• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालको नाम लिँदै चीनले किन गर्यो प्रशंशा ?

    3.8K
    SHARES


    काठमाडौं । कोरोना भाइरसको उत्पत्तिबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

    यसअघि अमेरिकाको गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले चीनले निरन्तर कोरोना उत्पत्तिको विषयमा अनुसन्धानमा अवरोध पुर्याएको र अन्य मुलुकलाई डेटा दिन अस्वीकार गरेको देखाएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले भने यो प्रतिवेदन राजनीतिक प्रयोजनका लागि सार्वजनिक गरिएको बताएका छन् । उनले भाइरस उत्पत्तिबारेको राजनीतिकरण गर्ने प्रयासलाई कसैको समर्थन नभएको समेत उनले उल्लेख गरेका छन् ।

    अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा वैज्ञानिक आधार नरहेको र यो प्रतिवेदन विश्वसनीय पनि नरहेको चिनियाँ दूतावासका प्रवक्ताले बताएका छन् । त्यसैले यो विषय गुप्तचरको प्रतिवेदनमा नभई वैज्ञानिक अनुसन्धानमा भर पर्ने उनको भनाइ छ ।

    केही समय अगाडि ८० भन्दा बढी मुलुकले भाइरसको उत्पत्तिसम्बन्धी विषयलाई राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको समेत उनले उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘नेपाल सहित ८० भन्दा बढी मुलुकले संगठनका महानिर्देशकलाई पत्र पठाएका छन्, कूटनीतिक नोट पठाएका छन् र उनीहरुले राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै चीन र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई सम्मान गर्नुपर्ने बताएका छन् ।’

    त्यसैगरी बिभिन्न देशका ३०० भन्दा बढी राजनीतिक दलले सो सोही आशयको पत्र संगठनलाई पठाएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

    कोरोना शुरु भएदेखि नै एकले अर्कोलाई समर्थन गरेको उल्लेख गर्दै दूतावासका प्रवक्ताले दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।

    प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको उल्लेख गरेका छन् ।

    चीनले नेपालसँगको कोरोना महामारीविरुद्ध सहकार्यलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिन आफ्नो क्षमताभित्र रहेर थप खोप उपलब्ध गराउने बताएका छन् ।

    तालिबानका नेताले लडाकुलाई सम्झाउँदै भनेः जनतासँग राम्रोसँग प्रस्तुत हुनु, हामी सेवक हौं

    अमेरिकी सेना स्वदेश फिर्ती प्रक्रिया सम्पन्न भइसकेपछि अब पुरा देश तालिबानको हातमा गएको छ। यसबीचमा मंगलबार काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानका शीर्ष नेताहरुले आफ्ना लडाकुलाई सम्बोधन गर्दै आफूहरु स्वतन्त्र भएको भन्दै सबैलाई बधाई ज्ञापन गरे।

    सो क्रममा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले लडाकुहरुको त्याग र समर्पण साथै नेताहरुको इमानदारिताका कारण अफगानिस्तान स्वतन्त्र भएको बताए। उनले भने,‘म तपाइँहरु र अफगानिस्तानका सबैलाई बधाई दिन चाहन्छु। हामी यो भन्छौं कि अब हाम्रो देशमा कसैले आक्रमण नगरोस्। हामी सुख समृद्धि र सच्चा इस्लामिक व्यवस्था चाहन्छौं।’

    उनले सो क्रममा लडाकुलाई जनतासँग राम्रोसँग प्रस्तुत हुन भन्दै भने,‘म तपाइँहरुबाट यो पनि चाहन्छु कि तपाइँहरु नागरिकसँग प्रेम र सहानुभूतिबाट प्रस्तुत हुनुहोस्। हामी जनताको सेवक हौं।’

    के अफगानिस्तान अमेरिकी साम्राज्यको अन्त्यको सङ्केत हो ?

    तालिबानले काबुल कब्जा गरेसँगै अन्तर्राष्ट्रिय मिडियामा निरन्तर रूपमा अफगानिस्तान छाएको छ । टिप्पणीकारहरूले स्वाभाविक रूपमा साङ्केतिक अर्थहरू दिएर यसलाई ‘साम्राज्यवादीहरूको चिहान’ भन्न थालेका छन् । जस्तो कि, अन्य ठाउँजस्तो अफगानिस्तानमा विदेशी शक्तिहरू कहिल्यै पूर्ण विजयी हुन सकेनन् र उनीहरूले अनन्तकालसम्म शासन चलाउन सकेनन् ।

    के सभ्य समाजलाई चक्रव्यूहमा पार्न अफगानीहरु सिपालु छन् ? के यो चक्रव्यूह केवल पश्चिमा शक्तिहरूका लागि मात्रै हो ? के आफूलाई प्राप्त भएको लाभ जोगाउनका लागि लड्ने मामिलामा अफगानीहरु कमजोर वा अनुभवविहीन छन् ? यी र यस्ता प्रश्न पनि छाइरहेकै छन् ।

    तर, पश्चिमा न्यारेटिभहरु अफगानी र उनीहरूका सम्भावित असफलताबारे केन्द्रित भइरहँदा अफगानिस्तानमा घटिरहेका घटनाले अमेरिकाबारे के भन्छ भन्ने विषय कमैले मात्रै उठाएका छन् । कमजोर हुँदै गएको महाशक्ति र वैश्विक मामिलाको निर्णय लिने क्रममा देखिएको उसको बढ्दो अक्षमताबारे कमैले चर्चा गरेका छन् ।

    तालिबानको कब्जामा काबुल पुगेको नियालिरहँदा मैले पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किस्सिन्गरको टिप्पणी याद गरे ः अमेरिकाको शत्रु हुनु खतरनाक हुनसक्छ, तर साथी हुनु घातक छ ।’

    विश्वकै धनी र शक्तिशाली सेना रहेको देशले अफगानिस्तानमा २ ट्रिलियनभन्दा धेरै डलर खर्च ग¥यो । २००१ यता ७ लाख ७५ हजारभन्दा धेरै सैनिकहरू खटायो । दुई दशकसम्म अफगानी सैनिकहरूलाई प्रशिक्षण र तालिम थियो । देशमा पुन:निर्माणको काम अघि बढायो । र, जब उसले सेना हटाउन सुरु ग¥यो, तब एकै साताभित्र अफगानी सहयोगीहरूले आत्मसमर्पण गर्न थाले ।

    अफगानिस्तानले अमेरिकी शताब्दीको अन्त्यको झल्को दिँदैछ वा यो उसको विश्वव्यापी प्रभुत्वमा एउटा सानो झट्का मात्र हो ? यस्तै अन्य क्षणहरू पनि इतिहासमा छन्, जहाँ अमेरिकाले कमजोरी देखाएको थियो । सन् १९४१ मा पर्ल हार्बरमा जापानले आक्रमण गरेर अमेरिकाको प्यासिफिक बेडालाई ध्वस्त गरेको थियो । यसपछि जापानी बिस्तारवादीहरुले फिलिपिन्स कब्जामा लिए ।

    तर, यसपछि अमेरिकाले आफ्नो जेलसेनालाई सुदृढ ग¥यो र तीन वर्षभित्र जापानलाई घुँडामा टेकायो । सन् १९७३ मा यस्तै अर्को क्षण आयो । यतिबेला सोभियत युनियनको सहयोग पाएका इजिप्ट र सिरियाली दस्ताले इजरायलको कब्जामा रहेका भूभागमा आश्चर्यजनक रूपमा आक्रमण गर्न थाले । जब अमेरिकाले आफ्नो सहयोगीलाई साथ दिन थाल्यो । तब, अरबका तेल उत्पादकहरूले तेलमा निर्यात ठप्प गरेर प्रतिक्रिया देखाए, अमेरिकी अर्थतन्त्र नराम्ररी बिग्रियो ।

    तर १० वर्षपछि उसले मध्यपूर्वमा सोभियतको प्रभावलाई न्यूनीकरण ग¥यो र इजिप्टलाई अरब राष्ट्रवादीहरूको ब्लकबाट अलग गराइदियो । अमेरिका कमजोर भएको घोषणा गर्नु सायद निकै हतारो हुनेछ । तर, पछिल्ला दुई दशकमा विश्व भूराजनीतिमा महत्त्वपूर्ण उतार–चढाव देखिएको छ । भारतीय मूलका अमेरिकी राजनीतिक विश्लेषक फरेद जाकारियाले २००८ मा प्रकाशित पुस्तक ‘पोस्ट अमेरिकन वर्ल्ड’ मा लेखको छन् ः नयाँ शक्तिहरूले आफ्नो स्वार्थलाई बलियो ढङ्गले उजागर गरेको तथ्य नै अमेरिकापछिको विश्वको यर्थाथ हो ।’

    फर्किएर हेर्दा विश्वजगत्मा अमेरिकाको उपस्थिति आफैमा नाटकीय छ । सन् १९१३ सम्म उसले आफूलाई प्रमुख आर्थिक शक्तिका रूपमा स्थापित गरेको थियो । जबकि, उसलाई वैश्विक मामिलामा थोरैमात्र चासो थियो ।

    प्रथम विश्वयुद्धमा मित्र शक्तिको पक्षधरता लिएर हस्तक्षेप गरेपछि यो परिवर्तन हुनेवाला थियो, यतिबेला मित्र शक्तिले जित्यो । महाशक्तिका रूपमा बेलायतलाई विस्थापित गरेर विश्वका धेरै ठाउँमा अमेरिका छाउँछ भन्ने दोस्रो विश्वयुद्धको अन्त्य (१९३९–४५) सँगै स्पष्ट थियो । र, यसको ५० वर्ष नपुग्दै ईस्टर्न ब्लक र सोभियत युनियन ध्वस्त भए, अमेरिका विजयी बन्यो ।

    जब अमेरिकाले विश्वमा प्रभुत्व जमायो, तब विश्व व्यवस्थाका नैतिक नियमहरू उसैको मान्यताअनुरूप तय हुन थाले । अमेरिकी डलरले वैश्विक अर्थतन्त्रको रूपरेखा तयार गर्न थाल्यो । डलर र अमेरिकाका प्रतिस्पर्धी देशहरूका मुद्रामा ठुलो अन्तर थियो । एयरवेज र तेल आपूर्तिमा अमेरिकाको ठुलो नियन्त्रण थियो । यसरी वैश्विक अर्थतन्त्र अधिकांश अमेरिकाकै हातमा थियो ।

    जब अमेरिकाले सन् २००३ मा ईराकमाथि हमला ग¥यो, तब यो व्यवस्था च्यातिन थाल्यो । यतिबेला अमेरिकाले संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्ने मात्र होइन, सद्दाम हुसैनले विनाशकारी आणविक हतियार बनाउँदै छन् भनेर झुट फैलाउने काम समेत ग¥यो ।

    सन् २००८ को मन्दीले आर्थिक व्यवस्थाको विश्वसनीयतामा क्षति पुग्यो, यतिबेला एकपछि अर्को गर्दै अमेरिकी संस्थानहरू डुब्न थाले । यही समय रुस फेरि बलियो बनेर देखियो र वैश्विक आर्थिक महाशक्तिका रूपमा चीनको उदय भयो ।

    सन् २०१० को दशकमा अमेरिकाभित्र चलिरहेको सामाजिक–राजनीतिक सङ्कट पनि उजागर हुन थाल्यो, यसको झल्को ट्रम्पवादको उदयमा देखिन्थ्यो । बढ्दो रङ्गभेदले ‘ब्ल्याक लाईभ्स् म्याटर’ अभियान चलायो र कोभिड–१९ महामारीले विश्वलाई आक्रान्त पारिरहेको यही समय स्वास्थ्य प्रणाली झन्डै ध्वस्त हुने अवस्थामा पुग्यो ।

    अमेरिकी सेना हारेर फर्किएको चित्रलाई यो बृहत्तर सन्दर्भसँग जोडेर हेर्दा जो कोहीले पनि अमेरिकी प्रभुत्वको शताब्दी अन्त्यतिर आइपुगेको भन्न सक्छ । पक्कै पनि यसको अर्थ अमेरिका असान्दर्भिक भइसक्यो भन्ने होइन ।

    इतिहास हेर्दा कमजोर हुन थालेका साम्राज्यहरूले पनि महत्त्वपूर्ण अवस्थामा आफ्नो शक्तिको प्रयोग गरेका छन् । जस्तो, १९ औँ शताब्दीमा ओट्टोमन साम्राज्य र १९ औँ शताब्दीको अन्त्य र २० औँ शताब्दीको सुरुमा रुसी साम्राज्यले गरेका थिए ।

    अमेरिका आज पनि विश्वको सबैभन्दा ठुलो सैन्य शक्ति हो । उसको अर्थतन्त्रको आकार र प्रभाव दुवै ठुलो छ । त्यसो भए के परिवर्तन भएको छ ? यसको जवाफ ः आफ्नो शक्ति कायम राख्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष द्वन्द्व गर्ने उसको इच्छा हो । विश्वव्यापी प्रभुत्वप्रतिको अमेरिकी वितृष्णाको महसुस अफगानिस्तान र अन्यत्र रहेका उसका सहयोगीहरुले नै सबैभन्दा पहिले गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया