• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री देउवालाई आयो ७ दिने अल्टिमेटम

    1.2K
    SHARES


    काठमाडौँ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।

    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टिमेटम दिएको हो ।  अभियानले अघि सारेका मागमा विद्युत् विधेयक फिर्ता गरी विद्युत् प्राधिकरणको निजीकरणका सम्पूर्ण प्रक्रियालाई बन्द गर्नुका साथै ऊर्जा क्षेत्रको नवउदारीकरणको प्रक्रिया तत्काल बन्द गर्नुपर्ने ।

    विद्युत् आयोग खारेज गर्दै प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्ने, प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, विद्युत् विकासका लागि पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनुपर्ने र जलविद्युत उत्पादनमा राष्ट्रिय पुँजीपति तथा सर्वसाधारण नेपाली जनताको स्वामित्व स्थापना गर्ने नीति अख्तियार गर्ने।

    कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाई आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने र नेपाल–भारत र नेपाल–चीनबीचका सीमा विवाद समाधान गर्न अविलम्ब पहल गर्नुपर्ने र सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गर्नुपर्ने रहेका छन् ।

    कार्यक्रममा बोल्दै अभियान संयोजक निर्ग नविनले एमसीसी सम्झौता खारेज नभएसम्म आफूहरूको अभियान जारी रहने बताए । यो देशका शासकहरूसँग आफूहरूले देशको स्वाधीनता, सार्वभौमिकतामाथि प्रहार नहोस् भनेर सधैँ अपेक्षा राखेको पनि स्मरण गराए ।

    केपीले मलाई जाली तमसुक देखाएर ठगे- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ठगीएको बताएका छन् । केपी ओलीले आफूलाई जाली तमसुक देखाएर ठगेको बताए ।

    वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई आज शनिवार काठमाडौंमा सम्बोधन गदै अध्यक्ष प्रचण्डले ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताए । प्रचण्डले भने, ‘हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगिधन्दाबारे थाहा पाइएन ।’

    उनले भने, ‘तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।’ आफूलाई हालैमात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभयो ? भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए ।

    उनले भने, ‘गठबन्धनमा केपीसँग एकता गरेर के पाउनुभयो भने ,मैले ज्ञान प्राप्त गरेर आएँ भने । ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान कांग्रेसलाई, माधवजीलाई पनि काम लाग्ने ज्ञान हो भनेँ । वास्तवमा केपीको त ठगी धन्दा रहेछ ।

    प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला–बेला जित्न लागेका बेला घन हान्ने गरिएको बताए । जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताए ।

    प्रचण्डले भने, ‘पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो । ड्याम्म घन हानको थाहै पाइएन ।

    प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, ‘तर, तपाईहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’

    युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको प्रचण्डले बताए । ‘अलि भिन्न भूमिकामा जाने इच्छा छ छिट्टै’ उनले भने, ‘छिट्टै भनेको भोलि नै होइन ।’

    जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताए । ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ’ उनले भने ।

    माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको भन्दै प्रचण्डले बताए । उनले राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताए । ‘हामी पनि उस्तै भयौं भने अलग्गै किन हुनुपर्‍यो, त्यहीँ गएर बसे भइगो नि ।’

    ओलीविरुद्ध लड्न मलाई घचेटेर अघि बढाए, पछि फर्केर हेर्दा कोही पनि छैन- माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’

    पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिर्वतन भएको देख्दा अचम्म लागेको बताए ।

    उनले भने, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन् ।’ ओलीविरुद्धको लडाइमा तीनै नेताहरुले भनेबमोजिम कदम चालेको र, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सफल पनि भएको उनले बताए ।

    २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाव दिने गरेको नेता नेपालले सम्झिए ।

    नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

    ‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीहरुलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेद्र यादवलाई त्यो विश्वास दिलाउनु भएको थियो ।’

    आफूहरुको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा तयार भएको उनले बताए । नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

    त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरु चाहिने भनेर सम्झाएको सुनाए । ‘संसदबाट राजीनामा दिएर निस्कौं भने संख्या पुग्दैन । प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिँदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔं, बहिस्कार गरौं भनेँ’ नेता नेपालले भने ।

    त्यही योजनाअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा आफूहरु संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताए । फेरि प्रधानमन्त्री बनेका ओलीले सर्वोच्च अदालतको फैसला विपरीत संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनुपरेको उनले बताए ।

    उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौं । कसैको खुट्टा कामे काम्छ, म अगाडि बढेँ भनेर हिम्मत गरेँ ।’

    नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भन्ने, पछाडि हेर्छु त कोही पनि छैन ।’ जिल्ला जिल्लाका कार्यकर्ताको उर्जा देखेको आफूले २०३२ सालको विद्रोह सम्झिएर अगाडि बढेको नेता नेपालले बताए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ