• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights बागमती राजनीति

    माधव नेपालसँग नगएका नेताहरुले अन्तत: गरे यस्तो निर्णय, ओलीलाई झट्का

    1K
    SHARES


    काठमाडाैं । माधव नेपालसँग नगएका केन्द्रीय सदस्यहरूले नेपाललगायत १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। ओलीले कारवाही फिर्ता नगरे च्याप्टर नै क्लोज हुने निष्कर्ष उनीहरुले निकालेका छन् ।

    नेपालले नयाँ पार्टी गठन गर्दा साथ नदिएका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको बैठकले १४ सांसदमाथि गरेको कारबाही अविलम्ब फिर्ता लिन माग गरेको हो। त्यस्तै, बैठकले पार्टी गठनको निवेदन फिर्ता लिन समेत नेपालसँग आग्रह गरेको केन्द्रीय सदस्य निरज आचार्यले बताए।

    ओलीले नेपालसहितका १४ सांसदलाई निष्कासन गर्न संसद सचिवालयमा निवेदन दिएका छन्। त्यस्तै, नेपालले नेकपा(एकीकृत समाजवादी)गठनको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। बैठकले १६ बुँदे सहमतिलाई अक्षरश: कार्यान्वयन गर्न समेत माग गरेको आचार्यले बताए।

    कर्णालीका केही नेता नेपालको साथ छोड्दै

    नेकपा एमालेको नवौं महाधिवेशनबाट जाजरकोट जिल्लाको अध्यक्ष बनेका करविर शाही माधवकुमार नेपाल पक्षका जिल्ला अध्यक्षमा गनिन्थे। उनीमात्र होइन, कर्णालीका १० जिल्लाका अध्यक्षमध्ये ७ अध्यक्ष तत्कालीन अवस्थामा नेपाल पक्षका थिए।

    माओवादी र एमाले एक हुने क्रममा जिल्ला अध्यक्षमध्ये शाहीलगायतका केही अध्यक्ष सचिवको जिम्मेवारीमा झारिए। यसअघि ओली-नेपाल बीचको दूरी बढ्दै जाँदा नेपाल पक्षका भनिएका शाहीले ओली पक्षलाई साथ दिए। माधव नेपालले अर्को पार्टी दर्ता गर्ने प्रक्रिया सुरू गरीसक्दा पनि उनी माधव पक्षमा गएका छैनन्।

    आफू एमालेमै भएको दाबी गरेका छन्। ‘उतिबेला यो वा त्यो पक्ष भन्ने समयमा नेपाल पक्षको भन्ने हो, केन्द्रमा पार्टी नै विभाजन हुँदा मेरो फरक केही धारणा बनेको छैन,’ कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले भने, ‘उहिलेदेखि अहिलेसम्म म स्पष्ट रूपमा एमाले हो।’

    एमालेको समूहगत विभाजन हुँदा कुन पक्षमा भनेर स्पष्ट निर्णय लिन नसकेका कर्णालीका एमाले नेताहरू पार्टी विभाजनपछि भने ओली पक्षको एमालेमै भएको दाबी गर्दै आएका छन्।

    जाजरकोटका शाहीसँगै तत्कालीन अवस्थामा नेपाल समूहमा रहेका सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, हुम्लाका अध्यक्ष दल रावल पनि एमालेमै छन्। शाही प्रतिनिधि सभा सदस्य हुन् भने रावल कर्णाली प्रदेश सभा सदस्य हुन्।

    तत्कालीन अवस्थामा नेपाल पक्षमा गनिएका डोल्पाका एमाले जिल्ला अध्यक्ष दत्त रोकायाको मृत्यु भइसकेको छ। कर्णालीका तत्कालीन अवस्थामा नेपाल समूहमा रहेकामध्ये केही जिल्लाका अध्यक्षहरू भने नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका छन्।

    समूहगत विभाजनका क्रममा निर्धक्क भएर नेपाल पक्षमा लागेका कर्णाली प्रदेश सभा सदस्यहरू पनि अहिले सोही पक्षमा छन्। प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा, कुर्मराज शाही, देवी ओली र चन्द्रबहादुर शाही समूहगत विभाजनका क्रममा नेपाल पक्षमै खुलेर लागेका थिए।

    प्रकाश ज्वाला, देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीमा परेका छन्। एमाले भित्रको समूहगत विभाजनका क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा ज्वाला, बुढा, थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए। उनीहरू सांसदबाट पदमुक्त भएका छन्।

    फ्लोर क्रस गरेका कारण पदमुक्त भएका थापाले आफू नेपालले दर्ता गराएको पार्टीमा अडिग भएर लाग्ने बताए। ‘राजनीतिमा बारम्बार धारणा परिवर्तन हुँदैन, केही स्वार्थी मानिसले धारणा परिवर्तन गर्छन्,’ उनले भने, ‘म पहिले जता थिएँ, अहिले पनि त्यतै हो।’

    फ्लोर क्रस गरेपछि थापा प्रदेशको भौतिक पूर्वाधार मन्त्री छन्। उनीसँग फ्लोर क्रस गरेका शाही कृषि र बुढा उद्योग मन्त्री छन्। कर्णाली प्रदेश सभामा सदस्य रहेका एमालेका २० सांसदमध्ये तत्कालीन अवस्थामा ११ जना ओली पक्षमा थिए भने ९ जना नेपाल पक्षका थिए। पार्टीभित्र समूहगत विभाजन हुँदा तीमध्ये ३ जनाले नेपालको साथ छोडेर ओली पक्षमा गएका थिए।

    पार्टी विभाजनपछि कर्णाली प्रदेश सभामा अब एमालेका १४ सांसद (सभामुखसहित) छन् भने नेकपा एकीकृत समाजवादीका २ जना (चारजना पदमुक्त भएपछि) छन्। कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये ५९ जना एमालेबाट निर्वाचित छन्। तीमध्ये पनि ३० जना नेपाल समूहमा थिए।

    तत्काल छलफलमा जाँदैनौं: ज्वाला

    केन्द्रमा नेपालले नयाँ पार्टी दर्ता गरे पनि पार्टी रोज्ने, छोड्ने वा थपिने विषयमा कर्णालीमा तत्काल छलफल नहुने नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य प्रकाश ज्वालाले बताए।

    ‘अहिले पाटी दर्ताकै प्रक्रियामा छ, त्यो हुनाले हामीले यता यससम्बन्धी गतिविधि गरेका छैनौं,’ उनले भने, ‘पार्टी दर्ता भएपछि एक खालको छलफलको सुरूआत हुन्छ।’ ज्वालाले कर्णालीमा समाजवादीको पक्षमा एमाले नेताहरू उभिने दाबीसमेत गरेका छन्।

    माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीको नामबाट एमाले हटेको छ। निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेका हुन्। नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

    ‘हामीले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवदेन दिएर आएका छौं,’ खतिवडाले भने। उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्।

    अब उनीहरूको दलमा रहेका सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बोलाउने छ। ‘उहाँहरूको निवेदन आएपछि आयोगले पार्टीको नाम, विधान, घोषणा पत्र, केन्द्रीय समितिका सदस्यको नाम, दस्तखत, ३३ प्रतिशत महिलालगायत सबै कुरा मिलेको छ कि छैन भनेर हेर्छ,’ आयोगका एक अधिकारीले भने,‘त्यसपछि आयोगले नयाँ पार्टी दर्ता गर्न चाहनेहरूलाई सनाखतका लागि बोलाउँछ। त्यो दिन आएर उहाँहरूले सनाखत गरेपछि नयाँ पार्टी बन्छ।’

    ती अधिकारीका अनुसार आयोगले बोलाएको दिन निर्वाचन आयोगमा गएर सनाखत गर्ने सांसद र केन्द्रीय सदस्यमात्रै नयाँ पार्टीमा हुन्छन्। अर्थात् त्यो दिन एमालेका केन्द्रीय सदस्य र सांसदमध्ये जो पनि सनाखत गर्न जान्छन्।

    बुधबार नेपाल समूहका दोस्रो तहका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, रघुजी पन्तलगायत निर्वाचन आयोग पुगेका थिएनन्। कतिले उनीहरूले नेपालको साथ छोडेको बताएका छन् तर सनाखत हुने दिनसम्म उनीहरूले कसको पक्षमा जाने भन्ने निर्णय गर्न सक्नेछन्।

    बुधबार जारी भएको अध्यादेशमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यको २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेको छ। नेकपा एमालेको महाधिवेशनबाट २०३ जना केन्द्रीय सदस्य बनेका थिए। २०३ को २० प्रतिशत ४१ जना हुन्छ।

    बुधबार आयोगलाई दिएको जानकारी पत्रमा नेपाल समूहले महाधिवेशनबाट आएका ५८ केन्द्रीय सदस्यले नयाँ पार्टी बनाउन लागेको उल्लेख गरेका छन्। सांसदको हक भने संसदीय दलको २० प्रतिशत सांसद आएका छौं भनेर संसद सचिवालयबाट पत्र ल्याए आयोगले मान्यता दिनेछ।

    यसरी सबै कुरा तीव्र गतिमा अघि बढे अबको १० दिनमा माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने आयोगका ती अधिकारीको भनाइ छ। यही व्यवस्था जनता समाजवादीबाट विभाजन भएर महन्थ ठाकुरले बनाउन लागेको नयाँ पार्टीमा पनि लागु हुनेछ।

    यस्तै नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए ।

    दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ । निवेदन दर्ता गरिसकेपछि दाहालले  भने, ‘राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न दिन मिल्दैन ।’

    एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर गरिएको छ । कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने दाहालले बताए ।

    त्यस्तै, महन्थ ठाकुरले पनि आयोगले दिएको निवेदनमा जसपा नाम प्रयोग गर्दै ‘जसपा लोकतान्त्रिक’ नाम दाबी गरेको छ । आयोग स्रोतका अनुसार उसले पनि माधव समूहले जस्तै नाम सच्याउनुपर्ने हुनसक्छ । निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ ।

    राजेन्द्र पाण्डेसहितको टोली राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ को उपनियम ५ अनुसार निवदेन दर्ता गरेको जानकारी दिँदै आयोग स्रोतले भन्यो, ‘वहाँहरुले नियमअनुसार निवेदन दिनुभएको छ । अब चाँडै केन्द्रीय सदस्यहरुको सनाखतको प्रक्रिया अघि बढ्छ ।’

    दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक पदाधिकारीले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया