• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाले टाउकोको मूल्य तोकेका मोस्ट वान्टेड हक्कानी काबुलमा देखा परेपछि…

    1.3K
    SHARES


    काठमाडौँ । अफगानिस्तानमा तालिबानले सरकार गठनको लागि छलफल जारी राखेका बेला अमेरिका र संयुक्त राष्ट्रसंघको मोस्ट वान्टेड सूचीमा रहेका खलिल हक्कानी काबुलमा देखा परेका छन्। हक्कानी कट्टरपन्थी हक्कानी नेटवर्कका सदस्य हुन्।

    शुक्रबार हक्कानीलाई अफगानिस्तानको राजधानी काबुलमा देखिएको बीबीसीहिन्दीले जनाएको छ। उनी सैन्य पोशाकमा लडाकुको सुरक्षा घरेमा थिए। सार्वजनिक तस्बिर र भिडिओमा हक्कानीले मस्जिदमा मानिसहरुलाई सम्बोधन गरिरहेको देखिएको छ।

    यसैहप्ताको सुरुवातमा पनि अफगानिस्तानको हाई काउन्सिल फर नेसनल रिकन्सिलेसनका प्रमुख अब्दुल्ला अब्दुल्लाले हक्कानी र उनका प्रतिनिधिमण्डललाई भेटेको तस्बिर सार्वजनिक भएको थियो।

    यस भेटमा अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजई पनि सामिल थिए। हक्कानी अमेरिकाको मोस्ट वान्टेड लिस्टमा रहेका व्यक्ति हुन्। उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको छ।

    अफगान फौज र पश्चिमा देशका सेनाविरुद्धको आक्रमणमा हक्कानी नेटवर्कले पनि तालिबानलाई सहयोग गरेको अनुमान गरिन्छ। हक्कानीले हालै न्युयोर्क टाइक्सका फोटोपत्रकारसँग भनेका थिए,‘अफगानिस्तानमा पत्रकार, महिला सुरक्षित रहनेछन्।’

    त्यस्तै सयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाइडनले अमेरिका सेना फिर्ता गर्ने निर्णयको प्रतिरक्षा गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताएका छन्।

    काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयसीमाभित्र उक्त काम सम्पन्न गर्ने बताए। अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताए।

    दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन। तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो।

    बाइडनले के भने ?

    ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले “इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धार” मा १३,००० जनाको उद्धार गरिसकिएको बताए। तर अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्‍याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ।बाइडनले अमेरिकी राहदानीवाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताएका थिए।

    तर काबुलबाट प्राप्त कैयौँ विवरणमा विमानस्थलसम्म आउन अमेरिकीहरूले बाधा खेप्नुपरिरहेको बताएका छन्। शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ।

    तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहेका छन्। घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपुर्‍याउँछौँ,” सङ्कटलाई सम्बोधन गर्न बिदा छोट्याएर फर्किएर अमेरिकी राष्ट्रपतिले भने।

    अमेरिकी नागरिकहरूको उद्धार “प्राथमिकता” रहेको भन्दै उनले अमेरिकी सेनालाई सहयोग गर्ने ५०,००० देखि ६५,००० जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताए। कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ। यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिदैँछ,” उनले भने।

    कस्तो आलोचना भइरहेको छ ?

    अमेरिकी गुप्तचर निकाय अफगानिस्तानको अवस्थाको सही विश्लेषण गर्न कसरी विफल भयो भन्ने प्रश्न यो हप्ता बाइडन प्रशासनमाथि बारम्बार उठाइएको थियो। शुक्रवार बाइडनले अफगानिस्तानको मामिलामा गुप्तचरी विफलता भएको अवधारणाको पुनः खण्डन गरे ।

    अफगानिस्तानका घटनाक्रमले विश्वव्यापी स्तरमा अमेरिकी छविमा आँच पुर्‍याएको भन्ने भनाइको पनि उनले प्रतिवाद गरे। उनले अमेरिकाका विश्वभरिका साझेदारहरूले विश्वसनीयतामा प्रश्न नउठाएको पनि जनाए। अफगान युद्ध संयुक्त प्रयास भएको भन्दै बाइडनले जी सेभन देशका नेताहरूको बैठक गरेर भावी रणनीति तय गरिने जनाए।

    शुक्रवार साउथ क्यारलाइनाकी रिपब्लिकन सिनेटर लिन्ड्जे ग्राहमले यदि अमेरिकाले आफ्ना एक नागरिक वा अफगान सहयोगीलाई त्यसै छाडिदियो भने राष्ट्रपतिमाथि महाभियोग लगाउनुपर्ने बताइन्। उनले उच्च अधिकारीहरूबीच तालिबान यति चाँडै सत्तामा पुग्ने सम्भावना एकदमै नरहेकोबारे “सहमति” रहेको उल्लेख गरे।

    कैयौँ डेमोक्र्याटहरूले पनि बाइडनको आलोचना गरिरहेका छन्। सिनेटको शक्तिशाली अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अध्यक्ष रहेका न्यूजर्सीका सिनेटर बब मेनेन्डिजले अफगानिस्तानको “त्रुटिपूर्ण” सैन्य फिर्तीको “पूर्ण विवरण” आफूले खोजी गर्ने बताएका छन्।

    अमेरिकाले आगामी अगस्ट ३१ भित्र अफगानिस्तानबाट पूर्ण रूपमा सेना फिर्ता गरिसक्ने बताएको छ। तर अझै पनि दशौँ हजारले उद्धारको प्रतीक्षा गरिरहेका छन्। सबै अमेरिकी नागरिकको उद्धार सुनिश्चित गर्न अमेरिकी सेना उक्त मितिभन्दा परसम्म बस्न सक्ने यसै हप्ता बाइडनले सङ्केत गरेका थिए।

    हाल उद्धारमा सघाउन अफगानिस्तानमा झन्डै ६,००० अमेरिकी सैनिक रहेको बताइन्छ। तर अफगानिस्तानबाट बाहिर जान विमानस्थल पुग्न चाहनेहरूले ठूलो भिड र तालिबानको जाँच चौकी पार गरिरहनुपरेको छ। राष्ट्रपति बाइडनले अमेरिकाले तालिबानसँग निरन्तर संवाद कायम गरिरहेको पनि बताएका छन्।

    यस्तै अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ । केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ ।

    इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिवार रोयटर्ससँग भने, ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ ।’

    तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको प्रवक्ताको भनाइ छ । अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको छ । बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर युएईको शरणमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया