काठमाडौँ । भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए । संसदको मिडिया सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले संघीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै छ ।
संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्ने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान गरेकी थिइन्।
सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ। संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि कार्यसूचीमा छन्।
साउन ३२ मा सरकारले अधिवेशन अन्त्य गरेको थियो। त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेशअनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन्।
प्रतिक्रिया