• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो सरकारको धारणा, मनाङेले के भनेका थिए त्यस्तो ?

    783
    SHARES

    काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ ।

    मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्री गुरूङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे ।

    प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै ध’म्की दिन थालिएको बताए । केही दिनअघि कांग्रेस सांसद मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने ध’म्की दिएका थिए ।

    करिब एक महिनाको अबधिमा तेस्रोपटक मन्त्री नियुक्त भएका मनाङेले केहिदिनअघि विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका हुन् ।

    गत शनिबार नयाँ सरकार गठनमा आलटाल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुई वटै किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’ भन्दै छुद्र टिप्पणी गरेका थिए।

    यसैबीच गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गरेका हुन् । उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए ।

    गठबन्धनको सरकार भएकाले उनीसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । साथै असार १ मा ल्याइएको बजेटमाथि प्रदेशसभामा छलफल पनि अघि बढाइएको छैन । नेपालीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने बताउँदै आएका छन् । त्यसैले उनले मुख्यमन्त्रीमा नियुक्त भएको एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । यसअघि ३१ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांसद छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ