• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लव र प्रचण्डसँग एकता गर्दै माधव नेपाल, देशकै ठुलो पार्टी बन्ने दाबी, के मान्लान त विप्लव ?

    1.5K
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।

    बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’

    कसरी ठूलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता हुन्छ ।’

    तर केपी शर्मा ओली अध्यक्ष हुँदासम्म भने एमालेसँग एकता र सहकार्य नहुने चौधरीले बताए । ‘केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग, सहमति, सहकार्य र एकता हुँदैन’ उनले भने ।

    अध्यक्षको जिम्मेवारी कसलाई हस्तान्तरण गर्दैछन् ओली ?

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए ।

    महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’ ओली पक्षका नेताहरुले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् । तर ओलीले भने यसबारे बोलेका छैनन् ।

    यस्तै उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

    उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे ।

    यस्तै ओलीले अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक नहुने बताएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशका बारेमा धेरै भिन्नता रहेको दाबीसमेत गरे ।

    आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्म अनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको ओलीको भनाइ थियो । शेरबहादुर देउवा नेतृत्वले ल्याएको अध्यादेश ‘देश जोगाउनका लागि’ भनिएको प्रति उनले आपत्ति जनाए ।

    उनले प्रश्न गरे, ‘एमाले फुटाउन नपाइएको भए देश के हुन्थ्यो ? यो घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पानी हो यो देश ? देश जोगाउनका लागि ? यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ?’

    संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भनेर आफूले अध्यादेश जारी गरेको जिकिर गर्दै उनले कुनै पार्टी विशेषलाई फुटाउने उद्देश्यका साथ त्यो बेला अध्यादेश नल्याइएको दाबी गरे । ‘कुनै पार्टीमा फ्लोर क्रस गर्ने काम भएको पनि थिएन । पार्टीभित्र सामान्य विवाद हुँदा हुन् तर कुनै पनि पार्टी त्यतिबेला फुट उन्मुख थिएनन्,’ उनले भने, ‘संसदमा ४० प्रतिशत संख्या पु¥याएर अलग हुन पाउने सांसदको अधिकार हो, हामीले दल वा संसद भनेका थियौं ।’ तर अहिले पार्टी फुटाउनका लागि कोसँग कति मान्छे छन् भन्ने हिसाब गरेर अध्यादेश ल्याइएको उनले आरोप छ । ‘१२ बजे राति सदन अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ,’ उनले भने ।

    संसद अधिवेशन नचलेका बेला, संसद विघटन भएका बेला तत्काल केही गर्नु परेमा देश र जनताका लागि, व्यक्तिका लागि होइन, एउटा समूहका लागि होइन, अध्यादेश ल्याउन मिल्छ,’ उनले भने, ‘तर अहिले देश र जनताका लागि राति अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश ल्याउन के जरुरी पर्‍यो ?’

    उनले अध्यादेश ल्याउने प्रक्रिया प्रस्ट पार्दै अगाडि भने, ‘अध्यादेश ल्याउनु अघि विधेयक ड्राफ्ट गर्नुपर्छ, कानुन मन्त्रालयमा मस्यौदामा जानुपर्छ, त्यसमा मन्त्रालयले सहमति दिनुपर्छ । संसद नचलेको बेला देश, जनताका लागि अत्यावश्यक परेमा अध्यादेशबाट पनि अघि बढ्नुपर्ने हुन्छ ।’

    कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दल सम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी छ । उनले व्यङ्ग्य गर्दै भने, ‘माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति भए पुग्ने भनेर लेखेको भए सजिलो हुन्थ्यो ।’

    झलनाथ खनालले दूतावासमार्फत गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

    भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।

    ‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

    यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् । यसैबीच नेता सोमप्रसाद पाण्डे लगायतका नेताहरुले निर्वाचन आयोगमा समाजवादीको पक्षमा रहेको भन्दै दिएको निवेदनबारे भने आयोगले कुनै निर्णय गरेको छैन ।

    महन्थ ठाकुरको दलमा १४ सांसदले गरे सनाखत

    समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

    सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए । उनले आफ्नो पार्टीमा १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका कारण रेशम चौधरीले सनाखत गर्न नपाएकोसमेत बताए ।

    उनले कार्यकारिणी समितिका ५१ मध्ये १७ जनाले सनाखत गरेको बताए । उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील हुने भन्दै समावेसी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए । उनले बहुल राज्यको विषय पनि आफ्नो पार्टीको नीति रहेको बताए । उनले कुरा नबुझ्नेहरुले बहुल राज्यको विरोध गरेको बताए ।

    उनले अध्यादेश ल्याएर सरकारले आफूहरुलाई सहज पारिदिएकोसमेत बताए । उनले विचार नमिलेपछि दल विभाजन हुनु स्वभाविक रहेकोसमेत बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ