• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    बन्दाबन्दीमा हामीले गर्नुपर्ने कार्यहरू

    18.4K
    SHARES

    कोरोना महामारी र बन्दाबन्दीले हामीलाई जनताका बीचमा प्रत्यक्ष पुग्न बाधा पारेको छ । यदि जान पाएको भए एउटा लहर सतहमा आइसक्ने थियो । तर, राजनैतिक कार्यलाई मुख्य बनाएर जनताको सेवा गर्न तत्पर प्रतिनिधिहरूका लागि यो धेरै चिन्ताको विषय होइन । किनकि यस्तो अवस्थामा पनि जनतासँग जोडिएर गर्न सकिने अनेकौँ नमूना योग्य कार्यहरू छन् जसलाई हामीले बडो सृजनात्मक तरिकाले हाँक्न सक्छौँ । हामीले हाँकी पनि रहेका छौँ ।

    १) जनसेवाका कार्यक्रम

    प्रत्यक्ष केन्द्रीय राजनैतिक आन्दोलन सञ्चालन गर्न नमिल्ने अवस्थामा हामीले अलि सहज या थोरै जोखिम मोलेर पनि जनताको सेवा गर्न सक्छौँ । जस्तो कि यतिबेला कोरोना महामारी, बाढीपहिरो र मौसमी रोगहरूले जनतालाई ठूलो क्षति पुगाएका छन् या सताइरहेको छन् । लाखौँलाख नागरिकहरूले कोरोनामा सामान्य उपचार सुविधा नपाएर ज्यान गुमाउनु परेको छ । उपचार पाउँदा पनि सामान्य क्षमताले धान्नै नसक्ने खर्च आइरहेको छ । ज्यान त बाँच्यो तर के खाएर, कहाँ बसेर बाँच्ने समस्या परेको छ । यस्तोमा हाम्रा नेता कार्यकर्ताले जनताको सेवा गर्नु परेको छ । यसो त केही निकै नमूना योग्य काम गरेर बिरामी नागरिकहरूको सेवा गरिरहनु भएको पनि छ ।

    हालसम्मको रिपोर्ट अनुसार देशका दुई दर्जनभन्दा बढी जिल्लामा स्वास्थ्य सामाग्री सङ्कलन र वितरण गरेर थोरै भए पनि नागरिकहरूलाई सेवा पुगाउनु भएको छ । तीन भन्दा बढी जिल्लामा स्वास्थ्य सहयोगी टोली बनाएर अस्पतालहरूमा नागरिकहरूलाई सहयोग गर्नु भएको छ । शिवगढीमा एउटा जनस्वास्थ्य सेवा केन्द्र नै चलाइयो, जहाँबाट २६ जनताले स्वास्थ्य लाभ गर्नु भयो । हाल २५ जना बिरामीले सेवा लिनसक्ने स्तरको जनस्वास्थ्य सेवा केन्द्रको भवन बन्दै छ । यसलाई यूरोपमा बस्ने नेपाली दाजुभाई, दिदीबैनीबाट १८ लाख १५ हजार सहयोग प्राप्त भएको छ भने काठमाडौँ र बुटवलका जनप्रेमी व्यवसायीबाट पनि डेढलाख जति सहयोग आइसकेको छ । कैयौँ स्वास्थ्य सामाग्री स्थानीय, जिल्ला निकायहरूबाट पनि सहयोग प्राप्त भएको छ ।

    जेठ अन्तिमदेखि शुरु भएको भारी बर्षाले सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, रुपन्देहीमा ठूलो क्षति भएको छ । हेलम्बु, मेल्मचीमा त जनधनको ठूलो क्षति भएको छ । दर्जनौँ नागरिकको ज्यान गएको छ भने चौपाया, चल्ला कुखुरा, माछापालनमा ज्यादै क्षति पुगेको छ खेतबारी, होटल पसल, सरकारी कार्यालय गरेर अरबौँको नोक्सान भएको छ । यस्ता घटना भएका ठाउँमा पार्टी, विद्यार्थी, युवा, मजदुर, किसान, महिला पुग्नु भएको छ र सक्दो सहयोग गर्नु भएको छ । राहत सङ्कलन गर्ने र वितरण गर्ने कार्य भइरहेको छ । यो ज्यादै सह्रानीय कार्य हो ।

    पार्टी केन्द्रले सारा पार्टी पङ्क्तिलाई दिलोज्यानले जनसेवामा जुट्न निर्देशन गरिसकेको छ । हामीले गहिरोगरी बोध गर्नैपर्छ कि जतिबेला जनतालाई आपत्विपद् आइलाग्छ त्यसबेला ज्यूज्यान दिएर सेवा गर्नु क्रान्तिकारीहरूको परम कर्तव्य हुन्छ । २०७२ सालमा भुकम्प जाँदा हाम्रा कमरेडहरूले ज्यानको बाजी लगाएर जनताको सेवा गर्नु भएको थियो । रामेछाप जिल्ला सचिव कमरेड ….का दुवै खुट्टा गुमेका थिए । अन्य दर्जनौँ कमरेडहरू घाइते हुनु भएको थियो । हामीले कुनै प्रचारका लागि काम गरेका थिएनौँ वास्तवमै जनताको सेवा गरेका थियौँ । सायद ति जिल्लाका नागरिकलाई अहिले पनि याद होला ।

    गएको बर्ष बाढीपहिरोले क्षति पुगाउँदा पनि हामीले खाद्यान्न, लत्ताकपडाहरू सहयोग गरेका थियौँ । केहीलाई सक्दो नगद पनि पठाएका थियौँ । यो पटक सिङ्गै बर्षा बाँकी छ तर क्षति शुरु भइसकेको छ । क्षति पुगेको ठाउँमा सक्दो सहयोग गर्ने प्रक्रिया पनि शुरु भइसकेको छ । हामीले भनेका छौँ आआफ्नो जिल्ला र क्षेत्रमा जति सकिन्छ राहत सङ्कलन गरौँ, खाद्यान्न, लत्ताकपडा, पाल, औषधी जे सकिन्छ जनतालाई उपलब्ध गराऊ साथै उद्धारमा सहभागी बनौँ । यो विपद्मा पनि हामीले केवल प्रचारका लागि नभएर वास्तवमै जनतालाई सेवा गर्ने उद्देश्यका साथ कामहरू गरौँ । पक्कै पनि हाम्रो पङ्क्तिले राम्रो परिणाम प्राप्त गर्न सक्ने छ ।

    २) उत्पादन कार्य

    दोस्रो कार्य हामीले यो समयलाई उत्पादन कार्यमा व्यापक रूपले प्रयोग गर्न सक्छौँ । हामीले पार्टी पुनरगठन गरेदेखि नै उत्पादन कार्यमा जनतालाई मद्दत गर्ने र आफैँले पनि गर्ने नीति लिएका छौँ । यो पनि केवल औपचारिकता निभाउन र देखाउनका लागि नभई परिणाममूखि उद्देश्यका साथ गर्नुपर्छ भनेका छौँ । प्रतिबन्धको समयदेखि साच्चैनै उपलब्धिमूलक उत्पादन कार्य हुँदै आएका छन् । केन्द्रीय कार्यालय र लुम्बिनी व्युरोले गएको बर्ष पार्टीलाई नै उत्प्रेरित गर्ने स्तरमा उत्पादन गरेका थिए भने अन्य व्युरो र जिल्लाहरूमा पनि सकारात्मक परिणामहरू आएका थिए । बन्दाबन्दीले गर्दा केही कठिनाई आए पनि देशभरी कमरेडहरू बारीमा काम गरिरहेको समाचार पढ्न र तस्विरहरू हेर्न पाइएको छ । यो ज्यादै प्रसंशनीय र हर्षको कुरा हो । जनतालाई मद्दत गर्न होस् या आफ्नै उत्पादनमा होस् मौसम र परिस्थिति अनुसार हामीले समय र श्रमलाई अधिकतम सदुपयोग गर्नुपर्छ । समय र श्रमलाई अर्को बर्षका लागि भन्न र राख्न सकिँदैन । जति सकिन्छ यो बर्षको समय र श्रम यसै बर्षका लागि सदुपयोग गर्नुपर्छ ।

    केही कमिटीहरूले आफ्नो उत्पादन बजारमा पुगाइराख्नु भएको छ । ठूलो मात्रामा फलफूल खेतीको तयारी चल्दैछ । हरेक कमिटीहरू केही न केही उत्पादनमा लाग्नु भएको छ । काम गर्दा काम चलाउ, देखावटी पटक्कै गर्नु हुँदैन । सकेसम्म नमूना योग्य उत्पादन गरेर जनतालाई पनि सिकाउनु पर्छ । यस्तो केही ठाउँमा भइरहेको छ । आउँदो समयमा आपत्मा परेका जनतालाई हाम्रै उत्पादनबाट केही राहत दिन पायौँ भने कति आनन्द आउला ।

    ३) राजनैतिक कार्य

    तेस्रो कार्य यसबेला हामीले क्रान्ति विरोधी, वैज्ञानिक समाजवाद विरोधी र आमूल परिवर्तन विरोधी तत्वहरूका कुप्रचार र घेराबन्दीहरूलाई चकनाचुर पार्ने गरी काम गर्नुपर्छ । राज्यमा जहिले पनि एउटा वर्ग सुविधा, स्वार्र्थ र मुनाफामा हुन्छ । त्यस्तो वर्गले देशमा सव ठीकठाक भएको, उत्तम भइरहेको, केही बिग्रेको भए पनि आफैँले मिलाउने सोंच राख्ने गर्छ । जसले अग्रगमन र परिवर्तनको पक्ष लिन्छन् तिनका विरुद्ध अनेकौँ दवाव र घेराबन्दी गर्ने धृष्टता गर्छ ।

    आज हाम्रो देशमा दलाल पुँजीवादी गणतन्त्र र पुँजीवादी आर्थिक सम्बन्धबाट फाइदा सोहोरीरहेको दलाल पुँजीवादी वर्ग सत्तासिन छ । यो वर्ग हरेक संसद्वादी पार्टीहरूमा पकड् जमाएर उनीहरूलाई आफ्नो हित र स्वार्थ अनुरुप टुप्पिमा समाएर घुमाइरहेको छ । यो वर्ग र यसका राजनैतिक प्रतिनिधि संसद्वादी पार्टीहरूले देशमा पैदा भएको उनीहरूको असफलता र सङ्कटलाई जनताको असफलता र सङ्कटमा बदलेर उल्टै मुनाफा सोहोर्ने दाउँमा लागेका छन् । यिनले हाम्रो लोकप्रियता, जनसमर्थन र कम्युनिस्ट ध्रुवीकरणको व्यापक सम्भावना देखेपछि साथै पार्टीलाई दोष देखाउने कुनै ठाउँ नभेटाएपछि कतै कमजोर छिद्र भेटिन्छकि भनेर औलो कोचार्दै हिडेका छन् । यिनैले पार्टीसँग सरकारले गरेको तीनबुँदे सहमतिलाई लागू हुन नदिने, सरकारलार्ई घेराबन्दी गरेर भड्काउने र हामीलाई पनि भड्काउने प्रयत्न गरिरहेका छन् ।

    सहमति भएको चार महिना बित्दा पनि जेलका कमरेडहरूलाई मुक्त नगर्नुमा कतै यही वर्गको भूमिका त छैन भन्ने प्रश्न उठेको छ । अर्कोतिर हाम्रो जनमत सङ्ग्रहको राजनैतिक कार्यनीतिलाई असान्दर्भिक विषयहरूसँग जोडेर व्याख्या गर्ने प्रयास गरिरहेको छ । कताकति पार्टीमा कमजोर चेतना स्तर भएका, क्रान्तिको महान् अविभारालाई बुझ्न नसकेका, विभिन्न रूपरङ्गमा पसेका र बसेका अवसरवादी तत्व साथै प्रतिबन्धको बेला पुच्छर सेपेर दुलो पस्नेहरूलाई उचाल्न खोजेका हुनकि भन्ने सङ्केतहरू देखिन थालेका छन् । हामी क्रान्तिकारीहरूले कुनै पनि हालतमा आफूमाथि शोषकवर्ग, उसका नोकरचाकर र सोंचहरूलाई हावी हुन दिनु हुँदैन ।

    हामीले क्रान्ति र जनताको मुक्तिका पक्षमा उभिने श्रमिक जनता, सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, बुद्धिजीवी सवैलाई शीरमा राखेर हिड्नु पर्छ । उहाँहरूका सल्लाह सुझाव र आलोचनाहरूलाई आत्मसाथ गर्नुपर्छ तर दलाल पुँजीपति वर्ग र उसको सत्तालाई फाइदा पुग्ने र पुगाउने गरी, क्रान्तिको घाँटी रेट्नेगरी, सहिदको सपना, जनताको विश्वासलाई घात गर्नेगरी आउने कुनै पनि दवाव, घेराबन्दी र घोंचपेचलाई पैतला मुनीको धुलो जसरी किचिमिचि पारिदिनु पर्छ । जुनसुकै नाम र बहानामा आए पनि त्यस्तालाई बढारेर मिल्काइ दिनुपर्छ । हामी अरू सबै सहन सक्छौँ तर क्रान्ति, जनता, राष्ट्रलाई हानी गर्ने कुनै पनि कुकर्मलाई रत्तिभर सहन सक्दैनौँ ।

    ४) जनताका हितमा सङ्घर्ष

    चौथो गर्नुपर्ने कार्य स्थानीय स्तरमा जनताको हितमा सङ्घर्ष हो । केन्द्रीय सत्ता प्रतिनिधिहरूलाई झगडा गर्न र मुद्दा लड्नै ठिक्क छ । राज्यमा के भइरहेको छ र के गर्नुपर्ने हो कुनै चाँसो छैन । राज्यका अङ्गहरू लथालिङ्ग हुँदै गएका छन् । अनियमितता, भ्रष्टाचार, तस्करी, अराजकताको राज चलेको छ । सुकुमबासी लालपूर्जा वितरण, राहत वितरणमा समेत पक्षपात भएको गुनासो व्यापक उठिरहेको छ । यस्तो बेला क्रान्तिकारीहरू नै जनताको रक्षक बन्नु पर्छ । जनताका हित र अधिकारका लागि भइरहेका अनियमितता, भ्रष्टाचार, अधिकार दुरुपयोगका विरुद्ध स्थानीय स्तरमा जनसङ्घर्ष सञ्चालन गर्नुपर्छ । केही जिल्लाहरूमा जुन पहल भइरहेको छ र जनताको साथ पाइराखिएको छ यो अनुकरणीय छ ।

    यसो भनेर केन्द्रका गलत कार्यका विरुद्ध सङ्घर्ष गर्नु हुँदैन भन्ने कदापि होइन । जनताको सुसूचित हुने अधिकारलाई हनन् गरेर जनतालाई अन्धकारमा राखेर गरिने कुनै पनि निर्णयका विरुद्ध केन्द्रमा पनि सङ्घर्ष गर्नै पर्छ । ठूला जनप्रदर्शनहरू आयोजना गर्न सम्भव नभए पनि जनतालाई जानकारी पुगाउने, युवा, विद्यार्थी, वुद्धिजीवीबीचमा भर्चूअल सम्बाद गरेर प्रतिरोध गर्नुपर्छ । जो हामीले गरि पनि रहेका छौँ । यतिबेला केही गम्भीर खालका विषयहरूमा सरकार फस्न खोजेको देखिँदैछ । जस्तोकि नागरिकता विद्येक, चुरेको प्रयोग, भारतीय गोरखा रेजिमेन्टमा महिलालाई समेत भर्ति गर्ने चर्चा, हवाई सुरक्षा दस्ता ल्याउने चर्चाहरू पर्दछन् । यी सबै विषयहरू जनता र विज्ञहरूको अनुमति बिना सोच्नै सकिँदैन ।

    निचोडमा भन्नु पर्दा हामीले कहिले पार्टी योजना अनुसार परिस्थितिलाई सञ्चालन गर्नुपर्छ कहिले परिस्थिति अनुकूल आफूलाई चलाउनु पर्छ । कहिले क्रान्तिले परिस्थितिको नेतृत्व गर्छ कहिले परिस्थितिले क्रान्तिलाई तान्छ । यतिबेला कोरोना परिस्थिति र मौसमी प्रतिकूलता अनुरुप पार्टी योजनाहरू निर्माण गर्नु परेको छ साथै तिनलाई जनताका पक्षमा लागू गर्नु परेको छ । हरदम क्रान्तिकारी विचार, पार्टी, नेतृत्व र व्यवहारलाई हावी गराउनु पर्छ । सही विचारको रक्षा भएन भने क्रान्तिको रक्षा हुँदैन, क्रान्तिको रक्षा भएन भने जनता र राष्ट्रको रक्षा हुँदैन । यो परिस्थितिमा हामी सबैले यसैलाई मनन गरौँ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ