• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओलीको आदेश अवज्ञा गर्दै मुख्यमन्त्री आचार्यले नियुक्त गरे मन्त्री

    0.9K
    SHARES


    काठमाडाैं । प्रदेश १ मा आफ्ना मान्छेलाई मन्त्री बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन मुख्यमन्त्री भीम आचार्यले अवज्ञा गरेका छन्। शुक्रबार आफू निकटका दुई जनालाई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री आचार्यलाई अध्यक्ष ओलीले फोन गरेरै संखुवासभाका सांसद तुलसी न्यौपानेलाई नियुक्त गर्न निर्देशन दिएका थिए। आचार्यले न्यौपानेलाई सपथ गराउन इन्कार गरेका हुन्।

    पार्टी अध्यक्षकै निर्देशन अवज्ञा भएपछि प्रदेशको सत्तारूढ एमालेमा खटपट सुरू हुने निश्चित भएको छ। आचार्यले बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग वन पर्यटन तथा वातावरण मन्त्री नियुक्त गरेका छन्।

    उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन्। यसअघि शुक्रबार दिनभर चलेको विभिन्न चरणको छलफलमा प्रदेश १ को मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर एमालेभित्र विवाद भएको थियो।

    बिहीबार आफूले मात्रै सपथ लिएका मुख्यमन्त्री भीम आचार्यले शुक्रबार आफू निकटका दुई जनालाई मात्रै मन्त्री पदको सपथ दिलाउने तयारी गरेपछि उनीहरूसहित आफ्ना पक्षका सांसदलाई पनि मन्त्री नियुक्त गर्न निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दबाब दिएका थिए। राईले तुलसी न्यौपानेलाई पनि सपथ गराउन दबाब दिएको निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले जानकारी दिए।

    ‘मुख्यमन्त्रीले दुई जनालाई मात्रै सपथ गराउने तयारी गर्नुभएको रहेछ। पार्टी अध्यक्ष (केपी शर्मा ओली)ले मुख्यमन्त्रीलाई फोन गरेर न्यौपानेलाई पनि गराउन भन्नुभएको छ, हेरौं के हुन्छ’ ओझाले केहीबेर अघि मात्रै यसो भनेका थिए। मुख्यमन्त्री आचार्यले भने आफू निकटका दुईलाई मात्रै सपथ गराएपछि एमालेमा विवादको विजारोपण भएको एक सांसदले बताए।

    ओलीले नै मन्त्री बनाउन भन्दै आचार्यलाई निर्देशन दिएका संखुवासभाका सांसद न्यौपाने लामो समयसम्म नेपाल समूहमा थिए। पुस ५ पछि शेरधन राईविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनी केही दिनपछि हस्ताक्षर फिर्ता गरेर ओली समूहमा गएका थिए।

    त्यस्तै आज मन्त्री बनेका साम्सोहाङ र तिवारी पनि नेपाल समूहमै थिए। तर, साम्सोहाङ ताप्लेजुङको र तिवारी तेह्रथुमको एमाले अध्यक्ष पनि थिए। दोस्रो पुस्ताका नेताहरू एमालेमै रहने भएपछि उनीहरु पनि नेपाल समूह छोडेर एमालेमै रहेका थिए।

    एमाले स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका क्रममा उदयपुरका विमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउनुपर्छ भन्ने दबाब ओली समूहबाट थियो। घिमिरेलाई मन्त्री बनाउन आचार्यले अस्वीकार गरेको स्रोतको भनाइ छ। घिमिरेले पहिले पनि आफूलाई धोका दिएको भन्दै आचार्यले अस्वीकार गरेको स्रोतको भनाइ छ।

    यता वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ । यस्तो अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् ।

    १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीको पद जोगाउन शाक्यलाई दल परिर्वतन एक विकल्प हुनसक्छ । तर, उनले राजनीतिक जीवनमा धेरै विषय त्यागेर पार्टी निर्माण गरेको बताउँदै सत्ताका लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् ।

    ‘मैले एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु । दल परिर्वतन गर्ने मनस्थितिमा छैन । सरकार ढल्छ भन्ने पनि चिन्ता छैन । मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिन । त्यो काम मबाट हुँदैन,’ उनले भनिन्, ‘पद पाएपनि नपाएपनि यही पार्टीमै रमाउँछु । दायाँ–बायाँ गर्दिन ।’ शाक्यले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहेन बताइन् ।

    ‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीतिक गरेको हुँ । पद र सत्ताको लागि राजनीति गरेको होइन । म फुटको पक्षमा छैन । नयाँ पार्टीमा हसताक्षर गर्न सक्दिन । मैले यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् । शाक्यले एकहप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने समेत बताइन् ।

    ‘पार्टीलाई एकताका लागि मैले मुख्यमन्त्रीको पद समहालेको हुँ । एकताका लागि दबाब दिन एकहप्ता काठमाडौं बसेर हेटौंडा आइपुगेको छु । अब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । त्यसका लागि आन्तरिक छलफल सुरु गरिसकेको छु,’ मुख्यमन्त्री शाक्यले भनिन् ।

    नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ गते बहुमतको आधारमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । एमाले भित्रको विवादको समयमा उनी तत्कालिन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेकी थिइन् । एमाले औपचारिकरुपमा विभाजन हुने भएसँगै तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई अगाडि सारेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया