• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विप्लव र माधव नेपालबीच भेटवार्ता, प्रचण्ड पनि सँगै, के भयो कुराकानी ?

    2.1K
    SHARES


    काठमाडौं । उच्चस्तरिय राजनीतिक भेटघाटमा जुटेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज नेकपा एमाले नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाललाई भेट्न विहीबार विहान विप्लव कोटेश्वार पुगेका थिए ।

    विप्लवसँगै नेकपाका सचिवलाय सदस्य धर्मेन्द्र बास्ताला पनि कोटेश्वार पुगेका थिए । तीन नेताबीचको भेटवार्तापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित छलफल भएको थियो ।

    स्रोतका अनुसार नेताहरुबीच ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन, पछिल्ला राजनीतिक घटनाक्रम र कोरोना महामारीसँग जुध्नेलगायतका विषयमा छलफल भएको छ ।

    भेटको क्रममा विप्लवले ओली सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे चाँसो राखेका थिए भने प्रचण्ड र नेपालले सहमति कार्यान्वयनमा आफूहरुले पहल गर्ने बचन दिएको बताइएको छ ।

    बुधबार विप्लवले प्रचण्ड निवासमै पुगेर भेटवार्ता गरेका थिए । प्रचण्ड र विप्लवबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइरहेकै बेला एमाले नेता नेपालसँग पनि भेटवार्ता भएको छ ।

    आफूले गरेको सहमति अलपत्र पारेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास लागेसँगै विप्लवले उच्चस्तरिय भेटघाटलाई तीब्र पारेका हुन् ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टीको हाइकमाण्ड अर्थात केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरूसँग सम्वाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति वर्तमान सरकारले स्वामित्व लिनु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको छ ।

    कोरोना भाइरस विरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने, सङ्क्रमितको उपचार निःशुल्क र सर्वसुलभ गराउनु पर्ने, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने बिषय सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय नेकपाको सचिवालय वैठकले गरेको छ ।

    यस्तै बैठकले जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने, जनसरोकार जनजिबिकाको बिषयमा जनप्रदर्शन र सङ्घर्ष गर्ने निर्णय गरेको छ । इन्धनमा भएको मुल्यवृद्धि, महँगी, भ्रष्टाचार, शैक्षिक-स्वास्थ्य समस्या लगायत सुकुमबासीमाथि भएका ज्यादती, जातीयविभेद र छुवाछुत, महिलाहिंसा र बलात्कार लगायतका बिषयलाई लिएर सङ्घर्ष गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले नेपालको नयाँ नक्सा सम्पूर्ण क्षेत्रमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ । साथै उक्त बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्ने निर्णय समेत गरेको नेकपाले बताएको छ ।

    के भन्छन विप्लव ?

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सर्वोच्च अदालतले केपी ओली सरकारको पतन र शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न आदेश दिएपछि अदालतले संसद्‌वादी राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदिएको संश्लेषण गरेका छन् । ‘यसको राजनीतिक सार भनेको संसदीय व्यवस्थाको सङ्कट, दलाल पुँजीवादी सत्ताको सङ्कट नै हो भन्ने कुरा बुझाउँछ किनकि सैद्धान्तिक दृष्टिले पनि र सामाजिक, व्यावहारिक अवस्थामा पनि देशको राजनीतिक मामिलाहरूको फैसला गर्ने, निष्कर्ष निकाल्ने निकाय वा संस्था भनेका राजनीतिक पार्टीहरू र तिनले खडा गर्ने राजनीतिक संस्थाहरू नै हुन् ।’ उनले भने -‘प्रतिनिधिसभा अथवा क्रान्तिकारी निकायहरूले नै फैसला गर्नुपर्छ । त्यसपछि कुनै कानुनी अल्झन उत्पन्न भएको अवस्थामा न्यायालयले त्यसमा सुझाव, सल्लाह दिनु स्वाभाविक कुरा हो । तर ठीक उल्टो के भइरहेको छ भने संसद्‌वादी राजनीतिक पार्टीहरू सङ्कटमा गइरहेका छन् । उनीहरूका संस्थाहरू निकम्मा साबित भइरहेका छन् ।’

    महासचिव विप्लवले कुनै पनि संसद्‌वादी दलहरू राजनीतिक निर्णय लिने राजनीतिक हैसियतमा नरहेको र उनीहरूले सम्पूर्ण रूपले अदालतको सहारा लिनुपरेको पनि प्रस्ट पारे । उनले भने, ‘यो भनेको राजनीतिक संस्था, पार्टी, नेतृत्व र संस्थाहरूको असफलता हो ।’ अदालतले केपी ओली सरकार हटाएर शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण गर्दैमा नेपालको संसदीय व्यवस्थामा मडारिएको सङ्कट समाधान नहुने पनि उनले प्रस्ट पारे ।

    ‘यो निकासले नेपालमा शान्ति, स्थिरता, सुव्यवस्था कायम हुन्छ त ? त्यो सम्भव छैन । झन् उल्टोतिर फर्काइदिएको छ । अदालतद्वारा, कतिसम्म भने राजनीतिक पार्टीहरूको हैसियत र अधिकार पनि खोसिदिनेसम्मको परिस्थिति बन्यो । त्यस्तै राजनीतिक दलहरूमा ह्विप नै लागू गर्न नपाइनेजस्ता जुन प्रकारका निर्णयहरू भएका छन्, यो त के हो भने लगभग राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदिएको कुरा हो । कोही मान्छे रमाए पनि, कोही दुःखी भए पनि त्यसको कुनै अर्थ छैन । रमाउनेहरूका लागि पनि त्यो एक छिनको आत्मरति मात्रै हो । यसको परिणाम भनेको फेरि पनि अस्थिरता, अनिश्चयता र अराजकता नै हुन्छ । जनतालाई पनि यो कुरा स्वीकार्य छैन ।’ उनले भने, संसदीय पार्टीहरूको सङ्कट, असफलता, संसद्‌वादी पार्टीहरूमा विकृतिहरू मच्चिएको छ, यसमा जनता सहमत छैनन् । उनीहरूको असफलताले जनताले क्षति उठाउनुपर्ने, भोग्नुपर्ने, देशले क्षति भोग्नुपर्ने अवस्था उत्पन्न गरिएको छ, यसमा जनता सहमत छैनन् । जनताले शान्ति, स्थिरता, स्वाधीनता चाहेका छन् । त्योचाहिँ यो राज्यप्रणाली र यो व्यवस्थाबाट हुँदैन र आमूल परिवर्तनद्वारा होओस् भन्ने जनताको चाहना छ । त्यसकारण यो निर्णयले कुनै त्यस्तो नयाँ विश्वासको वातावरण वा स्थिरता, स्वाधीनता दिन सक्तैन ।’

    महासचिव विप्लवले केपी ओली सरकारले पनि दलाल संसद्‌वादीहरूको चरित्र र स्वभावअनुसार नै सहमति गरेर कार्यान्वयन गराउन इमानदार नबनेको पनि प्रस्ट पारेका छन् । महासचिव विप्लवले अब नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भइसकेकाले प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रहको माध्यमबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

    उनले भने, ‘यो सरकार, अस्थिर किसिमको, विघटन हुने, गठन हुने, कहिले संसद्बाट, प्रायजसो बाहिरबाट, अदालतबाट बन्ने जनताको मत एकातिर छ, अरू विभिन्न खालका विकृतिहरू लाद्ने जुनखाले स्थिति बनेको छ, यसको सट्टामा, यो सरकारको सट्टामा प्रगतिशील संयुक्त सरकार, संसदीय चुनावको सट्टामा एकचोटि जनमतसङ्ग्रह, अहिलेको संसदीय व्यवस्थाको सट्टामा वैज्ञानिक समाजवाद हाम्रो विकल्प यही हो ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया