• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    एमसीसीविरुद्ध नेकपाले आज देशभर कति ठाउँमा गर्यो जनप्रदर्शन ?

    628
    SHARES

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी खारेजीको माग गर्दै देशभर जनप्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्णय अनुसार नेकपाले देशका विभिन्न जिल्लाहरुमा ब्यापक प्रदर्शन गरेको जनाएको छ ।

    यस्तै कलिकोटले एमसीसी परियोजनाको खारेजीको माग राख्दै सदरमुकाम मान्मामा जनप्रदर्शन गरेको छ । मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको र्याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगि जनसभामा परिणत भएको थियो ।

    उक्त जनसभालाई जिल्ला इन्चार्ज विराटले सम्बोधन गरेका थिए । साथै जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिप, नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटका सेक्रेटरी कर्ण बिसी, नेकपा माओवादी केन्द्र समाजवादीका सागरले सम्बोधन गरेका थिए ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसीसी परियोजना पास गरिए ठूलो जनबिद्रोह हुने ठोकुवा गरे । ठूला राजनीतिक दलका नेताहरु सबै दलालमा परिणत भैसकेकाले यो व्यवस्था राजनीतिक दल र यिनीहरुले चलाइरहेको व्यवस्था पनि दलाल र राष्ट«घाती भएकाले विकल्पमा जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने बताए।

    वैज्ञानिक समाजवाद नआएसम्म न त राष्ट्रिय स्वाधिनताको ग्यारेण्टी हुन्छ न त जनतामा शान्ति सुरक्षा, गाँस, बास, कपास नै, पूरै देशघातीहरुको हालीमुहाली हुने भएकाले देशभक्त प्रगतीशिलहरुको मोर्चा आवश्यक भएको धारणा राखे ।

    यस्तै उता झापामा पनि नेकपाले बृहत् विरोध प्रर्दशन गरेकाे छ । पूर्वघोषित कार्यक्रम अनुसार जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेकाे हो ।

    नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका नेकपाका कार्यकर्ताहरुले शान्तिपूर्ण र्याली प्रर्दशन गर्दै राष्ट्रघाति एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधनिताको रक्षा गर, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नाराबाजी गरेका थिए । प्राधिकरण अगाडीबाट सुरु भएको र्याली सदरमुकामको सरकारी कार्यालय हुँदै लेखनाथचोक, चन्द्रगढी बजार परिक्रममा गर्दै कृषि बैंक अगाडी आएर कोणसभामा परिणत भएको थियो ।

    कोणसभा बोल्दै नेकपाका जिल्ला सचिव तारा थापा (प्रशान्त)ले एमसीसी राष्ट्रघाति सम्झौता भएको भन्दै यसकोविरुद्ध सबै जनता सडकमा उत्रिनु पर्ने बताए । देशका नेताहरुलाई राष्ट्रको ढुकुटी लुटेर नपुगेको आरोप लगाउँदै उनले भने, ‘जनताबाट चन्दा संकलन गरेर नेतालाई सहयोग गरौंला, तर राष्ट्रघाति सम्झौता कुनै पनि हालतमा गर्न दिँदैनौं ।’

    राष्ट्र जनजागरण मञ्च नेपालका केन्द्रीय संयोजक सुरेन्द्र कार्कीले समाजवाद र प्रजातन्त्रको नारा लगाएर सरकारमा गएको काँग्रेस आज सत्तामा पुगेपछी देश बेच्न लागी परेको आरोप लगाए । उनले एमसीसी सम्झौता इष्टइण्डीया कम्पनीको नमुना रहेको भन्दै अमेरिकाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्न लागि परेको उल्लेख गरे ।

    यस्तै नेकपा पाल्पाले एमसिसी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेकपाले जिल्लाको रिब्दिकोट गाउँपालिका देउरालीमा आज विरोध सभा सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका रिब्दिकोट गाँउपालिका इन्चार्ज आकाशले एमसिसी सम्झौता कुनै पनि हालतमा पास गर्न नहुने बताए ।

    नेपालमा एमसिसी पास भएमा नेपाली देश र जनता पराधिन हुने भन्दै एमसिसी नेपालमा कुनै पनि हालतमा पारित गर्न नहुने बताए । कोणसभाको संचालन नेपाल कम्युनिष्ट पार्टीका रिब्दीकोट गाउँपालिका सचिव राजीवले गरेका थिए ।

    यस्तै नेकपा धादिङले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विरोध सभा सम्पन्न गरेको छ । नेकपाको साताव्यापी केन्द्रीय कार्यक्रम अनुसार सदरमुकाम धादिङबेशीमा विरोध सभा गरेको हो । बिरोध सभामा नेकपा धादिङका पुर्व जिल्ला इन्जार्च तथा विशेष समिति सदस्य रामबहादुर श्रेष्ठले अमेरिकाले नेपाललाई इन्डोप्यासिपिक सैन्य रणनीति अनुसार नेपालमा भारत चीनका बीचमा बसेर नेपाललाई सैन्य अखडा बनाउँन खोजेको भन्दै एमसीसीलाई खारेज गर्नुपर्ने बताए ।

    उनले अमेरिका जुनजुन देशमा पुगेको छ, त्यहाँ बिगारेको मात्र इतिहास छ नेपाललाई पनि आफ्नो सैन्य रणमैदान बनाउँन अमेरिकी साम्राज्यवादले एमसीसीको नाममा नेपाल छिर्न खोजेकाले सबै नेपाली सचेत रहनुपर्ने कुरामा जोड दिए ।

    यसैगरी बिरोध सभालाई सम्बोधन गर्दै नेकपा धादिङका सेक्रेटरी सुमन क्षेत्रीले एमसीसीलाई कुनै पनि हालतमा नेपालमा आउन नदिन सबै राष्ट्रप्रेमी जनसमुदायहरूले राष्ट्रघाती एमसीसी परियोजना बहिष्कार गर्नुपर्ने बताए । उनले सहयोग लिदिनु पर्यो भन्दै नेपालका संसदवादी राजनीतिक पार्टीका घरघरमा मिलिनियम च्यालेन्ज कर्पोरेसन परियोनाकी उपाध्यक्ष फतिमा सुमार चाहारी रहेको भन्दै त्यो भित्र ठूलो रहस्य लुकेकाले सबै नेपाली जनताहरू सचेत हुनुपर्ने बेला आएको बताए ।

    उक्त बिरोध सभालाई पार्टीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागरले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सदस्य विरोचनले गरेका थिए ।

    यस्तै नेकपा नवलपुरले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो ।

    विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा जिल्ला सदरमुकाम कावासोतीमा, जिल्ला सेक्रेटरी शितलको नेतृत्वमा झ्यालबासमा, जिल्ला सदस्य विशालको नेतृत्वमा चोरमारामा र युवा सङ्गठनका जिल्ला अध्यक्ष अविनाशको नेतृत्वमा दलदलेमा छुट्टाछुट्टै रुपमा सम्पन्न भएको कार्यक्रममा ठूलो सङ्ख्यामा नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

    पछिल्ला दिनहरूमा संसदवादी दलहरूले एमसीसी परियोजना अगाडि बढाउन खोजे लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आह्वान् गरिएका कार्यक्रमहरूमा देशभक्त, राष्ट्रवादी नागरिकहरूको उपस्थिति र समर्थन दिनदिनै बढ्दै गइरहेका छन् ।

    यस्तै नेकपा दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन सम्पन्न गरेको छ । जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एमसीसी साझौता चीनप्रति लक्षित सैन्य परियोजना भएको बताएका छन् ।

    उनले अमेरिकी साम्राज्यवादले एमसीसीमार्फत चीनमाथि आक्रमण गर्ने र नेपालमा भएको बहुमूल्य धातु युरेनियम कब्जा गर्ने रणनीति लिएको समेत बताए । नेता शितलले एमसीसी पास गर्ने सांसदहरूलाई जनताले गाउँगाउँबाट लखेट्ने उद्घोष गरे । लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतीय अतिक्रमण र एमसीसीमार्फत देशलाई रणमैदान बनाउने अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध चुइक्क बोल्न नसक्ने बिदेशी दलालहरूका विरुद्ध आफूहरू निर्मम बिद्रोह गर्ने नेता शितलको भनाई थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य किरणले आफ्नो पार्टीमाथि राज्यले प्रतिबन्ध लगाएर ठूलो भुल गरेको बताए । उनले भने, “राज्यले हामीमाथि बिनाकारण प्रतिबन्ध लगायो र तीनबुँदे सहमति गर्न बाध्य भयो ।” नेता किरणले राष्ट्रघाती एमसीसी साझौताका पक्षमा हस्ताक्षर गर्ने सांसदहरूको औला काटिदिने चेतावनीसमेत दिए ।

    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका केन्द्रीय सदस्य रुद्रले एमसीसी सम्झौता पास गरे यो देशका शासकहरूको हालत अफगानिस्तानका शासक घानीको जस्तो हुने बताए । नेता रुद्रले बरु बलिदान गर्न तयार रहेको तर एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुन नदिने उद्घोषसमेत गरे ।

    बिरोध प्रदर्शन कार्यक्रम तुलसीपुर बजारका विभिन्न चोकमा र्यालिसहित परिक्रमा गर्दै सभामा परिणत भएको थियो । एमसीसी सम्झौताविरुद्धको बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उप-महानगर इन्चार्ज बिकाशले गरेका थिए ।

    यस्तै नेकपा दाङले जिल्लाको भालुबाङमा पनि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त बिरोध कार्यक्रमलाई सम्बोधन नेकपा बिशेष कमिटी सदस्य बिक्रम, नेकपा गढवा-राजपुर गाउँपालिका इन्चार्ज सुरज र सहिद परिवार समाज राप्ती ब्युरो इन्चार्ज धर्तीले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेकपा जिल्ला कमिटी सदस्य दानबहादुरले गरेका थिए ।

    यस्तै नेकपा सर्लाहीले बरहथवा बजारमा एमसीसीविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज बिचारमान, अखिल नेपाल ट्रेड युनियन महासङ्घ जनकपुर ब्यूरो संयोजक बिहानी लगायतका नेताहरूको उपस्तिथिति रहेको थियो ।

    केन्द्रीय सदस्य मिसनले देश सङ्कटमा रहेको र राष्ट्रघातीहरूलाई सडकमा ल्याउनुपर्ने बताए । उनले अबको एमसीसीविरुद्ध सबै नागरिक आन्दोलनमा आउन अपिलसमेत गरे । एमसीसीका उपाध्यक्ष फतिमा सुमार एमसीसीको दलालहरूको घरघर, कोठाकोठा घुमि हिनेकोबाट नै प्रष्ट हुन्छ कि एमसीसी राष्ट्रघाती छ । अनुदान भए किन जबर्जस्ती ? उनले भने ।

    त्यसैगरी सेक्रेटरी कमलले एमसीसी राष्ट्रघाती भएकोले खारेजी गर्नुपर्ने बताए । ब्युरो इन्चार्ज बिचारमानले केपी ओली र वर्तमान प्रधानमन्त्रीले अमेरिकाकै नागरिकता लिनु बेस रहेको बताए । साथै उनले नेपालमा बसेर नेपालको राष्ट्रियता बेच्ने छुट नरहेको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया