकहरुको भनाइ छ । गर्भावस्था, हार्मोनमा गडबडी, संक्रमण, रोग, तनाव, जीवनशैली परिवर्तनले महिनावारीमा फेरबदल हुने हुन्छ । त्यसैगरी कसैलाई धेरै लामो समयसम्म महिनावारी हुने र कसैको थोरै वा कम रगत बग्ने व्यक्तिपिच्छे फरक हुने गर्दछ ।

    धेरैजसो महिलामा महिनावारी चक्र २१ देखि ३५ दिनको हुन्छ । १४ देखि २५ प्रतिशत महिलामा अनियमित मासिक चक्र देखिएको पाइएको छ । त्यो चक्र छोटो वा लामो हुनसक्छ र एकदम बढी र हल्का रगत बग्ने पनि हुनसक्छ ।

    येल स्कुल अफ मेडिसिनका अब्स्टेट्रिक्स, गाइनोकोलोजी तथा रिप्रोडक्टिभ साइसेन्सका प्रमुख डा. ह्युग टेलर भन्छन्– ‘यो बेवास्ता गरिएको एक महत्वपूर्ण विषय हो । मेरो आफ्नै बिरामीहरुबाट खोप लगाएपछि महिनावारिमा फरक देखिएको छ ।’

    उनका अनुसार धेरैमा महिनावारी अनियमित हुनुका कारण विभिन्न हुनसक्छ । महिलाहरुमा आएको परिवर्तन खोपसँग सम्बन्धित छ वा मानिसले जबरजस्ती खोपसँग यसको सम्बन्ध जोडिरहेका छन् भन्ने विषय पनि महत्वपूर्ण रहेको उनी बताउँछन् ।

    खोपले महिनावारीमा असर पार्छ ?

    यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हालसम्म खोपले प्रजनन् क्षमतामा समस्या ल्याउने भन्ने कुनै तथ्य फेला परेका छैनन् । सीडीसीका अनुसार गर्भवती लगायत बच्चाको योजना बनाइरहेका महिलालगायत सबैले कोभिडविरुद्धको खोप लगाउनुपर्छ ।

    अगस्ट ३० मा जारी गरिएको एनआइएसको नेशनल इन्स्टिच्युट अफ आइल्ड हेल्थ एन्ड ह्युमन डेभलपमेन्टको विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को खोपको प्रतिरक्षा प्रतिक्रियाले गर्भामा प्रतिरक्षा कोषहरु र संकेतहरु बीचको अन्तरक्रियालाई प्रभावित गर्न सक्छ, जसले मासिक धर्म चक्रमा अस्थायी परिवर्तन ल्याउँछ । मासिक धर्म परिवर्तन गराउन सक्ने अन्य कारकहरुमा महामारीसम्बन्धी तनाव, महामारीसँगै देखिएको जीवनशैली परिवर्तन र कोभिड–१९ को संक्रमण हुनसक्छन् ।’

    यूके रोयल्यस् कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्टका उपाध्यक्ष डा. जो माउन्टफिल्डका अनुसार महिलाहरुलाई यसबारे चासो हुनु स्वाभाविक हो । उनका अनुसार अहिलेसम्म अस्थायी पविर्तनले मानिसको भविष्यको प्रजनन क्षमताको असर पार्ने वा सन्तान नहुने भन्ने बारे तथ्य फेला परेका छैनन् ।

    ‘कोरोना भाइरसबाट बच्न खोप लगाउन महत्वपूर्ण छ । महिलाहरुले किन यस्तो परिवर्तन महसुस गर्दैछन् भनेर यसबारे अध्ययन हुन जरुरी देखिन्छ,’ उनले भनेका छन् । खोपले असर पुर्‍याउने हो वा होइनमा यकिन नभएका बेला सामाजिक सञ्जालमा यसबारे अफवाह फैलाइएको हुन पनि सक्ने विज्ञहरुको भनाइ छ ।

    नेपाल सोसाइटी अफ अब्स्टेट्रिसिन्यस् एन्ड गाइनोकोलोजिस्टका अध्यक्ष डा. गणेश दंगालले हालसम्म यस्तो समस्या लिएर बिरामीहरु आएको जानकारीमा नआएको बताए । ‘कोभिड खोप सुरक्षित रहेको र यसले महिनावारीमा कुनै फरक पार्दैन,’ उनले भने, ‘अरु कारणले गडबडी हुनसक्छन् । त्यसैले कोभिड खोपले होला भन्ने छ । अध्ययनहरुमा महिनावारी गडबड गरेको अध्ययनले पुष्टि गरिसकेका छैनन् । त्यसैले डराउनुपर्दैन ।’

    नर्भिक अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. रंगीना लाईकंगबमका अनुसार पनि हालसम्म ओपीडीमा यस्तो समस्या लिएर कोही आएका छैनन् । डा. रंगीना भन्छिन्– ‘महिनावारी गडबडी विभिन्न कारणले हुनसक्छन् । खोप लगाएका बेला संयोगवश पछि केही असर होला । रिसर्च पेपरहरुहरु पुष्टि भएर आइसकेका छैनन् त्यसैले यसमा यसै कारण भन्न सकिन्न ।’

    खोप विज्ञ श्याम उप्रेतीले पनि अहिलेसम्मको डकुमेन्टेसन अनुसार खोपले महिनावारीमा असर पर्छ भन्ने कुरा नआएको दाबी गरे । ‘महिनावारी भएका बेला पनि खोप लिन सकिन्छ । समयअनुसार पछि अध्ययन होला । खोप लगाउनु महत्वपूर्ण कुरा हो,’ उनले भने ।

    समस्या अस्थायी हुनसक्छन्

    ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भ्याक्सिन र फ्लुले महिनावारी चक्रमा प्रभाव पार्ने तथ्य फेला परेका त छन् । तर, तिनले दीर्घकालीन रुपमा असर गर्दैनन् । साथै यी खोपले प्रजनन् क्षमतामा पनि असर नपार्ने बताइएको छ । हालसम्म खोप तथा महिनावारी चक्रमा असर पार्ने भनेर कुनै यकिन सम्बन्ध देखिएको छैन । जनस्वास्थ्य विज्ञहरु खोप एकदम सुरक्षित तथा महामारीलाई अन्त्य गर्न महत्वपूर्ण रहेको बताउँदै आएका छन् । खोप र महिनावारीको असरबारे वैज्ञानिक अध्ययनहरु अहिलेसम्म प्रकाशित भइसकेका छैनन् ।

    इम्पेरियल कलेज लन्डनकी स्त्रीरोग विशेषज्ञ डा. भिक्टोरिया मेल भन्छिन्– ‘खोप तथा भाइरल संक्रमणले रोगप्रतिरोधी क्षमतालाई प्रभाव पार्ने भएकाले यसले अस्थायी रुपमा महिनावारी चक्रमा असर पार्ने हुन्छ । त्यसलै पनि यसको अध्ययन महत्वपूर्ण रहेको छ ।’ उनका अनुसार यदि कुनै परिवर्तन देखा परी हाले पनि ती अस्थायी हुन्छन् र तिनले हानी पुर्‍याउँदैनन् ।

    ‘धेरैजना जसले कोभिड खोपपछि महिनावारी चक्रमा परिवर्तन देखिएको समस्या लिएर आएका छन् उनीहरुले केही समयपछि फेरि सामान्यमा फर्किएको बताएका छन्,’ उनले भनिन्, ‘साथै अहिलेसम्म कोभिड खोप लगाएपछि यसले प्रजनन क्षमतामा प्रतिकूल प्रभाव पार्ने भनेर तथ्य फेला परेकै छैन ।’‍

    अमेरिकाले यसबारे अध्ययन गर्ने

    यूएस नेशनल इस्टिच्युट अफ हेल्थको समन्वयमा ५ वटा संस्थाले महिनावारी र खोपको सम्बन्धकाबारे अध्ययन गर्ने भएका छन् । कोभिड–१९ को खोपपश्चात् महिनावारीमा पार्ने सम्भावित प्रभावका बारेमा अध्ययन गरिनेछ । यो अध्ययन बोस्टन युनिभर्सिटी, हार्वड मेडिकल स्कुल, जोन्स हप्किन्स युनिभर्सिटी, मिचिगन स्टेट युनिभर्सिटी र ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीले संयुक्त रुपमा अध्ययन गर्ने भएका हन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ