• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सिंहदरबारभित्रका मन्त्री गायब, खोजि गर्दा गर्दै…..

    873
    SHARES


    काठमाडाैं । अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेका कारण सिंहदरबारमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् ।

    महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका अनुसार सिंहदरबारमा दैनिक ६ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । तर, मन्त्रालय मन्त्रीविहीन भएकाले अधिकांश सेवाग्राही रित्तो हात फर्किने गरेका छन् ।

    कास्कीबाट पर्यटनसम्बन्धी काम लिएर बुधबार पर्यटन मन्त्रालयका आएका पेशल आचार्यले २ महिनादेखि आफ्नो फाइल मन्त्रालयमा अड्किएको बताए । उनी भन्छन्, ‘सचिवज्यूले मन्त्री नआई फाइल सदर हुँदैन भन्नुहुन्छ, अझै मन्त्री कहिले आउने हो थाहा छैन, मन्त्री नहुँदा हामीजस्ता सेवाग्राहीले सास्ती झेल्दै छौं ।’

    धेरैवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको नीतिगत फाइल सदर गर्नमै अहिले बढी समय लाग्ने गरेको बताइएको छ । मन्त्री नभएका सम्बन्धित मन्त्रालयका सचिवहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दौड्नुपरिरहेको छ ।

    त्यसै गरी, मन्त्रालयबाट हुने नीतिगत निर्माणमा पर्याप्त छलफलसमेत हुन नसकेको मन्त्रालयकै कर्मचारीहरूको गुनासो छ । उनीहरू भन्छन्– ‘मन्त्री नभएपछि धेरै काम नै हुँदैन, आयो हाजिर गर्‍यो, त्यसपछि घरतिर लाग्यो ।’

    मन्त्रालयमा आउने सेवाग्राहीलाई पनि मन्त्रालयका कर्मचारीले मन्त्री नभएकाले नीतिगत काम हुन नसक्ने भन्दै फर्काउने गरेका छन् । हुन त कर्मचारी महत्वपूर्ण कार्य भए तत्काल नै गर्नुपर्ने फाइल बोकेर प्रधानमन्त्रीज्यू समक्ष पुर्‍याएर सदर गराएर ल्याउने गरेको बताउँछन् । तर, सेवाग्राहीले भने हैरानी खेप्नुपरेको गुनासो गर्ने गरेका छन् ।

    पाल्पाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम लिएर आएको पवन श्रेष्ठले पनि मन्त्रालयमा मन्त्री नहुँदा आफ्नो काम रोकिएको गुनासो गर्दै भने – ‘काम सानो छ, मन्त्री नहुँदा त्यही पनि ठूलो भएर बसेको छ ।’

    यसैबीच गृह मन्त्रालयले मनमौजी पारामा एक दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार १४ सहसचिव र २ उपसचिवको सरुवा गर्दा १२ जिल्लामा सीडीओ फेरिएका हुन् । उपत्यकाका तीनवटै जिल्लामा १ वर्ष अवधि नपुग्दै सीडीओको सरुवा भएको छ ।

    २०७७ मंसिर १० मा काठमाडौंको सीडीओ भएका कालीप्रसाद पराजुलीलाई ९ महिना नबित्दै प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा गृह मन्त्रालयमा रहेका गोविन्दप्रसाद रिजाललाई सरुवा गरिएको छ । २०७७ मंसिर १५ मा भक्तपुरका सीडीओ भएका प्रेमप्रसाद भट्टराई पनि ९ महिना बित्न नपाउँँदै प्रधानमन्त्री कार्यालय सरुवा भएका छन् ।

    उनको ठाउँमा गुल्मीकी सीडीओ रुद्रादेवी शर्मालाई पठाइएको छ । २०७७ पुस ६ मा गृहबाट ललितपुरको सीडीओका रूपमा सरुवा भएका ढुण्डीप्रसाद निरौला ८ महिना नबित्दै गृहमा तानिएका छन् ।

    संखुवासभाका सीडीओ टेकनारायण पौडेललाई ५ महिना बित्न नपाउँदै गृहमा काज सरुवा गरी मन्त्रालयमा कार्यरत नूरहरि खतिवडालाई पठाइएको छ । यसअघि संखुवासभामा सीडीओ उपसचिव तहका कर्मचारी रहेकामा यसपटक सहसचिव खतिवडालाई पठाइएको हो । चितवनमा ६ महिना नपुग्दै सीडीओ प्रेमलाल लामिछानेलाई रक्षा मन्त्रालय पठाएर उनको ठाउँँमा रूपन्देहीका सीडीओ आस्मान तामाङलाई काज सरुवा गरिएको छ ।

    लामिछानेलाई २०७७ फागुन २३ मा गृहबाट चितवन सरुवा गरिएको थियो । गृहमन्त्रीको जिल्लासमेत रहेको रूपन्देहीमा गृहका ऋषिराम तिवारीलाई पठाइएको छ । उदयपुरमा पनि एक वर्ष नपुग्दै सीडीओ तुल्सीराम सेढाईंलाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।

    रामेछापको सीडीओमा २०७७ फागुन २५ मा गौलोचन सैंजुको सरुवा भएकामा उनलाई हटाएर दीपककुमार पहाडीलाई पठाइएको छ ।  २०७७ फागुन १९ मा गोरखा पुगेका शालिकराम शर्मा पौडेललाई हटाएर शंकरहरि आचार्यलाई लगिएको छ ।

    मोरङका कोषहरि निरौला, दोलखाका वासुदेव घिमिरेलगायत केही जिल्लाका सीडीओलाई भने एक वर्ष अवधि पुगेपछि सरुवा गरिएको छ । धेरैजसो जिल्लामा अघिल्लो सरकारको प्राथमिकतामा परेका सीडीओ अहिले मन्त्रालय तानिएका हुन् ।

    सुशासन कायम, अपराध अनुसन्धान तथा नियन्त्रण र मुद्दा मामिलामा अर्धन्यायिक अधिकार प्रयोगदेखि जिल्लाका सबै कार्यालयमाथि नियमन र नियन्त्रणको समेत अधिकार सीडीओमा रहन्छ । सीडीओ गृहमा कार्यरत कर्मचारीका लागि आकर्षक पद हो । सामान्यत: सरुवाको १ वर्ष नभएसम्म सीडीओ हेरफेर नगर्ने अभ्यास छ ।

    निजामती सेवा ऐन २०४९ को दफा १८ र नियमावली २०५० मा एकपटक सरुवा भएका कर्मचारीलाई सुगम जिल्लामा २ वर्ष र दुर्गममा डेढ वर्ष सेवा गर्न दिइने उल्लेख छ । औचित्य, आवश्यकता, विशेष परिस्थिति पुष्टि भए समय अगावै पनि कर्मचारी सरुवा गर्न सकिने व्यवस्था छ ।

    नियमित शान्तिसुरक्षा व्यवस्थापन, कानुन कार्यान्वयन र प्रदेश तथा स्थानीय तहसँग समन्वय, केन्द्र सरकारको प्रतिनिधि मात्र होइन, चुस्त प्रशासनिक सेवा प्रवाहमा समेत महत्त्वपूर्ण भूमिका रहने सीडीओलाई काम गर्न नै नदिएर अस्थिर बनाउन खोजिएको छ । एक वर्ष नपुग्दै सरुवा भएका एक सीडीओले मन्त्री र सचिवको निकट हुन नसक्दा अस्वाभाविक सरुवामा परिएको भन्दै गुनासो गरे ।

    ‘सरुवा स्वाभाविक कि अस्वाभाविक छ भनेर मूल्यांकन त हुनुपर्ला नि,’ सरुवामा परेका ती सीडीओले कान्तिपुरसँँग भने, ‘यसरी नै अस्थिर र तजबिजी अनि निकटताका आधारमा सरुवा हुने हो भने सुशासनको जति नै गफ लगाए पनि बेथिति नियन्त्रण गर्न सकिँदैन ।’ पूर्ववर्ती सरकारका पालामा पनि यस्ता बेथितिपूर्ण सरुवा भएका थिए । त्यसलाई अहिलेको सरकारले समेत निरन्तरता दिएको देखिन्छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सीडीओ सरुवालाई नियमित प्रक्रिया भन्दै अन्यथा लिन नहुने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ