• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

    499
    SHARES

    काठमाडौँ । पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

    यस्तैमा नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    अमेरिकाले पठाएको कोरोना खोप लगाउँदै हुनुहुन्छ ? पख्नुहोस्…

    सयुंक्त राज्य अमेरिकाले पठाएको जोनसन एन्ड जोनसनको खोपले स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको खुलेको छ । उक्त खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने अमेरिकाको औषधिसम्बन्धी नियामक निकायले जनाएको छ ।

    अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए)ले स्नायु प्रणाली शिथिल हुने ‘गीयाङ बार्रे सिन्ड्रोम’ भनिने अवस्था उक्त खोप लगाएका कारण आउन सक्ने सम्भावना न्यून रहेको उल्लेख गरेको छ। जोनसन एन्ड जोनसन खोप लगाएका व्यक्तिमा अमेरिकाको कुल जनसङ्ख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशतभन्दा बढी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ।

    अमेरिकामा झन्डै एक करोड २८ लाख व्यक्तिले जोनसन एन्ड जोनसनको खोप लगाइसकेका छन्। सङ्घीय अनुगमन प्रणालीबाट उक्त खोप लगाएका व्यक्तिमध्ये १०० जनामा गीयाङ बार्रे सिन्ड्रोम देखिएको र तीमध्ये ९५ प्रतिशत गम्भीर स्थितिमा रहेको तथा बिरामीलाई अस्पतालमा भर्ना गर्नुपरेको एफडीएले जनाएको छ।

    तर उक्त निकायले अहिलेसम्म उपलब्ध प्रमाणले जोनसन एन्ड जोनसनको खोप र गीयाङ बार्रे सिन्ड्रोमको जोखिमबीच सम्बन्ध रहेको देखाए पनि ‘प्रत्यक्ष सम्बन्ध रहेको स्थापित गर्ने आधार नदेखिएको’ जनाएको छ।

    उसका अनुसार जोनसन एन्ड जोनसनको खोपबाट थाहा पाइएका र सम्भावित जोखिमभन्दा त्यसले दिने सम्भावित लाभ बढी रहेको देखिन्छ। मानव शरीरको प्रतिरक्षा प्रणालीले स्नायुसम्बन्धी कोषलाई क्षति पुर्‍याएपछि त्यसले मांसपेशीलाई कमजोर बनाउँछ तथा बेलाबेलामा पक्षाघात हुँदा गीयाङ बार्रे सिन्ड्रोम देखा पर्ने एफडीएले उल्लेख गरेको छ।

    संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष प्रति १० लाख व्यक्तिमध्ये झन्डै १० जनालाई यो समस्या देखा परेको तथ्याङ्क छ। गम्भीर लक्षण विकसित भए पनि यो अवस्थाबाट धेरै जना निको हुने बताइन्छ। कोभिड १९ लागेका व्यक्तिमा पनि यो अवस्था देखा परेको द न्यूयोर्क टाइम्सले जनाएको छ।

    यसअघि गीयाङ बार्रे सिन्ड्रोमलाई १९७६ को स्वाइन फ्लूको खोप र अरू रुघाखोकीका खोपसँग पनि जोडेर हेर्ने गरिएको थियो। कतिपय अध्ययनले खोप नभई रुघाखोकीका कारण मानिसमा उक्त अवस्था विकास हुने दाबी पनि गरेका छन्।

    जोनसन एन्ड जोनसनले आफ्नो खोपबाट त्यस्तो अवस्था आउने सम्भावना एकदमै कम रहेको भन्दै अहिले सार्वजनिक भएको सङ्ख्या अपेक्षा गरिएको दरभन्दा थोरै बढी भएको जनाएको छ। एउटा मात्रा मात्रै लगाए पुग्ने उक्त खोपलाई विश्व स्वास्थ्य सङ्गठनसहित ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति रहेको कोभिड १९ भ्याक्सीन ट्र्याकर नामक वेबसाइटमा उल्लेख छ।

    नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमवार आयोजित विशेष कार्यक्रममा १५ लाख ३४ हजार ८ सय ५० जोनसन एन्ड जोनसन खोप नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। उनले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार भएको उल्लेख गरेका थिए।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जोनसन एन्ड जोनसनको खोप पहिलो मात्रा लगाउन बाँकी रहेका ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिने निर्णय गरेको छ। त्यसबाहेक अपाङ्गता भएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई उक्त खोप मङ्गलवारबाटै दिने व्यवस्था मिलाउन विभागले आफू मातहतका स्वास्थ्य निकायलाई निर्देशन दिएको थियो।

    काठमाण्डूमा साउन ४ देखि साउन ६ गतेसम्म जोनसन एन्ड जोनसनको खोप वितरण गर्ने सूचना मङ्गलवार काठमाण्डू जिल्ला प्रशासन कार्यालयले जारी गरेको थियो। नेपालको जनसङ्ख्याको लगभग पाँच प्रतिशतलाई लगाउन पुग्ने परिमाणमा प्राप्त भएको उक्त खोप हालसम्म नेपालले अनुदानमा पाएको कोरोनाभाइरसविरुद्धको सबैभन्दा ठूलो खोप सहयोग हो।

    पिडियाट्रिक इम्युनोलोजिस्ट तथा रिम्याटोलोजिस्ट डा. धर्मगत भट्टराईका अनुसार कुनै पनि खोप साइड इफेक्टरहित हुन्छ भनेर कसैले भन्न सक्दैन । एकदमै गम्भीर तथा मृत्यु दर बढाउने खालको असर छ भने यो चिन्ताजनक हुन सक्छ ।

    डा‍‍. भट्टराई भन्छन्, ‘यो सिन्ड्रोम हुने देखियो तर यसले गर्ने हानीहरु भन्दा बढी फाइदा छन् । महामारीले ज्यान जाने जोखिम र खोपको जोखिम कतिको छ हेर्नुपऱ्यो । खोपको जोखिम भन्दा फाइदा धेरै छ । खोप लगाएपछि कुनै लक्षण आए तुरुन्त चिकित्सकको सम्पर्कमा आउनुपर्छ । यो समस्या सञ्चो हुन्छ । उपचार सम्भव छ ।’

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ