• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाले भन्यो- अफगानिस्तानमा आईएसको आ’क्रमण हुनसक्छ

    1.6K
    SHARES


    काठमाडौँ । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन ।

    तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

    राजधानी काबुलस्थित विमानस्थल बाहिर आतंक जारी रहेका बेला अमेरिकाले सम्भावित आक्रमणको खतराबारे जानकारी गराएको हो । विमानस्थलबाहिर एक जर्मन नागरिकमाथि गोली प्रहार भएको थियो । अमेरिकाले विमानस्थलबाहिरको भिडभाडमा नजान भनेको छ ।

    एक हप्ता अगाडि तालिबान विद्रोहीले राजधानी काबुलसहित पूरै अफगानिस्तानमा कब्जा जमाएका थिए । त्यसलगत्तै काबुल छाड्नेहरुको भिड विमानस्थल वरपर देखिन्छ । विमानस्थलको भित्री परिसर भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।

    शनिबार एक प्रेस कन्फ्रेन्सको क्रममा अमेरिकी रक्षा विभागले एयरपोर्टबाट हालसम्म १७ हजार मानिसलाई उद्धार गरिसकेको र तीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक पनि रहेको जनाएको छ ।

    यस्तै काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।

    “अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,” तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताए ।

    उनले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताए । तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन् ।

    शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताए । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ ।

    एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मच्चिँदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । तालिबानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ ।

    नयाँ सरकार गठनबारे छलफलका लागि तालिबान नेता काबुलमा

    तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका छन् ।तालिवानका प्रभावशाली नेताका रूपमा चिनिने गनी बरादरले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का व्यक्त भएका छन् । तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ गनीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ ।

    बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्र संघको फरार आतङ्कवादीको सूचीमा रहेको छ ।

    अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।

    तालिवानका चार संस्थापक नेतामध्ये एक बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थल हुँदै अफगानिस्तान ओर्लिएका थिए । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधारक्षेत्र थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया