• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    टिप्स

    अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक ?

    651
    SHARES

    डा. शेरबहादुर पुन, काठमाडाैं । जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ।

    यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ। कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क/वितर्क भएका थिए।

    जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।हाल युरोपियन युनियनलगायत कोभ्याक्स सुविधाअन्तर्गत विश्वका विभिन्न देशमा यो भ्याक्सिन वितरण गरिँदैछ।

    हालै अमेरिकी सरकारले अफ्रिकी युनियनलाई झन्डै २५ मिलियन डोज कोरोनाविरूद्धको खोप (जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन) सहायता स्वरूप दिने प्रतिबद्धता जनाइसकेको छ भने, जुन केही हप्ताभित्र ४९ अफ्रिकी मुलुकहरूले पाउने छन्।

    थप ४०० मिलियन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ को डोज खरिद सम्झौता समेत भैसकेको १२ जुलाईको प्रेस विज्ञप्तिमा गाभीले जनाएको छ। नेपालले पनि अमेरिकाबाट केही दिन अगाडिमात्र जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ को साढे एक मिलियन डोज प्राप्त गरिसकेको छ।

    भ्याक्सिनले कसरी काम गर्छ ?

    जानसेन कोभिड-१९ भ्याक्सिनलाई ‘भाइरल भेक्टर भ्याक्सिन’ पनि भनिन्छ अर्थात् एडेनो भाइरसमा कोरोना भाइरसको स्पाइक जीनलाई प्रयोग गरी मानव शरीरमा प्रवेश गराइइन्छ। एडेनो भाइरस सामान्य रुघाखोकी गराउने भाइरस भएता पनि शरीरमा प्रवेश गरेपछि यसलाई प्रतिकृत नहुने गरी तयार गरिएको हुन्छ। कोषिकामा हुने विभिन्न प्रक्रिया पार गरेपछि शरीरले भाइरसको स्पाइक प्रोटिनविरूद्ध एन्टिबडी तयार पार्दछ।

    प्राकृतिक रूपमा कोरोनाभाइरसले संक्रमण गरे एन्टिबडीले भाइरसलाई तत्काल निष्क्रिय बनाउँदछन् र संक्रमण जटिलतातिर जान पाउँदैन। शरीरमा प्रवेश गर्न भाइरसले स्पाइक प्रोटिनको प्रयोग गर्ने गर्दछ। हाल प्रयोगमा आइरहेको कोभिड-१९ विरूद्धका खोप ‘कोभिसिल्ड’ (एक्स्ट्राजेनेका/अक्सफोर्ड) तथा ‘स्पुतनिक भी’ पनि यही प्रविधिमा आधारित छन्।

    अरू भ्याक्सिनभन्दा के फरक छ ?

    भ्याक्सिन भण्डारणमा फाइजर तथा मोडर्नालाई जस्तो अल्ट्राचिस्यनको (माइनस ७० डिग्री सेन्ट्रिग्रेड) आवश्यकता पर्दैन। माइनस बीस डिग्री सेन्ट्रिग्रेडमा (-२० डिग्री सेन्ट्रिग्रेड) दुई वर्ष र सामान्य रेफ्रीजेरेसनमा (२ देखि ८ डिग्री सेन्ट्रिग्रेडमा) तीन महिनासम्म प्रयोग गर्न सकिन्छ।

    अर्को मुख्य फरक वा आकर्षण भनेको एक डोजको मात्रा लिए पुग्नु हो। हाल अधिकांश देशहरूले खोप बिना प्रवेश नदिने वा सो देशमा प्रवेश दिए पनि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ। छोटो समयमा विदेश जानु पर्नेहरूको प्राथमिकतामा यो खोप परेको देखिन्छ।

    खोपपछि कस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ?

    खोप लगाइसकेपछि कसैलाई स्वास्थ्य समस्या देखिन सक्छ, कसैलाई देखिँदैन। ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ मा पनि देखिन सक्ने स्वास्थ्य समस्याको बारेमा समय-समयमा अद्यावधिक गराउँदै आइरहेको देखिन्छ। केही समय अगाडि रगत जम्ने (थ्रोमबोसिस) सँगै रगतमा प्लेटेलेट्स संख्यामा कमी देखिएपछि खोपलाई स्थगित गर्दै एफडिए र सिडिसीको संयुक्त टोलीले अनुसन्धानलाई अगाडि बढाएको थियो।

    यो समस्यालाई ‘थ्रोमबोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम’ भन्ने पनि गरिन्छ। कडा समीक्षापछि खोप सुरक्षित रहेको निर्क्यौलसँगै खोपलाई निरन्तरता दिने निर्णय गरेको थियो।

    यस्तो समस्या १८ वर्षदेखि ५९ वर्षका विशेष गरेर महिलालाई बढी हुनसक्ने जनाइएको छ। केहि दिन अगाडिमात्र एफडिएले खोप लगाएको ४२ दिनभित्र नसासँग सम्बन्धित दुर्लभ मानिने ‘गियान बार सिन्ड्रोम’ को जोखिम बढ्न सक्ने जानकारी गराएको थियो। सिडिसीका अनुसार यो समस्या विशेषत पुरूष र ५० वर्षभन्दा माथिकामा देखिएको भनिएको छ। तर एफडिए र सिडिसीले तत्काल खोपलाई स्थगित गर्नुपर्ने आवश्यकता नभएको जनाएका छन्।

    यी दुवै दुर्लभ समस्या कोभिसिल्ड भ्याक्सिन (एक्स्ट्राजेनेका/अक्सफोर्ड) मा पनि देखिएका थिए। खोप लगाएपछि हातखुट्टा झम-झममाउने वा कमजोर हुने, अनुहारका मांसपेशिकाहरू चलाउन असहज भए, हिँडडुल गर्न कठिनाइ भए, आँखा चलाउन अप्ठ्यारो वा डबल आकृति देखिने, दिसा पिसाब नियन्त्रण गर्न गाह्रो भए तुरून्त चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ।

    अन्तमा, हाल नेपालमा कोभिसिल्ड तथा सिनोफर्माको ‘भेरोसेल’ भ्याक्सिनहरू प्रयोगमा आइसकेका/आइरहेका भएता पनि नेपाली समुदायमा के/कस्तो, कुन उमेर समूहका तथा कस्तो अवस्थामा स्वास्थ्य समस्या देखिएका थिए/छन् भन्ने जानकारी सार्वजनिक भएका छैनन्। यस्तो जानकारीले आगामी दिनमा भ्याक्सिन छनोटमा सहजता हुनेछ। किनभने कोरोनाभाइरसको उतारचडाव अझै लम्बिने सक्ने संकेतसँगै थप सुरक्षित खोपको आवश्यकता पनि पर्नेछ।

    (सेतोपाटीबाट साभार यो लेखका लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा संयोजकका रूपमा कार्यरत छन्)

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ