• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    मन्त्रिपरिषद् विस्तार, यी हुन् सपथ खाने मन्त्रीहरु

    7.2K
    SHARES


    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले शुक्रबार दुईजना मन्त्री नियुक्त गरेका हुन् ।

    शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

    तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

    विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

    एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) कुनै सरकारमा सहभागी भएको यो पहिलो पटक हो ।

    यसैबीच यता सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

    शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ ।
    अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य दलसँग एकता नगर्नेसमेत बताएका छन् । उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन् । माओवादी केन्द्र, नेकपा (एस) सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

    तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ । नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन्।

    शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन्।

    उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे। पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए।

    उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन्। हिजो हामीले २०७७ चैत ४ र ५ गतेपश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरू रूपान्तरित भइरहेका छन्। त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन। पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा(एमाले) भित्रको क्रान्तिकारी धारले सुरू गरेको यो पार्टीको नयाँ यात्रा हो। क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आवद्ध भएका छन्। कतिपय मानिसहरू अझै त्यहाँ अल्मलिएका होलान्, असल मानिसहरू पनि भ्रमवश बसिरहेका होलान्। असल भावना भएका मानिसहरू पनि। ती व्यक्तिहरूले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ। उहाँहरूलाई हामी स्वागत गर्नेछौं।’

    अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन पनि आग्रह गरे। उनले व्यवसायीहरूलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन उनको आग्रह छ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।

    ‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौं ।’ उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्‍टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ ।’

    उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । ‘हामी यथार्थ कुरा बोल्ने छौं, त्यत्तिकै सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’ नेपाल राष्ट्र र नेपाली जनता नै आफूहरुको सम्पूर्ण सोच, चिन्तन र व्यवहारको केन्द्र हुने उनले बताए । समाजलाई अग्रगमन र परिवर्तनका दिशामा लैजान लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने उनको भनाइ थियो ।

    लोकतान्त्रिक चरित्र र संस्कारलाई अवलम्बन गर्दै समाजवादतर्फको यात्रामा आफूहरु निरन्तर अघि बढ्ने उनले सुनाए । सामाजिक न्याय, समानता र समृद्धिका लागि अघि बढ्दै विभिन्न आन्दोलनका उपलब्धिको रक्षाका खातिर पार्टीलाई उभ्याउने उनले प्रस्ट पारे ।

    मार्क्सवाद, लेनिनवादमा निष्ठा र आस्था राख्दै जबजको मूल्य र मान्यतालाई आत्मसात गर्दै नेकपा एकीकृत समाजवादी पार्टीलाई सबैखालका दक्षिणपन्थी भासबाट जोगाउन क्रियाशील हुने उनले बताए । अहिले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा विभिन्न विकृति र विसंगति रहेको भन्दै उनले समाज, राजनीति र पार्टीहरूमा भएका सबै खालका विकृति, विसंगति उन्मुलनका लागि दृढताका साथ जुट्ने पनि उनले बताए ।

    पार्टीलाई देशभक्त र स्वाभिमानी शक्तिका रुपमा उभ्याउने दृढता प्रकट गर्दै उनले सर्वहारा वर्गको क्रान्तिकारी पार्टीका रुपमा गतिशील बनाउँदै अघि बढ्ने बताए । ‘यो पार्टी कुनै पद प्राप्ति, निजी स्वार्थको रक्षाका लागि होइन । निजी अहङ्कारबाट प्रेरित भएर अहंकार गर्न पनि होइन,’ उनले भने, ‘हामी देश, जनता र समाजप्रति समर्पित हुन्छौं । शान्ति, मानवअधिकारको पक्षमा हुनेछौं ।’

    निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजी विकास गर्ने लक्ष्य रहेको उनले बताए । नेपाली नमुनाको समाजवाद कस्तो हुनेछ भन्नेबारे बौद्धिक जगतको सुझाव लिइने उनको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ