• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    सत्ता कब्जा गरेको केहि दिनमै तालिबानलाई ठुलो झट्का

    1K
    SHARES


    काठमाडौँ । केही दिनअघि सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानविरूद्ध अफगानिस्तानका ठाउँ-ठाउँमा प्रदर्शन भएका छन्। ब्रिटिस उपनिवेशबाट मुलुक स्वतन्त्र भएको अवसरमा बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए।

    ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भएका थिए। प्रदर्शनकारीहरुले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झन्डा बोकेका थिए। उनीहरूले ‘हाम्रो झन्डा, हाम्रो पहिचान’ लगायत नारा पनि लगाएका थिए।

    केही ठाउँमा उनीहरूले तालिबानहरूको सेतो झन्डा निकालेर फालिदिएका थिए। तालिबानहरूले सेतो झन्डा प्रयोग गरिरहेका छन्, उनीहरू अफगानिस्तानको राष्ट्रिय झन्डा प्रयोग गरेका छैनन्।

    पूर्वी सहर असाडावादमा प्रदर्शनकारीहरूमाथि तालिबान लडाकुले गोली हानेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गोली लागेर कम्तीमा २ जना मानिसको मृत्यु भएको छ।

    तालिबान लडाकुहरूले काबुलमा पनि हवाई फायर गरेका थिए। प्रदर्शनहरू बढ्न थालेपछि तालिबानले स्थानीय इमामहरूलाई सबैलाई एक राख्न आह्वान गरेका छन्। तालिबानले फेरि सत्ता कब्जा गरेपछि पहिलो पटक हुने शुक्रबारको प्रार्थनाबाट एकताका लागि भन्न तालिबान इमामहरूलाई आह्वान गरेको हो।

    यस्तै अफगानिस्तानको कान्दहार शहर र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबान लडाकुहरु घुसेका छन्। ताल्चा तोडेरै तालिबानीहरु दूतावास भित्र पसेको र खोज–तलासी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

    त्यहाँका विभिन्न दराजहरु फोडेको र त्यहाँबाट गाडीसहित चाहिने सामग्री तालिबानले लगेको समाचारमा जनाइएको छ। अनुसन्धान एजेन्सी एनडीएसको लागि काम गर्ने अफगान नागरिकको खोजी गर्न यतिबेला तालिबालने घर–घर छापा मारिरहँदा भारतीय दुई दूतावासमा पनि ताल्चा फुटाएर पसेका हुन्।

    यस्तै जलालाबाद र काबुलमा रहेको वाणिज्य दूतावासमा पनि तालिबानीहरु घुसेको हुनसक्ने आशंका गरिएको छ। भारतसँगको व्यापार ठप्प पारेर तालिबानले चीनसँगको सम्बन्धलाई बढावा दिइरहँदा तालिबानीहरु भारतीय दूतावास घुसेका हुन्। भारतीय दूतावास बन्द हुँदा यतिबेला अफगानिस्तानमा चिनियाँ दूतावास भने खुला छ।

    त्यस्तै तालिबानले नेटो सेना र अफगान सरकारसँग काम गरेकाहरूको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा तालिबान विद्रोहीहरू घर-घर पुगेर उनीहरूको खोजी गर्दै परिवारलाई ध’म्की दिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

    उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्रकारको बदला नलिने भनेर अफगानिस्तानका जनतालाई भरोसा दिलाउने प्रयास गरिरहेका छन् । तर, सन् १९९० ताका तालिबानको क्रूरता भोगेकाहरू उनीहरू बदल्नेमा कम आशावादी रहेका छन् ।

    तालिबानको पछिल्लो ‘सर्च अपरेशन’ बारे आरएचआईपीटीओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालिसिसले तयार गरेको हो । यो समूहले संयुक्त राष्ट्रलाई खुफिया जानकारी प्रदान गर्दछ ।

    संस्थाका प्रमुख क्रिश्चियन नेलेमनले बीबीसीसँग भने, ‘तालिबान ठुलो सङ्ख्यामा मानिसहरूलाई निशाना बनाइरहेका छन् । उनीहरूमाथि खतरा बढिरहेको स्पष्ट देख्न सकिन्छ । उनीहरूले आत्मसमर्पण नगरे तालिबानले उनीहरूलाई गिरफ्तार गरेर सजाय दिने नत्र उनीहरूको परिवारसँग सोधपुछ गरेर उनीहरूलाई पनि सजाय दिइने पत्र दिइएको छ ।’

    उनका अनुसार तालिबानको कालोसूचीमा धेरै व्यक्तिहरूको नाम रहेको र उनीहरूलाई मृ’त्युद’ण्डको सजायसमेत दिन सकिनेछ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विद्रोही समूहको डरले धेरैले देश छोड्न थालेका छन् । अफगानिस्तानमा तालिबानको शासन लागू हुने भएपछि त्यहाँको अवस्था र अफगानी जनताका लागि प्रार्थना गरिरहेका छन् ।

    अफगानिस्तानका जनताहरु बेसहारा भएपछि अफगानी मुलकी हलिउड अभिनेत्री अजिता गनीजादाले लगातार निर्दोष जनताहरुका लागि आवाज उठाइरहेकी छन् । र, उनले तालिबानका विभिन्न क्रियाकलापहरु पनि बाहिर ल्याउन थालेकी छन् ।

    तर, तालिबानका लडाकुहरुलाई अभिनेत्रीले वकालत गरेको मन पराएनन् । उनीहरुले अभिनेत्री अजितालाई धम्की दिन थालेका छन् ।अभिनेत्री अजिताले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि प्रश्न गरेकी थिइन् । उनले अफगानीस्तानका जनताका लागि बाइडेनसँग न्याय समेत मागेकी छन् ।

    उनले तालिबानका झुठको पर्दाफास गर्दै आएकी छन् । उनले आफ्ना पूराना फोटो र भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हरेक मिनेटमा चिज बदलिन्छ । मलाई तालिबानका म्यासेज आइरहेका छन् । ‘डियर गर्ल चिन्ता नगर्नु, प्रोपोगान्डा फैलाउन बन्द गर ।’

    यूएईको शरणमा पुगेका घानीले भने- रक्तपात हुन नदिन देश छोडेँ

    अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मुलुकमा रक्तपात हुन नदिन देश छोडेँको बताएका छन् । उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो ।

    उनी अहिले संयुक्त अरब इमिरेट्सको शरणमा पुगेको बताइएको छ । उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवारका सदस्यहरु पनि रहेका छन् ।

    हिं’स्र’करूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गत आइतबार देश छाडेका थिए । देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको बताएका छन् ।

    उनले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका थिए । त्यसक्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरे ।

    आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अफ्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरु र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए । गएको आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी गरिरहेका छन् ।

    काबुलमा जताततै तालिबानका ह’ति’यारधारी लडाकूले गस्ती गरिरहेका छन् । सडकमा महिलाको संख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।

    काबुल अन्तरराष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका लडाकू तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ ।

    यस्तै गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो जहाजबाट झरेर मृत्यु हुनेमा एकजना किशोर फुटबलर रहेको पुष्टि भएको छ। अफगानिस्तानको खेलकुद संघले १७ वर्षीय फुटबलर जाकी अनवारीको जहाजबाट खसेर मृत्यु भएको बिहीबार फेसबुकमार्फत् सार्वजनिक गरेको छ।

    काबुलको एक गरिब परिवारबाट आएका अनवारीको राष्ट्रिय फुटबलर बन्ने सपना थियो। उनी निकै मेहनती खेलाडी थिए। उनले पढाइसँगै फुटबल करियरलाई पनि अघि बढाइरहेका थिए। राष्ट्रिय किशोर फुटबल टिममा उनी १० नम्बरको जर्सी लगाउँथे।

    ‘उनी दयालु र धैर्यवान थिए तर अरू थुप्रै युवाजस्तै उनले पनि तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा आफ्नो सपना अन्त्य भएको ठाने,’ अफगानिस्तान खेलकुद संघका मिडिया सम्बन्ध प्रमुख अरेफ पेम्यानले भने,‘तालिबान आएपछि उनी निराश भएका थिए र बाहिर गएर राम्रो जीवन बाँच्न चाहन्थे।’

    जाकीप्रति अफगानहरूले अहिले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् भने तालिबानप्रति आक्रोश व्यक्त गरिरहेका छन्। तालिबान सत्ताबाट हटेर अमेरिकासमर्थित सरकार चलेको २० वर्षमा अफगानिस्तानमा फुटबल र क्रिकेटको राम्रो विकास भएको थियो। फेरि तालिबान सत्तामा आएपछि अब खेल र खेलाडीको भविष्य के हुने हो भन्ने अन्यौल छ।

    जाकी जहाजबाट खसेको दिन काबुल विमानस्थलमा के भएको थियो ?

    सोमबार दिउँसो अफगानिस्तानका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा भिडिओ पोष्ट गरे। काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज उड्न लाग्दा धावनमार्गमा सयौं मानिस दौडिरहेका थिए। कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए।

    केहीबेरमा जहाज टेकअफ भयो र मानिसहरू आकाशबाट खसेको अर्को भिडिओ सार्वजनिक भयो। यी दुबै भिडिओले संसारभरिका मानिसको ध्यान तान्यो। तालिबानहरूले सत्ता कब्जा गरेपछि देश छोड्न आतुर ती अफगानीप्रति धेरैले सहानुभूति जनाए।

    त्यो दिन खास के भएको थियो भन्नेबारे अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको छ। न्युयोर्क टाइम्सका अनुसार उक्त घटनाको अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ। मानिसहरू धावनमार्गमा दौडिँदादौडिँदै जहाज उड्दा कति मानिसको मृत्यु भयो भन्ने एकिन छैन।

    एयर फोर्सको उक्त जहाजका पाइलटहरूले भने ल्यान्डिङ चक्कामा मान्छेको शरिरका अंग भेटिएको बताएका छन्। तालिबानहरूले काबुल कब्जा गरेपछि अमेरिकी सेनाले आइतबार र सोमबार काबुल विमानस्थलमा जहाजबारे निर्णय गर्ने अधिकार पाइलटहरूलाई नै दिएको थियो।

    आइतबार राति सी- १७ जहाजले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर मान्छे राखेर काबुलबाट उडान भरेको थियो। अफगानीहरू जहाजभित्र चढिसकेपछि पाइलटले यति त लिन सकिन्छ भनेर उक्त जहाज उडाएका थिए। उक्त जहाजमा झन्डै ६४० जना मानिस खाँदिएको तस्बिर पछि सार्वजनिक भएको थियो।

    अघिल्लो राति चढेजति सबैलाई लिएर अमेरिकी सेनाको जहाज उडेपछि विमानस्थलमा पुगेका अफगानीले सोमबार पनि त्यही गर्न खोजे। अर्कोदिन विमानस्थलको सुरक्षामा खटिएका अमेरिकी सैनिकलाई बन्दोबस्तीका सामान लिएर आरइएसिएच८८५ कल साइन भएको अर्को कार्गो जहाज काबुल गयो। जहाज धावनमार्गमा अवतरण नहुँदै मानिसहरू त्यसमा चढ्नका लागि आउन थाले।

    केही मिनेटमै सयौं मानिसहरू जहाजभित्र चढ्न खोजे। यो दृश्यले अचम्मित भएका पाइलटहरू जहाजभित्र पसे। अघिल्लो राति के भएको थियो भन्ने उनीहरूलाई थाहा थियो। सबै सामान राम्ररी झारी नसक्दै उनीहरूले ढोका लगाए। त्यतिबेलासम्म केही मानिसहरू जहाजको पखेटामा चढिसकेका थिए भने केही ल्यान्डिङ ह्विलमा झुन्डिएका थिए।

    चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरे। जहाजलाई टेक अफ गर्न अनुमति भएपछि बिस्तारै गुडाउन थाले। मानिसहरू जहाजसँगै दौडिरहेको थाहा पाएका पाइलटले सुरूमा निकै बिस्तारै जहाज कुदाएका थिए। त्यतिबेलासम्म भिडलाई तितरबितर पार्न सैनिक गाडी आएका थिए भने हेलिकप्टर पनि नजिकै उडाइएको थियो।

    यसरी जहाजले काबुल विमानस्थलको धावनमार्ग छोड्न सफल भयो। जमिन छोडेको केही मिनेटमै पाइलटहरूले ल्यान्डिङ ह्विल भित्र आउन समस्या भएको महशुस गरे। चालक दलका एक जना सदस्य के भएको रैछ भनेर हेर्न गए। त्यसपछि उनीहरूले थाहा पाए चक्का मान्छेको शरिरका केही भाग अड्किएका रहेछन्। काबुल विमानस्थलको धावनमार्गमा केही मानिस चक्काले किचिएका रहेछन्।

    जसोतसो गरी उनीहरू ल्यान्डिङ चक्कालाई भित्र पसाए। चार घन्टापछि उक्त जहाज कतारको अल उडैड एयर बेसमा पुग्यो। जहाज पुग्नुभन्दा पहिला भिडिओ सार्वजनिक भइसकेको थियो। दु:खान्त दृश्य भोगेर आएका चालक दलका सदस्यहरूलाई मनोपरामर्शदाताले भेटे।

    ‘त्यो घटना कसरी भएको थियो भन्ने बुझ्न सुरक्षा अधिकारीहरू सुक्ष्म ढंगले अध्ययन गरिरहेका छन्,’ अमेरिकी एयर फोर्सकी प्रवक्ता आन स्टेफानेकले भनेकी छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया