• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    बार्सिलोनासंग २१ वर्षे सम्बन्ध टुट्दा भक्कानिएर यसरी रोए मेस्सी, रुंदा रुंदै किन छोडे बार्सिलोना ?

    0.9K
    SHARES


    बेन व्रे, एजेन्सी । बार्सिलोना र मेस्सीको २१ वर्षे प्रेम सम्बन्धजस्तो सुन्दर विषय पनि ऋणको चिसो र कठोर तर्कले टुट्न सक्छ । रोमान्स फिल्मको वियोगान्त अन्त्यजस्तो, मेस्सीले बार्सिलोना छाड्न चाहेका थिएनन् । बार्सिलोनाले मेस्सी जाउन् भन्ने चाहेको थिएन । तर, यी दुवैभन्दा ठूलो शक्तिले दुईलाई अलग गराइदियो ।

    धेरैले सर्वकालिक महान् मान्ने गरेका यी फुटबल ८ अगस्टमा आयोजित पत्रकार सम्मेलनमा भक्कानिएर रोए । उनले भने,‘छाड्नुबाहेक अर्को विकल्प छैन । क्लब अझै धेरै ऋणमा जान चाहँदैन थियो ।’

    बार्सिलोनाका फ्यानहरू मेस्सीको बहिर्गमनको स्पष्ट उत्तर खोजिरहेका छन्, विभिन्न दिशामा प्रश्नहरू तेर्सिएका छन् । क्लबको नेतृत्वमाथि खराब व्यवस्थापनको आरोप छ । ला–लिगामाथि आफ्नो नियममै अडिएर सजाय दिएको आरोप छ । मेस्सी आफैँ पनि इमानदारीताभन्दा पैसालाई माथि राखेकाले आलोचित छन् । आखिर अर्जेन्टिनी सुपरस्टारको हृदय विदारक बहिर्गमनको चुरो कारण के हो ?

    आरोपको खेल

    मेस्सीको बहिर्गमनसँगै एकले अर्कालाई दोषारोपण गर्ने शृङ्खला सुरु हुन समय लागेन । समर्थकहरूको स्वामित्व रहेको बार्सिलोनाले हरेक १ सय १७ डलर आम्दानी गर्दा १ सय ३० डलर खेलाडीको तलबमा मात्रै खर्च गरिरहनु परेको छ । आयभन्दा खर्च धेरै हुनुको अर्थ यो क्लबले नाम चलेका खेलाडीहरूलाई आबद्ध गर्न र उनीहरूलाई तलब खुवाउन ऋणको भारी बोक्नुपरेको छ । क्लबको कुल ऋणले अहिले १ अर्ब १० करोडको मापदण्ड पार गरिसकेको छ ।

    मेस्सीले आफ्नो तर्फबाट क्लबमा बस्नका लागि सक्दो गरेको दाबी गरेका छन् । र, उनी ५० प्रतिशत तलब कम लिन पनि सहमत देखिएका थिए । यद्यपि, औँला उनीमाथि पनि उठेको छ । उनको पुरानो सम्झौता ६५ करोड २० लाखको थियो, यसमध्ये १३ करोड ५० लाख रकम केवल सम्झौताका लागि खर्च गएको थियो । र, ९ करोड १० लाख ‘इमानदारी बोनस’ भनेर दिइएको थियो । पछिल्लो आधा दशक विश्वमै सबैभन्दा धेरै पारिश्रमिक लिएका मेस्सीले सङ्कटमा फसेको आफ्नो प्रिय क्लबका लागि अर्को एक सिजन सित्तैमा पनि खेल्न सक्थे ।

    र, त्यहाँ ला–लिगा छ । यसले स्पेनिस फुटबलमा शीर्ष दुई डिभिजन लिगहरू सञ्चालन गर्छ । सन् २०१३ मा उसले क्लबहरूका लागि नयाँ आर्थिक नियम ल्यायो, जसमा क्लबले एक सिजनका लागि आफ्नो टोली तयार गर्न कति खर्च गर्न पाउने भनेर ताकियो, क्लबहरूको आर्थिक अवस्था हेरेर यस्तो खर्च तोक्ने मापदण्ड थियो ।

    कोभिड १९ महामारीको आर्थिक प्रभावपछि बार्सिलोनाले खेलाडीको तलबमा ठूलो कटौती गर्नुपर्ने आवश्यकता ला–लिगाले महसुस गरेको थियो । जसअनुसार ७७ करोड युरोबाट ४७ दशमलव १ प्रतिशत रकम कटौती गरेर ४० करोड ७० लाखमा झार्नुपर्ने थियो ।

    बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले आफ्ना नियमलाई संशोधन गर्न ला–लिगा तयार भएका कारण मेस्सीको सम्झौता नवीकरण गर्न नसकिएको दोष लगाएका छन् । तर, बार्साले यो नियममा ला–लिगाका अन्य १९ क्लबले जसरी नै खुसीसाथ २०१३ मा सम्झौता गरेको थियो ।

    बार्सिलोनाको समस्याका लागि आर्थिक नियमलाई दोष दिनु भनेको आफ्नो हात काट्नबाट जोगाउने डाक्टरलाई उल्टै आरोप लगाउनुजस्तै हो । अझै धेरै खर्च गरेर बार्सिलोनाको आर्थिक समस्या समाधान हुनेवाला छैन ।

    बरु, यस्तो सङ्कटमा क्लबलाई पुग्नबाट रोक्नका लागि ला–लिगाले धेरै कडा नियम किन बनाएन भन्ने प्रश्न पहिले आउन सक्छ । खासमा मेस्सीलाई राखिराख्नका लागि ला–निकै लालायित थियो, यही कारण उसले लिगको १० प्रतिशत शेयर निजी कम्पनी सिभिसी पार्टनर्सलाई बेच्ने सहमति ग¥यो । यसको बदलामा आउने ३ अर्ब डलर २० वटा क्लबहरुबीच बाँडफाँड गर्ने उसको योजना थियो ।

    लापोर्टाका अनुसार यो सम्झौताले मेस्सीसँग नवीकरण गर्नका लागि आवश्यक अतिरिक्त रकम क्लबमा आउने थियो । तर, बदलामा लिगको आर्थिक भविष्य पनि जोखिममा हुने थियो । विशेष गरी, टिभी ब्रोडकास्टिङ अधिकार सिभिसीलाई जाने थियो, त्यही कारण यस्तो सम्झौतालाई समर्थन गर्न नसक्ने उनको दाबी छ ।

    प्रणालीगत समस्या

    स्पष्टै रूपमा बार्सिलोना निकै खराब समयबाट गुज्रिएको छ । तर, एक अर्कालाई दोषारोपण गर्न छाडेर वस्तुगत यथार्थ नियाल्ने हो भने बार्सिलोनाको जोखिमपूर्ण दृष्टिकोण नै यसको कारक हो । मेस्सीको युग अन्त्य हुनअघि विश्व फुटबल बजारका दुई वा तीनमध्ये एक ठूलो क्लबको रूपमा आफ्नो पोजिसन कायम राख्न बार्सिलोनाले स्टार खेलाडीलाई भित्र्याउने प्रयास ग¥यो । बार्साको प्रतिस्पर्धा, विश्वव्यापी प्रभुत्व कायम गर्ने क्रममा आफू जसरी नै ऋणको सकंटमा फसेको चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँगमात्रै सीमित थिएन । बरु, उसले इङ्लिस फुटबलका हस्ती क्लबहरूलाई पनि चुनौती दिने प्रयास गरिरहेको थियो । इङ्लिस क्लबहरूले हरेक वर्ष टिभी ब्रोडकास्टिङ राईटबाट तुलनात्मक रूपमा धेरै रकम कमाउँछन् । बार्सिलोनाको प्रतिस्पर्धा, कतारी राजकुमारको लगानी रहेको पेरिस सेन्ट जर्माइनसँग पनि थियो, फ्रान्सको राजधानीमा रहेको यो क्लबले केही वर्षअघि नेयमारलाई बार्सिलोनाबाट लग्यो, र अहिले मेस्सीलाई लैजाने देखिन्छ ।

    स्पष्ट रूपमा, खेलाडी किन्दा बार्साका पूर्व अध्यक्ष जोसेप मारियो बार्टोमेउको निर्णय निकै खराब देखियो । बार्साले फिलिपो काउटिन्हो, ओस्माने डेम्बेले र एन्टोनियो ग्रिजम्यानजस्ता खेलाडीमा मोटो रकम लगानी ग¥यो । तर, उनीहरू सबै फ्ल देखिए । सारमा, खेल मैदानमा सफल भएर व्यापारिक समझ भएका आफ्ना युरोपेली प्रतिस्पर्धीसँगको व्यावसायिक खाडललाई चाडैं कम गर्ने बार्साको योजना थियो ।

    बार्सिलोना, रियल म्याड्रिड र इटालियन महाशक्ति युभेन्टस् अझै सुपर लिग आयोजनाप्रति प्रतिबद्ध देखिनुले टेलिभिजन ब्रोडकास्टिङको पैसामा देखिएको असमानताको वर्णन गर्छ । यी क्लबहरूले युरोपका ठूला क्लबहरूले आफैँ आर्थिक पाटोमा नियन्त्रण राख्ने गरी नयाँ प्रतियोगिता सञ्चालन गर्नेबारे अझै योजना बनाइरहेको बताएका छन् । जबकि, सुपर लिगका लागि इङ्गल्यान्ड ६ वटा क्लबहरूले पनि सम्झौता गरेका थिए । तर समर्थकहरूको चर्को विरोधपछि गत अप्रिलमा केही दिनभित्रै उनीहरू यो योजनाबाट एकपछि अर्को गर्दै अलग भए ।

    खासमा सुपर लिगको योजना यी क्लबहरूले घरेलु लिग वा युईएफए (युरोपेली फुटबल महासङ्घ) सँग आफ्नो हितअनुकुल आर्थिक सहमति गर्नका लागि अघि सारेको बार्गेनिङमात्रै होइन ।

    ब्रोडकास्टिङमार्फत ला–लिगामा आउने रकम यहाँका दुई ठूला क्लबका लागि आकर्षक छैन । तर, विश्वव्यापी ब्रान्डका रूपमा कायम रहिरहनका लागि बार्सा र रियललाई ठूलो स्रोत सुनिश्चित गराउनुपर्ने दबाब ला–लिगाका अध्यक्ष जाभियर टेबाससामु छ ।

    ला–लिगाका प्रमुख यस्तो विश्वव्यापी प्रभूत्वको पक्षधरता लिन्थें । नयाँ आर्थिक नियम लागु भएको एक वर्षपछि सन् २०१४ मा उनले भनेका थिए, ‘म विश्वका उत्कृष्ट ५ सय खेलाडीले ला–लिगा खेलेको हेर्न चाहन्छु ।’ अर्थात्, इङ्लिस प्रिमियर लिगलाई पछि पारेर व्यावसायिक रूपमा ला–लिगालाई विश्वको सबैभन्दा सफल लिग बनाउने उनको महत्त्वाकाङ्क्षा थियो । चरम रूपमा बढिरहेको आयलाई दीर्घकालीन रूपमा कायम गर्न सकिएन भने कस्तो अवस्था निम्तन्छ ? यसबारे स्पेनका फुटबल अधिकारीहरूले त्यतिबेला कमैमात्र सोचे ।

    ऋणको दुनियाँ

    बार्सिलोनाबाट मेस्सीको बहिर्गमनको नाटकले ठूलो ऋणको भारी बोक्न कर्पोरेशनहरुलाई कति गाह्रो हुँदैछ भन्ने उदाङ्गो पार्छ । वैश्विक जिडिपीअनुसार २०२० को दाँजोमा २०२१ मा कर्पोरेट ऋण ९३ प्रतिशतबाट बढेर १ सय २ प्रतिशत पुगेको छ । सन् २००८ मा यो आँकडा ७८ प्रतिशत थियो । सरकारी र घर गृहस्थी क्षेत्रको ऋण पनि यस्तै छ । अर्थशास्त्रीहरू अहिलेको युगलाई ‘‘वित्तीयकरण’ को युग भन्छन् । प्रतिस्पर्धीविरुद्ध आफू अघि बढ्नुपर्ने हतारोले विश्वभरका व्यवसायलाई बार्सिलोना जसरी नै गाजेको छ । ऋणको अर्थ यसले नै वृद्धि गराउँछ भन्ने हो, अहिले धेरै लगानी गर्नुको अर्थ व्यापार ठूलो हुन्छ र भविष्यमा धेरै नाफा कमाइन्छ भन्ने हो ।

    तर, यथार्थ त्यहाँ सधैँ वृद्धिका सीमितता छन्, चाहे त्यो घातक महामारी होस् वा स्थानान्तरण बजारमा गरिने गल्ती हुन् ।जब यी सीमितताहरू स्पष्ट हुन्छन्, तब ऋण अल्पकालीन बन्छ । बार्सिलोना समर्थकको स्वामित्व रहेको क्लब हुनसक्छ । तर, आधुनिक फुटबलको उच्च पुँजीवादी दुनियाँमा यो वैश्विक बजारको केवल अर्को वस्तु हो, जहाँ सबै कुरा, मेस्सीको पनि मूल्य हुन्छ ।

    सबै कुराको मूल्य थाहा हुने र केहीको महत्त्व थाहा नहुने फुटबल दुनियाँ के केही विकल्प छ ?

    खेलाडीको तलब सीमित गरेर, एजेन्टको फि सीमित गरेर, सबै क्लबका लागि ब्रोडकास्टिङ आय थप समान गरेर तथा ग्रासरुट फुटबलमा आयको केही प्रतिशत छुट्टाउने ग्यारेन्टी गरेर एलिट फुटबलमा देखिएका असमानताहरूलाई लगाम लगाउन सकिएला । यसो गर्दा कामदारले खेल्न थालेको र कामदार वर्गले हेर्ने गरेको खेलको प्रतिष्ठा केही हदसम्म फर्कनसक्ला । तर, बार्सिलोनाजस्ता ठूला क्लबको ऋणको समस्यालाई भने यस्ता कुनै पनि मापदण्डले सम्बोधन गर्नेछैन । बरु, यसले त्यो समस्यालाई बढाउनेछ, कम्तिमा पनि छोटो समयका लागि यस्तै हुनेछ । किनकि, ठूला क्लबहरूलाई ठूला ऋण तिर्नका लागि ठूलै रकम आवश्यक पर्छ । ऋण त्यस्तो पासो हो, जहाँबाट निस्कन कठिन छ ।

    ऋणको समस्या समाधान गर्न अर्थशास्त्री स्टिभ किनले प्रस्ताव गरेको ‘ग्लोबल डेब्ट जुब्ली’ जस्ता –याडिकल सोच आवश्यक पर्छ । कुनै बिन्दुमा हामीले जनताको खल्तीबाट बारम्बार रकम लिने बैङ्कलाई भन्नुपर्ने हुन्छ कि अब फेरि उनीहरूले रकम पाउनेछैनन् । फुटबलको दुनियाँबाट यस्तो समाधानको उदय होला भनेर कसैले पनि अपेक्षा गरिरहेको छैन । तर, यदी बार्सिलोनाको मेस्सी वियोगान्तले हाम्रा फुटबल टिमसहित हाम्रो जीवनका सबै पक्षमा देखिइरहेको ऋणको प्रभुत्वबारे बहस सिर्जना गर्न सहयोग ग¥यो भने केही सकारात्मक हुनेछ । अलजजिरा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया