• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याइदै

    5K
    SHARES

    तस्विर: समिर चन्द/सञ्चारकेन्द्र

    काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

    ‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ प्रजिअ पराजुलीले खबरहबसँग भने । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।

    जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ ।

    सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने प्रजिअ पराजुलीले बताए ।

    काठमाडौं उपत्यकामा वैशाख १६ गते निषेधाज्ञा शुरू हुँदा काठमाडौँ उपत्यकामा नै दैनिक ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा यो संख्या अहिले ५ सय हाराहारीमा छ । संक्रमण घट्दै जाँदा सरकारले उडान पनि खुलाउने निर्णय गरिसकेको छ ।

    पाँच महिनामा २.५५ प्रतिशतलाई मात्रै खोप

    ही गतिमा खोप कार्यक्रम सञ्चालन गरे सरकारले निर्धारण गरेको ७२ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाउन १२ वर्षभन्दा बढी समय लाग्न सक्ने देखिएको छ । खोप ल्याउन ढिलाइ भइरहेका बेला यो आकलन आएको हो ।

    नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ । यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा ७ लाख ४९ हजार ५ सय ८५ जनाले लगाएका छन् । १ सय ५५ दिनमा २.५५ प्रतिशतले खोप लगाए भने ७२ प्रतिशतले पूर्ण खोप लगाउन १२ वर्ष लाग्ने हिसाब निस्कन्छ ।

    यही गतिमा खोप अभियान जारी रहे १८ वर्षमाथिका जनसंख्यालाई कोभिडविरुद्घको खोप लगाउने सरकारको लक्ष्य प्राप्त गर्न १२ वर्षभन्दा बढी समय लाग्न सक्ने गणितीय आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले बताए ।

    ‘यो अत्यन्त सुस्त गति हो,’ उनले भने, ‘यो गतिले हामी भविष्यमा देखिन सक्ने कोभिडको तेस्रो, चौथो लहरहरू थेग्न सक्दैनौं । बहुसंख्यक जनतालाई पूर्ण मात्रा खोप सुनिश्चित गरेर, जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र कोभिडको आक्रमणलाई थेग्न सकिन्छ ।’

    डेल्टा प्लस भेरिएन्टलगायत भविष्यमा मुलुकमा देखिन सक्ने यस्ता थुप्रै भेरिएन्टबाट जोगाउने एउटा मात्र विज्ञान प्रमाणित मुख्य हतियार खोप रहेको डा. ठाकुरको भनाइ छ । नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीले सरकारलाई १८ वर्षमाथिका ७२ प्रतिशत जनतालाई कोभिडविरुद्घको खोप लगाउनुपर्ने सुझाव दिएको थियो ।

    उक्त सुझावअनुसारै सरकारले पछिल्लो समय बालबालिकाका लागि खोप उपलब्ध नरहेको अवस्थामा १८ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने राष्ट्रिय लक्ष्य निर्धारण गरेको थियो ।

    खोप लगाउन सुरु गरिएको पाँच महिना पाँच दिनमा २.५५ प्रतिशत जनसंख्याले मात्रै कोभिडविरुद्घको पूर्ण मात्रा खोप पाउन सक्नु अत्यन्त दुःखद स्थिति रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले औंल्याए ।

    ‘खोपको माध्यमले तेस्रो लहरलाई रोक्न सकिन्थ्यो तर अहिलेको स्थितिमा तेस्रो लहर सहजै आउने निश्चितप्रायः देखिएको छ,’ उनले भने । डा. बीसीका अनुसार अध्ययन, तथ्यांक आदिको विश्लेषण गर्दा दसैंतिर नेपालमा तेस्रो लहर आउने उच्च सम्भावना देखिएको छ ।

    ‘पूर्ण मात्रा खोप लगाउन सके कोभिडको सम्भावित लहरबाट जोगाउँछ,’ प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने, ‘न्यूनतम ७० प्रतिशत जनसंख्यालाई खोप लगाउँदा संक्रमणको चक्रलाई तोड्न र सम्भावित तेस्रो लहरको जटिलताबाट जोगिन सकिन्छ ।’

    गत वर्ष माघ १४ गते ९ हजार ८४ जनालाई कोभिसिल्ड खोप लगाएर देशव्यापी अभियान सुरु भएको थियो । पूर्ण मात्राबाहेक हालसम्म एक मात्रा खोप लिएका कुल जनसंख्याको करिब ८.७८ प्रतिशत अर्थात् २५ लाख ८२ हजार ३ सय ७५ जना छन् । पहिलो मात्रा कोभिसिल्ड खोप लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ जना ज्येष्ठ नागरिकले ४ महिना हुन लाग्दासमेत दोस्रो मात्रा खोप पाएका छैन ।

    ‘ज्येष्ठ नागरिकहरूका लागि दोस्रो मात्रा खोपको अत्तोपत्तो छैन, यसले गर्दा तेस्रो लहरमा उहाँहरूको ज्यान जोगाउनु सबैका लागि ठूलो चुनौती भएको छ,’ डा. बीसीको भनाइ छ, ‘जसरी, जुनसुकै प्रक्रियाबाट ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व हो । अब उहाँहरूलाई अन्य खोपसमेत दिन सकिँदैन ।’

    जुनसुकै भेरिएन्ट, म्युटेसनको कोभिडको भाइरस आए पनि खोपले केही स्तरमा बचाउने काम गर्ने विज्ञको भनाइ छ । खोपको पूर्ण मात्रा लगाएकाहरूलाई खोपले सहजै मर्न नदिने, आईसीयूलगायतका स्वास्थ्य जटिलता, अस्पताल बसाइँमा समेत कमी ल्याउने औंल्याउँदै डा. बीसीले भने, ‘खोपको विकल्प छैन, कोभिडसँग लड्ने प्रमुख हतियारका रूपमा खोप स्थापित भइसकेको छ । सरकारले छिटो, जसरी भए पनि, जुनसुकै प्रक्रिया अपनाएर सबै नेपालीलाई खोप सुनिश्चित गर्नुपर्छ ।’

    एक मात्रा खोपको माध्यमले कोभिडविरुद्ध केही प्रतिरोधक क्षमता हासिल गरेका ज्येष्ठ नागरिकले तेस्रो लहर आउँदासम्म पूर्ण मात्रा खोप लगाउन पाउने/नपाउने टुंगो छैन । खोप अभावले गर्दा कोभिडविरुद्घको प्रतिरोधक क्षमतामा कमी आउने/नआउनेबारे भन्न नसकिने डा. बीसीको भनाइ छ ।

    उनका अनुसार ज्येष्ठ नागरिकले खोप लगाएको केही महिनापछि नै मुलुकमा दोस्रो लहर आउँदा सहज रूपमा निर्मित प्रतिरोधक क्षमताले यस पटक ती उमेर समूहमा मृत्युदर, संक्रमणको जटिलतामा केही कमी देखिएको थियो ।

    विश्वका विभिन्न भागमा बालबालिकाका लागि समेत खोप आइसकेको र केही आउने प्रक्रियामा रहेकाले नेपालले समेत १८ वर्षमुनिका लागि खोप सुनिश्चित गर्ने कार्ययोजना बनाउनुपर्ने विज्ञको सुझाव छ ।

    ‘मुलुकमा खोप ल्याउने कुरामा धेरै प्रगति भएको छैन,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘छिट्टै आउन सक्छ भने त्यो चीनको खोप हो तर त्यसमा समेत खरिद मूल्यबारे जानकारी सार्वजनिक नगर्ने सर्तले आउने सम्भावना कम देखिएको छ ।’

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै कोभिडबाट नागरिकको जीवनरक्षा गर्नु मुख्य उद्देश्य रहेको बताएका थिए । सरकारले बजेटमा खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएको छ ।

    कोभिड नेपाल: खोप अभाव भएका देश कोरोना भाइरस उत्परिवर्तनको ‘उर्वर भूमि बन्ने’ जोखिम

    नेपालमा हालै पुष्टि भएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टमा देखिएको नयाँ उत्परिवर्तनले ल्याउने थप जोखिमबारे अध्ययन र विश्लेषण हुन बाँकी छ। तर “तत्काललाई यसको असर कम्तीमा डेल्टा भेरिअन्टजस्तो हुन सक्ने” भनेर बुझ्नुपर्ने र सतर्क हुनुपर्ने विज्ञहरूले बताएका छन्।

    के४१७एन वा एवाई १ उत्परिवर्तन नेपालसहित भारत, अमेरिका, ब्रिटेन, पोर्चुगल, स्विट्जरल्यान्ड, जापान, पोल्यान्ड, रुस र चीनमा देखा परेको छ। भाइरोलोजिस्ट डा. सुदीप खड्काले एवाई १ लाई ‘मूल भाइरस डेल्टा भेरिअन्ट नै मान्दा समेत त्यसको फैलावट दर उच्च नै रहेको’ बताए।

    “यसले गम्भीर खाले रोगहरू निम्त्याउने प्रवृत्ति देखाइसकेको छ। भौगोलिक र सङ्ख्याका हिसाबले धेरै टाढासम्म र चाँडै फैलिएको छ,” अमेरिकाको मिनसोटा राज्यस्थित चिकित्सा अध्ययन संस्थान मेयो क्लिनिकमा कार्यरत डा खड्काले भने।

    “डेल्टा भेरिअन्टलाई सबैभन्दा जोखिमयुक्त भनिँदै यदि यही रूपमा फैलँदै गएमा पश्चिमा देशहरूमा समेत यो चिन्ताको विषय हुनसक्ने भनिएको छ।”

    विज्ञहरूले भाइरसहरू उत्परिवर्तन हुनुलाई एउटा प्राकृतिक प्रक्रिया बताउँदै त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकिने बताउँछन्। कुनै-कुनै उत्परिवर्तनले भाइरसको रूप र क्षमतामा तात्त्विक फरक नपार्ने समेत देखिएको छ।

    तर कहिलेकाहीँ उत्परिवर्तनकै कारण भाइरस कमजोर हुने वा बलियो भएर नयाँ प्रकोपहरू सिर्जना गर्ने बताइन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च एकाइ प्रमुख डा. शेरबहादुर पुनले यसको मूल नै खतरनाक डेल्टा भेरिअन्ट भएकाले यसलाई थप नजिकबाट नियाल्न आवश्यक रहेको बताउँछन्।

    उनी भन्छन्, “यो भर्खर-भर्खर पहिचान भएको छ, अझ खराब नै हुनसक्छ भन्ने पनि होइन। तर यसका सम्भावित जोखिमका प्रमाणहरू हेर्न आवश्यक छ। यो केही नै नहुन पनि सक्छ।”

    ठ्याक्कै यही उत्परिवर्तनको कारण भन्ने कुनै अध्ययन गरिए तापनि लक्षणहरूका हिसाबले नेपालमा उल्लेख्य फरक वा मौलिक घटनाहरू भने नदेखिएको डा. पुन बताउँछन्। उनी भन्छन्, “नेपालमा भर्ना भएका बिरामीहरू हेर्ने हो भने अहिले पनि सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु र ज्वरो आउनु नै मुख्य लक्षण हुन्।”

    नयाँ भेरिअन्टहरूको विकास हुँदै तिनको फैलावट छिटो र व्यापक रूपमा हुँदा गम्भीर खाले रोग निम्त्याउने र कहिलेकाहीँ अन्य अङ्गमा रोग निकाल्न सक्ने विज्ञहरूको चेतावनी छ।

    नेपालमा लक्षणविहीन भन्दा लक्षणसहितका सङ्क्रमितहरू धेरै देखा पर्ने अवस्थादेखि दोस्रो लहर सिर्जना हुँदासम्ममा भएका उत्परिवर्तनहरूबारे अध्ययन हुनुपर्नेमा त्यो नखोतलिएको डा. पुन बताउँछन्।

    भाइरसहरू उत्परिवर्तन हुने कारणहरू यही नै हुन् भन्ने स्पष्ट उत्तर कसैसँग नभएको बताइन्छ। तर तीन प्रतिशतभन्दा कम मानिसले मात्र पूर्ण मात्रामा खोप लगाएको अवस्थाका कारण नेपाल ‘उत्परिवर्तन हुन सक्ने उर्वर भूमि’ भएको विज्ञहरूको मत छ।

    “आंशिक रूपमा खोप लगाइएका व्यक्तिहरू सङ्क्रमित भएमा भाइरसले ती प्रतिरोधी तत्त्वसँग जुध्न सक्छ। त्यस्तो बेलामा निस्कने भाइरस सबैभन्दा खतरनाक हुन सक्छन्,” डा. खड्काको भनाइ छ।

    यस कारण खोप लगाउँदा सकेसम्म छिटै, धेरैलाई र एकै लहरमा सहभागी गराउँदा त्यसको विस्तार रोक्न सकिने ठानेर विकसित देशहरूमा खोप कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए।

    नयाँ उत्परिवर्तन देखा परेको विवरण सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ‘यस्तै जोखिमका कारण नेपाललाई छिट्टै धेरै खोपहरू आवश्यक परेको सन्देश विश्वलाई दिन खोजिएको’ बताएका थिए।

    विज्ञहरूका अनुसार भाइरसका खतरनाक भेरिअन्ट नियन्त्रण होस् भन्ने गरी महामारीमा गरिने व्यवहारहरूबारे ध्यान दिन भने सकिन्छ। सबीचमा गरिएका प्रतिरक्षा बढाउने विभिन्न अभ्यास र औषधीहरू प्रयोगलाई समेत खतरनाक हुनसक्ने उत्परिवर्तनका लागि जोखिमका हुने डा. खड्का ठान्छन्।

    महामारीकै बीच व्यापक मात्रामा प्लाज्मा थेरापीहरू समेत भएका छन्। डा खड्का भन्छन्, “त्यस्तो अवस्थामा भाइरसलाई शरीरभित्र हालिदिएपछि ती प्रतिरोधी तत्त्वले आंशिक रूपमा काम गर्न सक्छन्।”

    “तर जुन-जुन भाइरसहरू शरीरभित्रै परिवर्तन भएर ती प्रतिरोधात्मक तत्त्वबाट उम्कन सक्छन्, ती भाइरसहरू फैलँदा नयाँ उत्परिवर्तनहरू हुन सघाउ पुर्‍याउँछ।”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ