• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दशैंका लागि नयाँ नोट वितरण गर्ने मिति तोकियो

    1K
    SHARES


    काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए ।

    ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

    हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए ।

    तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

    यस्तै दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ ।

    महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर, पछिल्लो समयमा सरकारले निषेधाज्ञा हटाएको छ । तर, बजार भने पूर्ववत रूपमा फर्कन अझै समय लाग्ने व्यवसायीहरूको भनाइ छ । कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस् भन्न खरिदको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

    कम्पनीका अनुसार खसी(बोका १५ सय र च्यांग्रा १५ सय ल्याउने कम्पनीका विभागीय प्रमुख भीम थापाले बताए । गत वर्ष दशैंमा १५ सय नौवटा च्यांग्रा र खसी ल्याइएको कम्पनीले जनाएको छ।

    कम्पनीले उपभोक्ताको मागअनुसार खसी–बोका तथा च्यांग्रा खरिद गर्ने जानकारी दिएको छ । दशैं नजिकिइसक्दा पनि मूल्य निर्धारणमा भने अलमल भइरहेको छ । विभागीय प्रमुख थापा भन्छन्, ‘ उपभोक्तालाई मार नपर्ने गरी मूल्य निर्धारण गरिन्छ, बजारको भन्दा सस्तोमा नै दिन्छौँ । अहिले कारोना महामारीले सबै किसान प्रभावित भएका छन् । त्यसैले, किसानको लागतअनुसार मूल्य निर्धारण गर्छौँ ।’

    उनले अहिले बजारमा डिजेलको भाउ पनि बढ्दै गएकाले ढुवानी खर्च पनि बढ्ने भन्दै सो कुरालाई ध्यानमा राखेर मूल्य तोकिने बताए । गत वर्ष खसी–बोका प्रतिकेजी पाँच सय ५० रुपैयाँ तोकिएको पनि उनले बताए । उपत्यकामा खसी–बोका तथा च्यांग्रा मुस्ताङ, मकवानपुर र दाङका किसानबाट खरिद गरिने जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया