• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याइदै

    2K
    SHARES


    काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । भीडभाडजन्य गतिविधी क्षेत्र बन्द गर्नेगरी निषेधाज्ञा थपिनेछ ।

    यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।

    ‘संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा अहिले वैज्ञानिक बनाउनु पर्ने आवश्यक देखिएको छ,’ ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले भने,’भीडभाडजन्य गतिविधी, तालिम तथा सभाजस्ता क्रियाकलापलाई निरूत्साहित हुने गरीको निर्णय हुन सक्छ ।’

    परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने कि भन्नेबारे छलफल गरेर निर्क्यौलमा पुगिने उनले बताए ।

    यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ । केही दिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।

    काठमाडौँ उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो । अहिले विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ ।

    तर केही दिनदेखि संक्रमण बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गत शनिबार भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहरको संकेत देखिएको भन्दै अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननस्किन आग्रह गरेका थिए ।

    यसैबीच सरकारले दोस्रो मात्रा खोपको प्रतीक्षा गरिरहेका पाँचवटा प्रदेशका ज्येष्ठ नागरिकलाई लगभग साढे १० लाख आस्ट्राजेनेका खोप साउन मसान्तसम्म लगाइसक्ने बताएको छ।

    जापान र भुटानबाट प्राप्त भएका ती खोप प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बाहेक अरू सबै प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

    एक पटकमा एउटा मात्रै खोप दिने व्यवस्था मिलाउन जिल्लास्थित निकायहरूलाई निर्देशन दिइएको उल्लेख गर्दै राष्ट्रिय खोप कार्यक्रमका प्रमुखले अनावश्यक भिडभाड नगर्न र पहिलो मात्रा लिएको प्रमाण खुल्ने कागजपत्र सहित खोप केन्द्रमा आउन अनुरोध गरेका छन्।

    काठमाण्डू उपत्यका र आसपासका प्रदेशका कतिपय जिल्लामा सोमवारबाट दोस्रो मात्रा खोप दिन थालिएको छ। राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा गौतमले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप पुगिसकेको र सोमवारबाट वितरण आरम्भ भएको बताए।

    उनले नेपालगन्ज र धनगढीका लागि आइतवार पठाइएको जापानबाट अनुदानमा प्राप्त खोप बाटोमा रहेको बताए। यता प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार सत्ता गठबन्धन दलका तर्फबाट सार्वजनिक गरेको सरकारको साझा नीति तथा कार्यक्रममा नेपालमा कोभिड खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने योजना समावेश भएको छ।

    गत साता मन्त्रिपरिषद्ले पनि कोरोनाभाइरसविरुद्ध खोप उत्पादन गर्न इच्छुक कम्पनीलाई अनुमति दिनेबारे प्रक्रिया अघि बढाएको चर्चा चलेको थियो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले त्यस विषयमा छलफल अघि बढाएको जानकारी दिए। तर त्यसबारे विस्तृत विवतरण दिन चाहेनन्।

    अधिकारीहरूका अनुसार नेपालले आफैँ नयाँ खोप बनाउनेभन्दा पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कुनै विदेशी कम्पनीको खोप उत्पादनका लागि स्वीकृति दिने प्रक्रिया अघि बढाएको हो।

    यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्य योजना सार्वजनिक गर्दै कोभिड खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनाबारे अध्ययन अघि बढाएको बताएका थिए।

    के नेपालसँग कोभिड खोप उत्पादन गर्न सक्ने क्षमता छ ?

    नेपालमा अहिले कोभिड खोप उत्पादन गरिहाल्ने प्रविधि र क्षमता नभए पनि सरकारले सहजीकरण गरे नेपालमै खोप उत्पादन सम्भव रहेको उत्पादकहरूले बताएका छन्।

    खोप उत्पादनका लागि विदेशी कम्पनीहरूसँग समेत सहकार्य गर्न सकिने भए पनि उत्पादन सुरु गर्न समय लाग्न सक्ने औषधि उत्पादकहरूको भनाइ छ।

    नेपाल औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठका अनुसार नेपालमा कोभिड विरुद्धको खोप उत्पादनका लागि संरचना तयार गर्न मात्रै कम्तीमा छ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ।

    “यस्तो खोप उत्पादन गर्न जोखिम व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो। यसका लागि धेरै उच्च तहको सावधानी र जोखिम न्यूनीकरण घेराहरू तयार गर्नुपर्ने हुन्छ,” श्रेष्ठ भन्छन्।

    नेपालमा कुनै एउटा मात्रै औषधि उत्पादक भन्दा धेरै उत्पादक कम्पनीहरू मिलेर कोभिड खोप उत्पादनका लागि सहकार्यको आवश्यकता रहेको उनको भनाइ छ।

    “त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र कच्चा पदार्थ लगायत खोपका लागि आवश्यक सामग्रीमा कर छुट दिने प्रबन्ध गरे नेपालमा उत्पादन हुने खोपले विश्व बजारमा प्रतिस्पर्धा समेत गर्न सक्छ,” उनी थप्छन्।

    नेपालमा खोप उत्पादन गर्न प्रविधिको अभाव रहे पनि जनशक्तिको कुनै अभाव नरहेको औषधि उत्पादकहरूको भनाइ छ। नेपालमा कोभिड खोपको उत्पादनका लागि आफूले समेत पहल गरिरहेको बताउने देउराली जनता फर्मास्युटिकल्स उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले सरकारले उत्पादनको पहल अघि बढाउनु स्वागतयोग्य भएको उल्लेख गरे।

    “हामीले विश्वव्यापी महामारीसँग जुध्न हाम्रो तर्फबाट के गर्न सकिन्छ भनेर पहल गरिरहेकै थियौँ। तर सरकारको नीतिगत निर्णय नहेरी यस विषयमा थप टिप्पणी गर्न अपरिपक्व हुन्छ,” शर्मा भन्छन्।

    के छ स्वीकृतिको प्रक्रिया ?

    गत साता बीबीसीसँग बोल्दै नेपालमा औषधि उत्पादन र वितरणसम्बन्धी नियामक निकाय औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले खोप उत्पादनको अनुमतिबारे सरकारको निर्णयबारे विभागमा जानकारी आइनसकेको बताएका थिए।

    “यस्ता खोपहरूको उत्पादन स्वास्थ्य सुरक्षाका दृष्टिले निकै संवेदनशील हुने भएकाले विश्व स्वास्थ्य सङ्गठनले नै मापदण्ड बनाएको छ। सरकारले निर्णय गरेको अवस्थामा त्यही मापदण्डका आधारमा विभागले स्वीकृति दिने हो,” उनले भने।

    नेपालमा पशुपक्षीका लागि आवश्यक पर्ने खोप उत्पादन गर्ने उद्योगहरू भए पनि मानव खोप उत्पादनका लागि कुनै उद्योगहरू नरहेको केसीले जानकारी दिए।

    मानव खोप उत्पादनका लागि प्रविधि र जनशक्तिसँगै निश्चित जैविक सुरक्षाका तहहरू पालना गर्नुपर्ने चुनौतीका कारण यस्ता उद्योग स्थापनाका लागि मापदण्डहरू समेत कठोर हुने गरेको विज्ञहरू बताउँछन्।

    नेपालमा पर्याप्त प्रविधि र बजार नहुँदा उत्पादित खोप सस्तो र प्रतिस्पर्धी हुनेमा समेत विज्ञ तथा सरोकारवालाहरूले आशङ्का व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेती नेपालमा खोप उत्पादनअघि यसको बजार सुनिश्चित नगरिए यस्तो खोप महँगो पर्न सक्ने बताउँछन्।

    “हाम्रो जनसङ्ख्यालाई मात्र उत्पादन गर्दा लागत महँगो पर्न जान्छ। अरू देशमा पनि पठाउने हो भने ठूला-ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ,” उप्रेती भन्छन्। उनका अनुसार नेपालले खोप उत्पादन गर्ने नै हो भने बाहिर कति र कसरी पठाउन सकिन्छ त्यसको समेत अध्ययन हुन जरुरी छ।

    “ठूला उत्पादक कम्पनीको खोप नेपालमा ‘स्याटलाइट’ उत्पादन गरेर वितरण गर्न सकिए रोजगारीको अवसर र लागतमैत्री पनि होला तर नेपालको जनसङ्ख्याको लागि मात्रै उत्पादन गर्दा चाहिँ लागत प्रभावकारी हुँदैन,” उप्रेतीको भनाइ छ।

    नेपालको दक्षिणी छिमेकी भारतले अक्सफर्ड-आस्ट्राजेनेकाको र अर्को स्वदेशी खोप पनि उत्पादन गरिरहेको छ भने उत्तरी छिमेकी चीनले पनि दुईभन्दा बढी स्वदेशी खोप उत्पादन गरिरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ