• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized राजनीति समाचार

    ओलीको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    8.9K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । आदेशअनुसार १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

    सर्वोच्चले मागबमोजिम अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेशमा निर्णय गर्न २८ भदौमा दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।माधव नेपालसहित १४ सांसदलाई कारबाही सिफारिस सभामुखले अगाडि नबढाएको र अवैध रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    त्यसैगरी, लुम्बिनीका दुर्ई प्रदेश सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध ओलीले रिट दायर गरेका थिए ।

    रिटको सुनुवाइका क्रममा बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले सांसद निष्कासन र लुम्बिनी प्रदेशसभाका दुईजना सांसदको विषयमा छलफलका लागि झिकाएको जानकारी दिए ।

    ‘पार्टी दर्ताका लागि संख्या पुगेको हो कि हैन भनेर पूर्ण सुनुवाइका लागि निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग्ने र लिखित जवाफको तीन दिनभित्र पेसी तोक्ने भनेको छ, बडालले भने ।

    यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताए । ‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ ।

    एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन्’ ओलीले भने ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’

    उनले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गरे ।

    ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’, ओलीको भनाइ छ । उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’

    ओलीले भने, ‘अहिले एउटा बेसरम व्यक्तिको नेतृत्वमा एमालेलाई समाप्त पार्ने अभियान चलिरहेको छ ।’ नेकपा एमालेका नेता कार्यकर्ता खान मात्रै होइन देश बनाउने सोचमा भएको भन्दै उनले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रीत र स्वार्थकेन्द्रीत व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिएको बताए ।

    ‘कोही भाइभतिजावाद र कोही छोरी,ज्वाइँ बुहारीका लागि मरिमेट्ने । पार्टीभित्रै विभिन्न प्रकारका स्वार्थी र पदलोलुप, महत्त्वाकाङ्क्षी प्रवृत्ति हाबी भएको थियो कि देश, जनता सुशासन, विकासको बारेमा छलफल नहुने अहिले त छोडेर गए’, ओलीले अहिले जनता जागेको देखेर आफू उत्साहित भएको बताए ।

    काँग्रेसको विघटन सदर, एमालेको बदर

    पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । तर उनले अदालतले फैसला गरेपछि मान्नुपर्ने अवस्था रहेको बताए । ‘अदालतले त जे फैसला गरे पनि मान्नुपर्छ । सबैलाई थाहा छ । मान्नुपर्ने भएपछि अदालतले पुनर्स्थापना गर्दियो’, ओलीको भनाइ छ । तर संविधानमा जेसुकै लेखिए पनि अदालतको आफ्नै नियम भएको व्यङ्ग्य गरे ।

    ‘काँग्रेसले विघटन गर्‍यो भने सदर एमालेले विघटन गर्‍यो भने बदर । यो पहिलेदेखि हो । मनमोहनले विघटन गरे शेरबहादुर प्रधानमन्त्री, फेरि अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश’, अदालतप्रति ओलीको कटाक्ष छ । उनले ५२ सालमा पनि अदालतले नै मनमोहनलाई हटाएको ओलीको दाबी छ ।

    यस्तै एमालेले एमसीसीबारे तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । बुधबार संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले एमसीसीबारे पार्टीले धारण सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

    विगतदेखि नै ओली पक्षमा रहेका सांसदहरूले जनताले ‘एमसीसी चाहिँदैन’ भनिरहेका बेला एमालेले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग उठाएका थिए ।

    कृष्णभक्त पोखरेल, महेश बस्नेत, गंगा चौधरीलगायतका सांसदले एमसीसीबारे पार्टीले स्पष्ट धारणा व्यक्त गर्नुपर्ने बताएका हुन् । सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा एमसीसी प्रस्ताव आए गम्भीरतापूर्वक छलफल गरेर धारणा बनाउने बताए ।

    उनले सम्झौता आफूहरूले नगरेका कारण पास गर्ने जिम्मा आफूहरूको नभएको बताए । उनले भने,‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं ।’

    बैठकमा उपाध्यक्ष भीम रावलले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने धारणा व्यक्त गरेका थिए । उनले एमसीसी नेपालको कानुन र संविधानभन्दा माथि हुने गरी पास गर्न नहुने बताए । उनले एमसीसी कसरी नेपालको संविधान र कानुनभन्दा कसरी माथि छ भन्ने कुरा प्रमाणित हुने कागजात उपलब्ध गराउने बताएका थिए । अध्यक्ष ओलीले रावलले उपलब्ध गराउने कागजातको अध्ययनपछि धारणा बनाउने पनि बताएका थिए । उनले भने, अहिले हावामा कुस्ती नखेलौँ, सत्तारूढ दल कसरी प्रस्तुत हुन्छ त्यसपछि धारणा बनाउँला ।’

    प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउन दृढ छन् । तर, गठबन्धन घटकहरूको विश्वास लिन उनलाई सकस भइरहेको छ । तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले सम्झौतामा संशोधन, सुधार र परिमार्जन भए मात्र अगाडि बढाउन सकिने सुझाव दिएको थियो ।

    तर, खनालसँगै एमसीसीको विरोधमा उत्रिएका भीम रावल र प्रतिवेदनमा फरक मत लेख्ने प्रदीप ज्ञवाली एमालेमै छन् । तत्कालीन प्रधानमन्त्री ओलीले भने एमसीसी आफ्नै पालामा अनुमोदन गराउन पहल गरेका थिए । तर, पछिल्लो समय भने ओली खुलेर बोलेका छैनन् ।

    खनाल कार्यदलले एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजीसँग सम्बन्धित भएको भन्दै त्यस्तो सम्बन्ध नहुने सुनिश्चित हुने गरी नेपाल र अमेरिकाबीच औपचारिक पत्राचारद्वारा प्रस्ट पार्न कार्यदलको सुझाव दिएको थियो । एमाले विभाजनसँगै नेता खनाल अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    ‘जेठ २ जस्ताको तस्तै फर्किन्‍न’

    ओलीले पार्टी ०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै नफर्किने बताएका छन् । एमाले कास्कीद्बारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे पनि समस्या खडा गर्न नभई समस्या समाधान गर्नका लागि गरिएको बताए ।

    नेकपाको दर्ता बदर भएपछि नेकपा (एमाले) र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ,’ उनले भने, ‘प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ । यो पार्टीको अहिलेको नाम नेकपा (एमाले)को हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो ।’

    उनले कतिपय ठाउँमा विनासित्ति जेठ २ को प्रसंग ल्याउने गरेको बताउँदै जेठ २ भनेको श्राद्धमा विरालो बाँधेजस्तो नभएको उल्लेख गरे । ‘यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन,’ उनले थपे, ‘हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।’

    उनले १० बुँदेलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेकालाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाउने भएकोले यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गरे । ओलीले आगामी चुनावमा जित्ने गरी सहज रुपमा अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए । ‘सजिलोसँग कामलाई अगाडि बढाउनुहोस् । तनावग्रस्त नहुनुहोस् । भारी मनका साथ नचल्नुहोस् । जुनसुकै कुराका लागि सहज तरिकाले चल्नुहोस्’, उनको निर्देशन दियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया