• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवा सरकारले कसलाई दियो जेल हाल्ने चेतावनी ?

    1.1K
    SHARES


    काठमाडौँ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिबिधिको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिबिधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

    नेपाली युवा जयसिंह धामी तुइनबाट तर्नेक्रममा तुइन नै काटेर धामीको हत्या गर्ने एसएसबीको बारेमा एक शब्द नबोल्ने र उल्टै समाचार नलेख्न आदेश जारी गर्ने सरकारले फेरि एमसीसीको बारेमा चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।

    अमेरिकी सरकार र एमसीसी परियोजनाका बारेमा नामै नलिइ धम्कीपूर्ण भाषामा लेखिएको विज्ञप्तिमा धेरै चासो जनाएका छन। सरकारले विज्ञप्ति निकाल्नु केहीदिन यता एमसीसीको बारेमा चाैतर्फी बिरोध भैरहेको छ । नागरिकहरूले सामाजिक सञ्जालमा गो ब्याक एमसीसीको नारा घन्काउन थालेका छन ।

    नागरिकको अभिव्यक्ति स्वतन्त्रता र व्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका विषयमा विगतमा नागरिक समाज र नागरिक अधिकारको गफ दिँदै सडकमा निस्कने कथित नागरिक समाजका सदस्यहरूले केही प्रतिक्रया दिएका छैनन् ।

    त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी मुलुक चीनसँग सीमा विवाद नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन । यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु , यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’

    देउवा सरकारले हालै चीनसँगको सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिबको संयोजकत्वमा एक समिति बनाएको छ । सरकारले हुम्लाको नाम्खा गाउँपालिकादेखि हिल्सासम्मको सीमा विवादबारे अध्ययन गर्न समिति बनाएको छ । यही विषयमा पूर्वप्रधानमन्त्री ओलीले प्रतिक्रिया दिँदै सीमा विवाद नरहेको ठोकुवा गरेका हुन् ।

    एक वर्षअघि नाम्खामा चीनले सीमा मिचेको सार्वजनिक भएपछि पनि तत्कालीन ओली सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । तर तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले स्थलगत अवलोकन गरी चीनले नेपाली भूमि मिचेको प्रतिवेदन दिएको थियो । नेता शाहीले शनिबार पनि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै चीनले सीमा मिचेको दावी गरेका छन् ।

    देउवा सरकारले चीनसँगको सीमा विवादबारे अध्ययन गर्न समिति बनाएपछि त्यसको पक्ष विपक्षमा प्रतिक्रियाहरु आइरहेका बेला शनिबार ओलीले पनि त्यसको विरोध गरेका हुन् । ओलीले भारतसँगको सम्बन्ध पनि यो सरकारले बिगारेको आरोप लगाएका छन् ।

    उनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे देउवा सरकारले नबोलेको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्, ‘बोल्दै बोल्दैनन्, एमीसी के गर्ने हो ? बोल्नु पर्दैन, प्रचण्डले बोल्नु पर्दैन, देउवाले बोल्नु पर्दैन । चुपचापसँग एमसीसी पारित गर्ने नियत देखिएको छ ।’

    भेलामा आफ्नो पार्टीको विभाजबारे बोल्दै अध्यक्ष ओलीले आफूले गलत मानिसहरुलाई चुनावमा टिकट दिँदा यो समस्या आएको बताएका छन् । उनले गलत मानिसहरु सांसद भएर आएकोसमेत बताएका छन् । उनले आफ्नै पार्टीको सरकारलाई भोट नदिएर बहिस्कार गरेकोसमेत बताएका छन् । उनले भनेका छन्, ‘हाम्रै पार्टी सूर्य चिन्हबाट चुनाव जितेका नेताहरु नै राष्ट्रपति कहाँ पुगे, सर्वोच्चमा देउवालाई प्रधानमन्त्री तोकिपाउँ भनेर हाम्रै पार्टीका भनिएका नेताहरु गए ।’

    माधव नेपाल र बामदेवको आलोचना

    ओलीले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र एमाले परित्यागको घोषणा गरेका बामदेव गौतमको पनि आलोचना गरे । नेता नेपालले प्रधानमन्त्री हुन राजालाई दाम चढाएको भन्दै उनले भने, ‘सुन्दा पनि बेइज्जत, कहिले ‘प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’

    २०६४ सालको संविधानसभा निर्वाचनमा २४० सिटमा एमालेलाई ३३ सिटमा सीमित गरेपछि मुख देखाउन नसक्ने स्थिति भयो भनेर पार्टीबाट राजीनामा गरेको, तर अहिले यो पुगेन, त्यो पुगेन भनेर विवाद झिकेको उनको आरोप छ । ओलीले अघि भने, ‘हाम्रा घरका बिरालाहरु शेरबहादुर देउवाको घरमा देखिन्छन् । दूधभात खान पाइन्छ भनेर म्याउ गरेर गएछन् ।’

    गौतमलाई भने उपप्रधानमन्त्री हुन आफूलाई गाली गर्दै एमाले छाडेको आरोप लगाए । ‘कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, हामीलाई सम्मान गर्नुभएन । त्यसकारण तपाईंको पार्टी छोडेँ,’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाऊँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ओलीलाई गाली किन गर्ने ?’

    थकाई मार्न हिँडे- आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै सम्बोधन सुरु गरेका एमाले अध्यक्ष ओलीले विट मार्दा पनि त्यहीँ पुगे । धेरै नै थकित भएर ज्वरो आएको भन्दै उनले भनेका छन्, ‘मैले एक दुई दिन चाहिँ धेरै थकित नहुनु पर्नेछ । अलि थकाई मार्नुपर्छ भन्ने डाक्टरको सल्लाह छ । म यहाँहरुसँग विदा लिन्छु र अहिलेलाई थकाई मार्न हिँडेँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया