• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    झलनाथ खनालको यस्तो वक्तव्यले एमालेमा भूकम्प

    771
    SHARES

    काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ खनालको उपचार दिल्लीको एपोलो हस्पिटलमा जारी छ । तर , उनी दिल्ली उडे पछि सार्वजनिक भएको उनको एउटा वक्तव्यले भने उनको आफ्नो राजनीतिक समूहमा खैलाबैला मच्चाईदिएको छ ।

    के थियो खनालको वक्तव्यमा ?

    नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका थिए । स्वास्थ्य उपचारका लागी भारतको नयाँ दिल्ली जानु अघि खनालले एकता सफलताको र फुट विनाश बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए ।

    रिस, राग, अहंकार र बदला भाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उनको भनाइ छ । “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ,” उनले भनेका छन् ,“ त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौँ भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।”

    खनालले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौँ योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको बताउँदै “देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,त्यही अन्तर सङ्घर्षको परा कम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा मा पर्‍यो र अहिले एमालेमा परिरहेको छ ।” भन्दै नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गरेका थिए ।

    उनले सबै एकजुट भएर मुलुकका मूलभूत समस्या समाधान गर्न सबैलाई आग्रह गर्दै देशका प्रमुख दलहरू र तिनका नेताहरूबिचको अनावश्यक टकराब, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने भनाइ राखेका थिए

    एमालेमा तरङ
    उनको धारणा सार्वजनिक भए सङै नेकपा एमाले नै तरङित हुन पुगेको छ । अध्यक्ष ओली पक्षले यसलाई उत्साहित हुँदै प्रचार गरिरहेको छ भने माधव-खनाल पक्षले खनालको नाममा ओली पक्षले नै वक्तव्य निकालेको आरोप लगाएको छ ।

    केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले खनालको श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न नसकिने बताएका छन् । उनले खनाल प्लेन चढी सकेपछि वक्तव्य आउनु आफैमा रहस्यमय भएको धारणा समेत व्यक्त गरेका छन् ।
    अर्का एमाले नेता विजय पौडेलले पनि झलनाथ खनालको नाममा अरूले वक्तव्य निकालेर फट्याईं गरेको बताएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस’ उनले ट्वीटरमा लेखेका छन् ।

    खनालको धारणाले माधव समूहलाई केही हद सम्म रक्षात्मक बनाइदिएको एमालेका एक जना युवा नेता बताउँछन् । उनको धारणामा थप स्पष्ट हुन उनैलाई कुर्नुपर्ने बाहेक अर्को कुनै उपाय छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ