• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    यी हुन् काठमाडौँ उपत्यकामा गर्न नपाइने काम

    1.2K
    SHARES


    काठमाडौँ । कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा अब औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।

    उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा लगभग हटाउने सरहकै निर्णय गरेको छ । आजदेखि लागु भएको परिमार्जित निषेधाज्ञामा अब सबैजसो क्षेत्र खुला भएका छन् ।

    नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने छ । यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत आदेशमा उल्लेख गरिएको छ । स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाउँदै संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

    सर्वसाधारण, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइने छैन ।

    सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ स्थानीय तथा प्रशासन ऐन, २०२८ अनुसार काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले उक्त आदेश जारी गरेका हुन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

    के हो ‘स्मार्ट लकडाउन’ ?

    स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्दै सीमित रुपमा भएपनि आर्थिक–सामाजिक जीवनका गतिविधिहरु क्रमशः अगाडि बढाउने विभिन्न विकल्प र उपायहरु समेटिएको मोडेल नै ‘स्मार्ट लकडाउन’ हो ।

    यो लकडाउन विज्ञान, प्रविधि, वाणिज्य, कला र व्यवस्थापनमा आधारित पद्धति र अवधारणा भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ‘स्मार्ट लकडाउन’ सम्बन्धी कार्यविधि–२०७८ मा उल्लेख गरिएका संक्रमण मूल्यांकन सूचकका आधारमा ‘स्मार्ट लकडाउन’का लागि स्तर निर्धारण गरिने छ ।

    केन्द्रका अनुसार संक्रमणको चुनौती मापन गर्दा संक्रमण दर, संक्रमणको उतारचढाव, नयाँ संक्रमण संख्या, अस्पताल भर्ना प्रतिशत र मृत्यु दर समेतका सूचकहरुको अलावा देखा पर्न सक्ने नयाँ भेरियन्ट र त्यसको प्रभाव समेतको आधारमा मूल्यांकन गरिने छ । यस्तो मूल्यांकनबाट संक्रमणको चुनौतीलाई क्रमशः अति उच्च, उच्च, मध्यम र न्यून गरी चार तहमा वर्गीकरण गरिएको छ ।

    लकडाउन पनि क्रमशः पूर्ण, मिश्रति, खुकुलो र न्यून गरी चार स्तरमा कायम गरी आधारभूत सेवा, औद्योगिक उत्पादन, कृषि र अत्यावश्यक आपूर्ति लगायतका आर्थिक तथा सामाजिक गतिविधिहरु उपयुक्त ढंगमा सञ्चालनको अवस्था सिर्जना गरिने छ ।

    ‘स्मार्ट लकडाउन’मा विद्यालय खोल्ने प्रावधान के छ ?

    कार्यविधिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापको आधार निर्धारण गरिएको छ । कडा (हार्ड) लकडाउन, मिक्स लकडाउन, सफ्ट लकडाउन र मिनिमल लकडाउनका आधारमा केन्द्रले निर्धारण गरेका क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापहरु सञ्चालन गर्न पाउनेछन् ।

    कार्यविधिमा नसमेटिएका क्षेत्र, उपक्षेत्र तथा क्रियाकलाप सञ्चालन गर्नुपरेमा डीसीसीएमसीको सिफारिसको आधारमा सीसीएमसीले निर्णय गरेबमोजिम हुनेछ ।

    जोखिम स्तर गम्भीर, संक्रमण फैलन स्तर ठूलो मात्रा, लकडाउनमा अपनाइने कडा रणनीति र जनस्वास्थ्यको मापदण्ड कडाभन्दा कडा पालना गर्नुपर्ने अवस्था आएमा ‘हार्ड (कडा) लकडाउन’ गर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थामा जोखिमको संकेत रातो (रेड) हुनेछ । यो लकडाउनको समयमा शैक्षिक संस्था भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।

    जोखिमको स्तर उच्च, संक्रमणको स्तर उल्लेख्य, लकडाउनमा अपनाइने रणनीति नियन्त्रणमुखी र मापदण्ड पालना इन्टरमेडियटको अवस्थामा ‘मिक्स लकडाउन’ गर्नुपर्ने उल्लेख छ । यस्तो लकडाउनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शैक्षिक संस्थामा प्रशासनिक कार्य मात्र गर्न पाइने छ । मिक्स लकडाउनमा जोखिमको संकेत गाडा पहेंलो (एम्बर) हुनेछ ।

    जोखिमको संकेत पहेंलो (एल्लो) भएको अवस्थालाई ‘सफ्ट लकडाउन’ भनिएको छ । संक्रमणको जोखिम स्तर मध्यम, संक्रमणको स्तर मध्यम, लकडाउनमा अपनाइने रणनीति संरक्षण र मापदण्ड पालना कडाइको अवस्थामा ‘सफ्ट लकडाउन’ गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कूल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने छ । तर कक्षा सञ्चालनका लागि स्थानीय तहको सिफारिसमा डीसीसीएमसीले स्वीकृति दिएको हुनुपर्ने छ ।

    जोखिमको संकेत हरियो (ग्रीन) भएको अवस्थालाई ‘मिनिमल लकडाउन’ भनिएको छ । यो लकडाउन गर्नुपर्ने अवस्थामा संक्रमणको जोखिमस्तर न्यून, संक्रमणको स्तर न्यून, लकडाउनमा अपनाइने रणनीति रोकथाम र मापदण्ड पालना स्तरीयको अवस्थामा ‘मिनिमल लकडाउन’ गर्नुपर्ने उल्लेख छ । यो प्रकारको लकडाउनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छ ।

    हेर्नुहोस् सूचना

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया