• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मीनभवनमा किन गरियो रामकुमारी झाँक्रीको खोजी

    17.1K
    SHARES


    काठमाडौँ । मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए-हामी यहाँ छौं ।

    भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा अभाव झल्कियो, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको ।

    पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो । तर कार्यकर्ताको इच्छाअनुसार उनी कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिइनन् ।

    त्यसो भए किन उपस्थित भइनन् रामकुमारी झाँक्री ?

    पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उनलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो– झाँक्री दिदी किन आइनन् ?एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै भइन् । गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताइन् ।

    उनको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए । एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्कोथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे । जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित रहिन् ।

    कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो-उनी काठमाडौं बाहिर रहिछन् । नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेकी छन् । झाँक्रीले आफू पार्टी कामका लागि रूपन्देही रहेको बताइन् । ‘म पार्टी कामका लागि अहिले रूपन्देही भएका कारण पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनँ’, झाँक्रीले भनिन् ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन् ।

    प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको अन्तरक्रियामा उनले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताए ।

    उनले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवं सोचमा परिवर्तन, जनतासँग सम्बन्ध, आचरणमा सुधारमा जोड दिने कुरामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गरे ।

    आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै नेता नेपालले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाए ।

    आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उनले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकारे । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

    त्यस्तै सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी थालेको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।

    २३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ । माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ ।

    यो बीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएर सदन खुलाउने प्रयास गरेका थिए । तर माधव नेपाललाई संसदीय दल (नेकपा एकीकृत समाजवादी) को हैसियतमा बैठकमा बोलाएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।

    सभामुखको पहलबाट प्रतिपक्षीसँग सम्वाद नभएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधि खटाएका हुन । देउवाले सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुन: बालकोट पठाएका हुन् ।

    संसद अधिवेशन आह्वान हुनुअघि पनि देउवाले कार्कीलाई बालकोट पठाएर प्रतिपक्षीसँग सहयोग गर्न आग्रह गरेका थिए । बिहीबार फेरि कानुनमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका हुन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मन्त्री कार्कीले बालकोट पुगेर बिहीबार राति अध्यक्ष ओलीसँग भेटेको जानकारी दिए ।

    भेटमा सदनको गतिरोध अन्त्य गरेर बजेट प्रतिस्थापन विधेयक पारित गर्न सघाउन कार्कीले आग्रह गरेका थिए । ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका छन् । एमालेको अवरोधका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरिसकेको छ । विधेयकलाई अगाडि बढाउन ४ असोजमा संसद बैठक बोलाइएको छ ।

    यता नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका साथीहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताए ।

    उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन् । हिजो हामीले ०७७ चैत्र ४ र ५ गते पश्चात् बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरू रूपान्तरित भइरहेका छन् ।

    त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले)भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो,’ उनले भने, ‘क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आबद्ध भएका छन् । कतिपय मानिसहरू अझै त्यहाँ अल्मलिएका होलान्,असल मानिसहरू पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका साथीहरू ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरूलाई हामी स्वागत गर्नेछौँ ।’ उनले व्यवसायीहरूलाई जलविद्युत्, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गरे ।

    उता संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ ।

    संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी बनेपछि संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने कि नमनाउने भन्नेबारे विवाद देखिएको थियो ।

    गत वर्ष संविधान दिवस कसरी मनाउने भन्नेबारे जसपाभित्र विवाद बढेको थियो । त्यतिबेला जसपाको एउटा पक्ष मौन रह्यो भने अर्को पक्षले सडकमा उत्रिएर संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका थिए । जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

    संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको अवसर पारेर प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेस केन्द्रित दलले यो दिनलाई ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् ।

    तत्कालीन मधेसवादी दलको विरोधका बाबजुद संविधान जारी भएको थियो । संविधान जारी गर्दा उनीहरु संविधानसभामा सहभागीसमेत भएनन् । उनीहरूको सहभागिता बिना नै संविधानसभाको बहुमतले संविधान जारी गरिएको थियो ।

    लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस (३ असोज)लाई कालो दिनका रुपमा मनाउन मातहतका कमिटीमा सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउट लगायत विरोधका कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

    अध्यक्ष ठाकुरको सर्कुलरअनुसार नै विरोधका कार्यक्रम हुने लोसपाका नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमै मनाएको बताउँदै उनले संविधान संशोधन लगायतका मुद्दा सम्बोधन नभएसम्म संविधान दिवसलाई आफूहरुले कालो दिनकै रुपमा मनाउने बताए ।

    ‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीले उठाएका मागलाई सम्बोधन गरेर संविधान दिवसको उत्सवमा हामीलाई पनि सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन,’ उनले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म आन्दोलन जारी रहने छ ।’

    जसपाले के गर्छ ?

    जनता समाजवादी पार्टी नेपाल भने संविधान दिवसका दिन मौन रहने भएको छ । प्रदेश २ सरकारको नेतृत्व गरिरहेको सो दल संघीय सरकारका पक्षमा बनेको गठबन्धनमा आवद्ध छ ।

    जसपाकै नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसका अवसरमा प्रदेश सरकारका तर्फबाट अहिलेसम्म औपचारिक कार्यक्रममा सहभागिता जनाएका छैनन् । उनले संविधान दिवसको विरोध पनि गरेका छैनन् ।

    मुख्यमन्त्री राउतले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको र संविधान संशोधनका लागि संघर्ष जारी रहेको बताए । संविधानप्रति असन्तुष्टि रहेकै कारण आफूहरू संविधान दिवसका अवसरमा प्रदेश सरकारस्तरमा औपचारिक कार्यक्रममा सहभागी हुन नसक्ने उनको भनाइ छ । यद्यपि, मुख्यमन्त्री राउत नेतृत्वकै मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनलाई उत्सवको रुपमा मनाउने भन्दै विविध निर्णय गरेको छ ।

    यसवर्ष पनि संविधान दिवसका दिन आफूहरु मौन बस्ने प्रदेशका कृषि तथा सहकारी मन्त्री विजय यादवले बताए । जसपाका प्रदेश अध्यक्षसमेत रहेका मन्त्री यादवले भने, ‘विगतमा जसरी संविधान दिवसको दिन मौन बस्थ्यौँ, त्यसैगरी यस वर्ष पनि मौन बस्छौँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ