• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    बाइडेनले भने- अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो

    2.5K
    SHARES


    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्। २० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्।

    ‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू कुनै मुलुक बनाउन ठूला सैनिक अपरेशन गर्ने युगको अन्त्य पनि हो,’ बाइडेनले भने। आउने दिनमा विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग कम गर्ने र हस्तक्षेपकारी नहुने बाइडेनको संकेत थियो।

    सम्बोधनका क्रममा बाइडेनले आफूले अफगानिस्तानमा युद्धलाई निरन्तरता नदिने प्रतिवद्धता गरेको र अहिले त्यो पूरा भएको बताए। लथालिंग तरिकाले भएको अमेरिकी र अफगान नागरिकको उद्धारलाई पनि बाइडेनले स्वभाविक भएको उल्लखे गरे।

    उनले आफ्नो भागमा परेको दोष लिन आफू तयार भएको उल्लेख गर्दै अफगानिस्तान फेरि तालिबानको कब्जामा आउनुमा अरू पनि उत्तिकै दोषी रहेको बताए। उनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प र अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई संकेत गरेका थिए।

    समाचार संस्था रोयटर्सका अनुसार एक महिनाअघि अफगान समकक्षी घानीसँग भएको टेलिफोन संवादमा बाइडेनले अमेरिकी सेना फिर्ता भए पनि आफूहरूको सहयोग जारी रहने तर त्यसका लागि घानीले सोच बदल्नु पर्ने बताएका थिए।

    जुलाई २३ मा भएको टेलिफोन संवादका क्रममा बाइडेनले घानीलाई भनेका थिए-तपाईंसँग अमेरिकाले तालिम दिएको राम्रो सेना छ। ती तीन लाख सैनिक ७०-८० हजार तालिबानसँग लड्न सक्षम छन्।

    बाइडेनले घानीले नयाँ योजना अघि सारे अमेरिकाले उनको सरकार जोगाउन हवाई सहयोगलगायत अन्य थुप्रै सहयोग गर्ने बताएका थिए। तालिबानले काबुल कब्जा गर्नु तीन साताअघि बाइडेन-घानीबीच भएको उक्त संवादले दुबै नेताहरूले यति छिटै तालिबानहरू काबुल आइपुग्छन् भन्ने कल्पना पनि नगरेको देखिन्छ।

    १३ वर्षअघि बाइडेनलाई बचाउने यी अफगानी नागरिकको गुहार- मिस्टर प्रेसिडेन्ट, मलाई…

    आज अमेरिकाका राष्ट्रपतिको पदमा आसिन जो बाइडेनले सायद १३ वर्ष पुरानो कुरा बिर्सिएका थिए । तर एक अफगान नागरिकले उनलाई सन् २००८ मा भएको त्यो घटनाबारे याद दिलाएर उनीसँग मद्दत मागिरहेका छन् ।

    त्यतिबेला जो बाइडेन सांसद थिए र अफगानिस्तानको भ्रमणमा गएका थिए । उनीसँग दुई अन्य सांसद पनि थिए । हेलिकोप्टर एक दुर्गम स्थानमा आएको हिम आँधीमा फसेको थियो ।

    सबैको ज्यान जोखिममा थियो । त्यतिबेला उनीहरुको उद्धार गर्न गएको समूहमा मोहम्मद नामका एक दोभाषे पनि थिए । उनी सन् २००८ मा अमेरिकी सैनिकका दोभाषे थिए ।

    आज मोहम्मद काबुलमा परिवारसमेत फसेका छन् । बाइडेन आज राष्ट्रपति हुन् । ‘द वाल स्ट्रीट जर्नल’ लाई दिएको अन्तरवार्तामा मोहम्मद बारम्बार भनिरहेका छन्, ‘हेलो मिस्टर प्रेसिडेन्ट, मलाई र मेरो परिवारलाई बचाउनुहोस् । मलाई यहाँ छोडेर नजानुहोस् ।’

    बाइडेन त्यतिबेला डेलावेयरका सांसद थिए । उनीसँग तत्कालीन सिनेटर जोन केरी र चक हेगल पनि अफगानिस्तान गएका थिए । बगराम एयरबेसभन्दा करिब ३० माइल टाढा भयंकर हिम आँधी आयो जसमा ब्ल्याक हक हेलिकोप्टर फस्यो ।

    यसकारण हेलिकोप्टर आपतकालीन अवतरण गर्नुपरेको थियो । मोहम्मद त्यो समूहको हिस्सा थियो जसलाई बगरामबाट मद्दतका लागि पठाइएको थियो । उक्त समूह जो बाइडेन भएको स्थानसम्म पुग्नका लागि भयंकर बर्फबारीबीच पहाडी बाटो हुँदै घण्टौं ड्राइभ गर्नुपरेको थियो । मोहम्मद त्यतिबेला अमेरिकी सेनाका लागि काम गर्दथे ।

    अमेरिकी सेनाका अधिकारीले दिए मोहम्मदलाई साथः

    रिपोर्टका अनुसार मोहम्मद र उनका चार सन्तान यतिबेला तालिबानसँग लुकेर बस्छन् । उनी थुप्रै वर्षदेखि अफगानिस्तान छोड्ने कोसिसमा थिए तर विभिन्न परिबन्धमा उल्झिए । मोहम्मदले वाल स्ट्रिट जर्नलसँग भने, ‘म आफ्नो घरबाट निस्कन सक्दिनँ । म असाध्यै डराएको छु ।’

    रिपोर्टका अनुसार अमेरिकी सेनाका थुप्रै अधिकारीले मोहम्मदको समर्थनमा आवाज उठाए । मोहम्मद भिसा निवेदनमाथि ले. कर्नल एन्ड्रयू र टिल्लको टिप्पणी छ । यसका साथै दिग्गज अधिकारी शन ओ’ब्रायनले लेखेका छन्, ‘यदि तपाईंले एकजना मात्रै अफगानी नागरिकको मद्दत गर्न सक्नुहुन्छ भने मोहम्मद रोज्नुहोस् ।’

    ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार ती दोभाषेलाई सेवाका लागि धन्यवाद दिएकी छिन् । अमेरिका अफगानबाट निस्कन चाहने नागरिकलाई उद्धार गर्न प्रतिबद्ध रहेको कुरा उनले दोहोराइन् । ‘हामी तपाईंलाई निकाल्छौं । हामी तपाईंको सेवालाई सम्मान गर्नेछौं ।’

    एक अफगानी युवतीको पत्र, ढोकामा कोही आए, मुटु काँप्छ; लाग्छ- कतै मेरी साथीलाई झैं…

    अफगानिस्तानबाट अमेरिका फर्किएपछि त्यहाँका लाखौं जनताको आशा निराशामा परिणत भएको छ । जसले आफगानिस्तानमा आफ्नो सुन्दर भविष्यको कल्पना गरेका थिए, ती सब टुटेका छन् । फरयाब प्रान्तमा बस्ने जाहिदा पनि तीमध्ये एक हुन् । हाल उनी विश्वविद्यालयमा अध्ययनरत छिन् । थप पढ्न चाहन्छिन् ।

    आफ्नो देशका लागि केही गर्न चाहन्छिन् तर तालिबानको शासनपछि उनको सबै सपना टुटेको छ । उनले आफ्नो समस्या उल्लेख गर्दै संसारका लागि एउटा पत्र साझा गरेकी छिन्, जसलाई एक भारतीय मिडियाले प्रकाशित गरेको छ । यसलाई हामीले पनि जस्ताको तस्तै शेयर गरिरहेका छौं…

    मेरो नाम जाहिदा हो र उमेर १९ वर्ष । म अफगानिस्तानको फरयाब प्रान्तको एक शहरमा बस्छु । दुई वर्ष अघि स्कूलको पढाई पूरा गरेर म काबुल युनिभर्सिटीमा भर्ना भएँ तर अब मलाई थाहा छैन कि म विश्वविद्यालयमा फर्केर जान पाउँछु कि पाउदिनँ । अब मेरो शहर र मुलुकमा तालिबानको कब्जा छ ।

    मेरी एक साथी छिन् । मेरै उमेरकी । असाध्यै सुन्दर र हँसिली । उनलाई तालिबानले उठाए भन्ने केही दिन अघि मात्रै थाहा भयो । एक तालिबान नेताका छोरासँग उनको विवाह गराइएको छ रे । उनीसँग मेरो अन्तिम कुराकानी तीन महिना अघि भएको थियो । मलाई थाहा छैन, अब उनी कुन अवस्थामा छिन् ।

    हामी दुबैजना पढाई पूरा गरेर अफगान जनताका लागि केही गर्ने सपना देख्थ्यौं । उनी शिक्षिका बन्न चाहन्थिन् । बालबालिकालाई पढाउन उनलाई मज्जा लाग्थ्यो तर अब उनी अहिले कस्ती होलिन्, मलाई थाहा छैन । थाहा छैन अब हामी एक–अर्कालाई कहिले भेट्नेछौं ।

    जहाँ म बस्छु, त्यो निकै सुन्दर इलाका हो तर यहाँ सुरक्षा छैन । जतिबेला पनि तालिबानको छायाँ छ । जबदेखि यो शहर तालिबानको कब्जामा आएको छ, मानिसहरु असाध्यै डराएका छन् । डरका कारण कसैले पनि तालिबानविरुद्ध बोल्दैनन् । घरको झ्यालबाट हेर्ने आँटसमेत गर्दैनन् । तालिबान लडाकू आउँदा जाँदा डरलाग्दा छायाँ जस्तै देखिन्छन् ।

    हाम्रो शहर तालिबानको कब्जामा तीन महिना अघि आएको थियो । जुनदिन तालिबानले हाम्रो शहरमा कब्जा जमायो, म असाध्यै डराएर राएकी थिएँ । त्यतिबेला मलाई लागेको थियो कि सरकार तालिबानसँग लड्नेछ र उसलाई पछि हट्न बाध्य पारिनेछ तर तालिबानले एकपछि अर्को गर्दै सबैमा कब्जा जमायो र हाम्रो आशा टुट्यो । मैले सुनेको छु कि तालिबानीले पढे–लेखेका युवतीसँग विवाह गर्न चाहन्छ । उनीहरु डाक्टर र शिक्षिकालाई आफ्ना श्रीमती बनाउन चाहन्छन् ताकि उनीहरुमार्फत् आफ्नो बच्चा जन्माउन सकून् ।

    केही तालिबान लडाकूका पहिले नै विवाह भइसक्यो तरपनि उनीहरु सुन्दर युवतीसँग विवाह गर्न चाहन्छन् । मलाई डर लागेको छ कि कतै मेरा साथीलाई झैं मलाई पनि उठाउने हुन् कि । मलाई सधैं यहि डरले सताएको छ । तालिबानका केही लडाकूको यहाँ घर छ र केही पाकिस्तानबाट आएका छन् । उनीहरु यहाँ सरकारी भवनमा बसिरहेका छन् । आफ्नो हरेक आवश्यकताका लागि तालिबानी हाल यहाँका बासिन्दामाथि निर्भर छन् । उनीहरुले हरेक घरबाट खानपिनका सामग्री र पैसा लिइरहेका छन् ।

    केही दिन अघि तालिबान हाम्रो घरमा आएका थिए । हामीलाई ३०–४० जनाका लागि खाना बनाउन भने । हामीले उनीहरुका लागि ‘काबुली पुलाउ’ बनाउनुपर्यो । यसका लागि मासु पनि चाहिन्छ ।

    उनीहरु यहाँका मानिसहरुको घरमा गएर आफ्ना लागि जबरजस्ती खाना बनाउन लगाइरहेका छन् । उनीहरुको कुरा कसैले पनि नमान्न आँट गर्दैनन् । प्रत्येक घरको पालो आउँछ ।

    अघिल्लो पटक जब तालिबानको शासन थियो, त्यतिबेला मेरी आमा जवान थिइन् । उहाँले थुप्रै प्रकारको प्रतिबन्ध देख्नुभएको छ तर उहाँ निकै हिम्मतिली महिला हुन् । उनी एक शिक्षिका बनिन्, जागिर खाइन् र घर चलाइन् । अब तालिबानले हरेक अध्यापकसँग पैसा लिइरहेको छ । मेरी आमाबाट पनि एक हजार अफगानी पैसा लिएका छन् । आफूहरुले भविष्यमा पनि पैसा मागिरहने उनीहरुले बताएका छन् ।

    तालिबानीले आफूहरु यसपटक परिवर्तन हुने बताउँदै आएका छन् तर हामीलाई उनीहरुमाथि विश्वास छैन । मेरी आमाले तालिबानको त्यो भयावह समय देख्नुभएको छ । उहाँले हामीलाई जुन कहानी सुनाउनुहुन्थ्यो, त्यो सुन्दा म निकै डराउँथे तर अब एकै झट्कामा म आफैं त्यहि समयमा आइपुगेकी छु । मेरा सबै सपनामाथि घात भयो । म जब आँखा बन्द गर्छु तब अँध्यारो देख्छु र आँखा खोल्दा पनि मैले अँध्यारो नै देख्छु । ’

    हामी उज्बेक जाती हौं । हाम्रो शहरमा ताजिक जाती पनि बस्छन् । फाट्टफुट्ट हजारा परिवार पनि छन् । हजारा समुदायमाथि तालिबानले निकै अपराध गरेको थियो । केही हजारा परिवार शहर छोडेर काबुल गएका छन् । तालिबानीमध्ये धेरैजसो पश्तो हुन् र उनीहरु अन्य समुदायका मानिसहरुमाथि अपराध गर्छन् । हामीलाई थाहा भए अनुसार थुप्रै इलाकामा उज्बेक र ताजिकलाई निशाना बनाइएको छ ।

    म थप पढ्न चाहन्छु, आफ्नो देशका लागि केही गर्न चाहन्छु , तर म अब पढ्न पाउँछु कि पाउदिनँ थाहा छैन । मेरी एक बहिनी हिन्दुस्तानमा पढिरहेकी छिन् । ऊ पढाई पूरा गरेर अफगानिस्तान फिर्ता हुन चाहिन्थन् । तालिबानको कब्जापछि अब उसले देश फिर्ता हुने आफ्नो निर्णय फेरेकी छिन् ।

    म अफगानिस्तानलाई धेरै माया गर्छु । म कहिल्यै देशबाट बाहिर जान चाहन्नथेँ किनभने म सोच्थेँ कि मेरो देशलाई मेरो आवश्यकता छ तर अब मैले बाहिर जाने मौका पाएँ भने म पनि जानेछु । तालिबानको शासनले हाम्रो जीवन फेरिदिएको छ । मेरा सबै साथीहरु असाध्यै डराएका छन् । ढोकामा कोही आएजस्तो लागे मेरो मुटु काँप्छ । यस्तो लाग्छ कि कतै तालिबान त आएनन्, जो मलाई उठाउनका लागि आएका छन् ।

    यो कहानीमा सबैकुरा साँचो छ, मेरो नाम र शहर बाहेक । तालिबानको डरका कारण मैले आफ्नो नाम–ठेगाना लुकाउनु परेको छ । मंगलबार तालिबान लडाकू पुनः हाम्रो घरमा आएका थिए । ज्यान बचाउनका लागि हामीले आफ्नो घर र शहर छोडिदिएका छौं । अब हामी एक नयाँ इलाकामा छौं तर हामी कहिलेसम्म सुरक्षित हुनसक्छौं, त्यो भने थाहा छैन ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया