• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति लुम्बिनी

    नवनियुक्त यी मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ, कुन पार्टीबाट को-को बने मन्त्री ?

    1.7K
    SHARES


    काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

    माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।

    काँग्रेसबाट डिल्लीबहादुर चौधरी (सहरी तथा ग्रामिण विकास), माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला), जसपाबाट सुमन शर्मा रायमाझी (विना विभागीय), कुर्मती ढेँगा (विना विभागीय) र सहसराम यादव (भौतिक पूर्वाधार मन्त्री) बनेका छन् भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही (विना विभागीय मन्त्री) बनेका छन् । मुख्यमन्त्री केसीले सपथ लिएलगत्तै अन्य मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

    कमिसारदेखि मुख्यमन्त्रीसम्म कुलप्रसाद

    तत्कालीन माओवादीको लडाकु पृष्ठभूमिबाट राजनीतिमा आएका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । ०२७ सालमा रोल्पाको लिवाङमा जन्मेका केसीले ०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । माओवादी गठन भएसँगै सोनामको नामबाट उनी जनमुक्ति सेनाको प्लाटुन गठनदेखि कम्पनी कमिसारसम्म भए । २०६० जेठमा भारतको पटनाबाट गिरफ्तार भएपछि बक्सर जेलमा बसे ।

    ०६३ साउनमा रिहा भएपछि पुन: २०६८ सम्म जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार, नारायणी, भेरी, कर्णाली, सेती र महाकाली ब्युरो इन्चार्ज भए । शान्ति प्रक्रियामा आएपछि केसी तत्कालीन माओवादीको युवा दस्ता वाईसीएलको इञ्चार्जसमेत भए । माओवादी पार्टी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गए । तर पार्टी एकीकरण हुँदा रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्रमै फर्किए ।

    रोल्पाको १ क बाट प्रदेशसभामा निर्वाचित तिनै केसी अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका छन् । विधि र व्यवस्था परिवर्तनका लागि जनयुद्ध गरेकाले त्यही व्यवस्था र संविधान अनुसारका नीति निर्माण र व्यवहारिक कार्यान्वयनका लागि मुख्यमन्त्री बनेको केसीको भनाइ छ । उनी जनयुद्धको आधार इलाका रोल्पादेखि लुम्बिनी प्रदेशलाई नै सपनाको संसारमा बदल्ने योजनामा छन् । ‘विधि र व्यवस्था परिवर्तनका लागि जनयुद्ध गरियो,’ उनले भने, ‘अहिले त्यही व्यवस्था र संविधान अनुसारका नीति निर्माण र व्यवहारिक कार्यान्वयनका लागि मुख्यमन्त्री बनेको छु ।’

    केसी माओवादी केन्द्रसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उमेदवारको समर्थन लिएर मुख्यमन्त्री बनेका छन् । धेरै दलको गठबन्धन बन्नु, धेरै आकांक्षी हुनु तर सबैलाई मन्त्रिपरिषद्‍मा समेट्न नसक्दा हुने प्रतिशोध र असहयोगको उनले सुरुदेखि नै सामना गर्नुपर्ने छ । स्थायी राजधानी तोकिएको दाङमा बुटवलमा रहेको प्रदेशसभादेखि मन्त्रालय सार्नेसम्मका तयारी गरिएका छन् ।

    तिनलाई सार्दा हुने प्रशासनिक खर्चदेखि व्यवस्थापनका चुनौती पहाडजस्तै छन् । सत्ताबाट बाहिरिएर प्रतिपक्ष बनेको एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने मात्र होइन पाइला-पाइलामा कमजोरी खोज्ने र असफल पार्न प्रयासरत रहने छ । गठबन्धनबीच फागुन ३ पछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति छ । छोटो समयमा मुख्यमन्त्री बन्दा लोकप्रियताका लागि के काम गर्ने उनमा ठूलो चुनौती छ ।

    विश्लेषक एवं मानवअधिकारका लागि शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले मुख्यमन्त्रीले व्यक्तिगत जीवनमा युद्धको धङधङीलाई लोकतान्त्रिक बदल्नेदेखि सहकार्य र समन्वयको भावना बढाउनुपर्ने बताए । ‘धेरै दलको गठबन्धनबाट मुख्यमन्त्री बन्नु, सबै सांसदलाई समेट्न नसक्नु र छोटो समयमा के काम गर्नु भन्नेको अन्योलले उनलाई अझ बढी पिरोल्ने छ,’ उनले भने ।

    केसीका लागि सरकार अनुभव नौलो होइन । उनी शंकर पोखरेल नेतृत्वको सरकार रहँदा पनि करिब ३ वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । त्यसबेला संचार सम्बद्ध ऐनमा हस्तक्षेपदेखि प्रदेश प्रेस काउन्सिलमा आफै अध्यक्ष हुने प्रावधानका मस्यौदा बनाए । सबैभन्दा कम बजेट खर्च गर्ने, खर्च भएकामा पनि आफन्तसँग जोडिएको विवाद हुने र जागिर खुवाउन आफन्त भर्ती गर्ने, प्रदेश सभामा अपशब्द बोल्ने मन्त्रीका रुपमा आलोचित बने ।

    कर्मचारी सरुवातदेखि आफ्ना युद्धकालीन आचरण नसुधार्दा विवादित बनिरहे । सुशासन, पारदर्शीतासँगै संचार र नागरिक समाजसितको समन्वयमा पनि सधैं कमजोर भए । विश्लेषक हरि अर्यालले मुख्यमन्त्री बनेपछि नैतिकता, पारदर्शिता र समन्वयका सवालमा केसीका यी बानी नसुधारिए प्रशंसाको साटो अझ धेरै चुनौती र आलोचना बढ्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया