• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माओवादीको भागमा परे यी ६ मन्त्रालय

    645
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालयमात्रै पाउने भएको छ। एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो। संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ।

    ‘माधवजीहरु पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ। तर आकांक्षी भने सबै सांसदहरु देखिएका छन्,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सांसद मात्रै होइनन्, सांसदभन्दा बाहिरका साथीहरु पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो।’

    उनका अनुसार भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल)को नेतृत्व चयनदेखि सरकारमा मन्त्री पठाउने विषयमा सोमवारको स्थायी कमिटीमा छलफल भएको थियो।

    ‘गठबन्धनको बैठकबाट फर्किनु भएको अध्यक्षले माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने जानकारी गराउनु भयो। तर अझैसम्म कुन कुन मन्त्रालय पाउने भने नटुंगिएको बुझियो,’ गजुरेलले भने, ‘मन्त्रालय कम हुने भएकाले कसरी र कुन कुन नेतालाई मन्त्री बनाउने भन्नेमा प्रारम्भिक छलफल चाँही भयो । तर निष्कर्षमा भने पुगिएको छैन ।’ उनका अनुसार सांसदभन्दा बाहिरकाले पनि मन्त्रीका लागि इच्छा राखेपछि पार्टीमा थप समस्या देखा परेको छ।

    संविधानतः प्रधानमन्त्री देउवाले २५ भन्दा बढी सदस्यीय मन्त्रिमण्डल बनाउन पाउँदैनन्। तर देउवाले सो संख्याभित्र कांग्रेससहित माओवादी केन्द्र, जसपा, नेकपा (एस) मात्रै होइन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मन्त्रिमण्डलमा समावेश गराउनुपर्ने बाध्यता छ।

    जसकारण डेढ महिना वितिसक्दा पनि देउवाले आफनो मन्त्रिमण्डल विस्तार गर्न अझै सकेका छैनन् । तर सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन नियमित छलफलमा छन् । नेपाली राजनीतिक इतिहासमा सम्भवतः यति लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाएको यो पहिलोपटक हो।

    त्यस्तै माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो ।

    भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।

    नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दीपशिखाका अनुसार वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

    उनले भने, ‘१० प्रतिशत पछि मनोनित हुने गरी २३१ सदस्यीय केन्द्रिय समिति निर्माण गरेका छौं । यो केन्द्रिय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रिय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।’

    गत शनिबारबाट सुरु भएको वाईसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए । तर सहमती जुटाउन नसकेपछि केन्द्रिय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

    माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसीएल, नेपालले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया