• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अध्यक्ष ओलीले भने- सभामुखलाई हान्ने योजना…

    890
    SHARES


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना नभएको बताएका छन् । बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् ।

    तर संसदीय दलको आइतबार बसेको बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष ओलीले त्यसको खण्डन गरे । ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन’, उनले भने ।

    ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उनले बताएका छन् । तर पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।

    शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार संसदीय दलको बैठक राखेको थियो ।

    बैठकमा अध्यक्ष ओलीले संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै उनले भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

    उनले अघि भने, ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानु हुँदैन ।’

    सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् । आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए ।

    ‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

    सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए । सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।

    तर एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया